जोडिनुहोस

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री

जिल्ला अस्पताल अछामले सञ्चालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री वितरण भएको पाइएको छ । अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि भेटाएको हो ।

जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो ।

अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप, गोभापेन्टिन १ बक्स भेटिएको छ । त्यस्तै रोजाभास्टिन ८५ स्ट्रिप, प्रिबायोटिक १ बोतल, एल्लोप्राजोल १ स्ट्रिप, अल्प्राजोलन साढे १६ स्ट्रिप र स्टालोप्राम साढे १६ स्ट्रिप औषधिको म्याद नाघेको भेटिएको हो ।

सरकारी अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि बेच्ने गरेको सूचनाको आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले बताए ।

राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक ; प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए।

सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमबमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए।

तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधारकार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताए। उनले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिए।

किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्कने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गरे।

मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताए।

आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च गर्ने क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताए।

पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्तरूपमा थप प्रयास गर्न आवश्यक रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरि कार्यसम्पादन गर्न निर्देश निर्देशन दिए ।

घिटीघिटी चलेका वहुवर्षीय आयोजनाको बजेट रोक्छौं ; प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आगामी वर्षको बजेटमा तुरुन्तै सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिने बताएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले वर्षौंदेखि घिटी–घिटी चलिरहेका वहुवर्षीय आयोजनामा केही समय बजेट रोक्ने बताएका हुन् ।

‘वहुवर्षीय स्रोत सुनिश्चित गरिए पनि तत्काल परिणाम ननिस्किने वर्षैंदेखि घिटी–घिटी चलिरहेका आयोजनामा बजेट रोकेर अर्को पटकका लागि बजेट दिनु नै सही हुन्छ,’ उनले भने,‘पुराना तर छिट्टै सम्पन्न हुनसक्ने र जनाताले विकासको प्रत्यक्ष अनुभूत गराउन सक्ने आयोजनालाई यसपटक प्राथमिकतामा राखी बजेट दिएर छिटो काम सकाउनु उचित हुन्छ ।’

अहिले संकट भएकाले थोरै बजेट घटाएर ल्याउनुपर्छ भन्ने र संकट भएकाले समाधान गर्ने गरी यही बेलामामा राजस्वको थप क्षेत्र हेरेर झन ठूलो बजेट ल्याउनुपर्छ भन्ने दुईथरि मत देखिएको पनि प्रधानमन्त्रीले बताए । छलफल गरेर सरकारले बीचको बाटोबाट निकास निकाल्ने उनले बताए ।

प्रधानमन्त्रीले बजेटमा थुप्रै नयाँ आयोजना राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई कायम राख्दा अर्थतन्त्रलाई संकटमै पार्ने देखिएको बताए । ‘अपरिहार्य र जनताले विकासको प्रत्याभूत राम्रोसँग गर्न सक्ने गरी सेलेक्टिभ भएर आयोजना र कार्यक्रमहरु राख्ने कुरामा हाम्रो जोड हुन्छ,’ उनले भने,‘हामी सेलक्टिभि भएनौं र प्राथमिकतामा आधारमा बजेट दिएनौं भने अर्को वर्ष झन् ठूलो संकट आउने विगतको अभ्यासबाट देखिसक्यौं ।

उनले यस पटकदेखि बजेट प्रणालीमा ऐतिहासिक ‘ब्रेक थ्रु’ गरिएको दाबी पनि गरे । तीनवटै तहबीच कार्यविस्तृतीकरणलाई आधार मान्दै योजना वर्गीकरणमा तीन करोडभन्दा साना योजना संघले नगर्ने घोषणा गरिसकेको उनले बताए ।

‘त्यसैले आगामी वर्षको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्दा आयोजना बैंकमा समावेश नभएका आयोजनामा रकम विनियोजन गर्ने प्रथालाई अन्त गरी सीमित स्रोतको अधिकतम् उपयोगबाट नतिजामूलक कार्यतर्फ पूँजीगत खर्च केन्द्रित गर्न आवश्यक छ, यसतर्फ ध्यान दिनुहोला,’ प्रधानमन्त्रीले मन्त्री र सचिविहरुलाई भने ।

संघ र प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने आयोजनामा दोहोरोपना हुन नदिन र विभिन्न तहबीच आवश्यक समन्वय गरी आयोजना तर्जुमा तथा कार्यान्वयन गर्ने पद्धति अवलम्बन गर्न समेत उनले निर्देशन दिए ।

सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलन समेतलाई मध्यनजर गरी विभिन्न कानुनहरूमा संशोधन गर्ने कार्य अगाडि बढाएको बताउँदै यसमा अन्य विषयका अतिरिक्त पूर्वाधार सम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने गरी कानुन परिमार्जनलाई प्राथमिकतामा राखेर कार्य गर्न पनि प्रधामनन्त्रीको निर्देशन थियो ।

‘हामीलाई यस प्रकारका नतिजामा सन्तोष गरेर बस्ने सुविधा छैन । हामी वृहत्त दृष्टिकोण, योजना, उत्कृष्ट कार्यसम्पादनका साथ सकारात्मक प्रभाव पार्ने नतिजा हासिल गर्ने गरी दृढताका साथ अगाडि बढ्नै पर्छ,’ प्रधानमन्त्रीले भने,‘यही परम्परामा रमाउने परिपाटीले हामी मुलुकलाई विश्व मानचित्रको विकाशील मुलुकमा उभ्याउन कठिन छ ।’

एकले अर्कालाई दोष दिएर बस्ने छुट नभएको भन्दै उनले मन्त्रीहरु र सचिवहरूले आफ्नो कामको जिम्मेवारी लिंदै उत्तरदायित्व, जवाफदेहिता वहन गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरू, रूपान्तरणकारी तथा प्राथमिकताप्राप्त आयोजनाहरूको प्रभावकारी रूपमा अनुगमन गरी आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए ।

‘म स्वयम्ले पनि स्थलगत रूपमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रूमबाट राष्ट्रिय गौरव, रूपान्तरणकारी र राष्ट्रिय महत्त्वका आयोजनाहरूको अनुगमन गर्ने प्रणाली सुरू गरिसकेको छु,’ प्रधानमन्त्रीले भने,‘यो हामी आफैंले निर्धारण गरेका लक्ष्य तथा माइलस्टोन हासिल गर्ने दायित्व हो ।’

 

पक्राउ परेका लघुवित्तका ऋणीहरूलाई रिहा गर्न एमालेको माग

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । लघुवित्तका ऋणीका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् ।’

उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।

‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए ।’ उनले भनिन् ।

उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् । उनले लघुवित्तका ऋणीका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस् ।’

निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् । उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रुप दिएर सदनमा लैनाने तयारीमा छौं ।’ २१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक पारित गरेको थियो, तर अहिलेसम्म संसदमा दर्ता भएको छैन ।

 

सावित्रा भण्डारी भन्छिन्– ‘टोलीले उपाधि घर लिएर जाने विश्वास छ, मैदानबाहिरबाटै खुसी मनाउन आतुर छु’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले आफ्नो अनुपस्थितिमा पनि टोलीले वाफ महिला च्याम्पियनसिपको उपाधि घर लिएर जाने विश्वास गरेकी छिन् । आफूले जोर्डनसँगको फाइनल खेल्न नपाए पनि मैदानबाहिर टोलीको समर्थनमा हुने उनले बताएकी छिन् ।

सावित्राले टोलीलाई हौसला दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘मलाई विश्वास छ, हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टोलीको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एक पटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।’

भण्डारीले आफू खेलाडीको रूपमा मैदानमा नभए पनि मैदानबाहिरबाटै टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् । उनले आफूलाई क्लबले बढीभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएको भन्दै धन्यवाद दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरा लागि सहज वातावरण सिर्जना गरिदिएकोमा धन्यवाद भन्न चाहन्छु ।’

फरवार्ड भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरू नभएको पनि बताएकी छिन् । वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज राति पौने १० बजे नेपाल र जोर्डन खेल्दैछन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।

केन्द्रीय कारागारका कैदीबन्दीहरु स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

केन्द्रीय कारागारका कैदीबन्दीहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले यही फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरेको हो ।

केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीहरुलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । विभागले एकजना कैदीबन्दीको लागि तीन हजार पाँच सय उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो ।

कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि बीमा स्वतः खारेज हुने उहाँले बताउनुभयो । सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । ३० शय्याको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागारले जनाएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ल्यापटप या कम्प्युटर स्लो भए यसो गर्नुहोस्

ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हो । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ । र कुन एप्लिकेसन चलाउने गरेको भन्ने कुराले पनि कम्प्यटर स्लो बनाउने गर्छ । हेभी एपले कम्प्युटर स्लो त बनाउँछ तर कहिलेकाहीँ भने हाम्रै कमजोरीले पनि कम्प्युटर स्लो हुने गर्छ ।

यसरी फास्ट बनाउन सकिन्छ

– आफै रन हुने प्रोग्राम बन्द गर्नुहोस्

– ब्याकग्राउन्डमा खुलिरहेका अनावश्यक प्रोग्रामहरू डिसेबल गर्ने ।

– कम्प्युटरमा भएका अनावश्यक एप तथा प्रोग्रामहरू हटाउने ।

– अस्थायी ९टेम्प० फाइलहरू डिलिट गर्ने ।

– कम्प्युटरको डिस्क क्लिन गर्ने ।

– कम्प्युटरको सिस्टम डिस्कलाई जति सक्दो खाली राख्ने ।

– कम्प्युटर तथा ल्यापटपमा हुने प्रोग्रामहरुको डेटा सी ड्राइभमा बसिरहेको हुन्छ । तर ड्राइभले नै राम्रोसँग प्रतिक्रिया दिन सकेन भने तपाईँले कम्प्युटरमा रन गर्ने प्रोग्रामले राम्रो पर्फर्मेन्स नदिन सक्छ र ह्याङ तथा स्लो हुने समस्या देखिन थाल्छ । त्यसैले ड्राइभ अप्टमाइज गर्नुहोस्

श्रमिकको सुरक्षामा सांसदको चासो

फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताएका छन्। प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको जीउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदुरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताए। उनले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशंका व्यक्त गरे। संसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताए। सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताए । उनले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने विचार व्यक्त गरे।

सांसद राजु थापाले गुणस्तर मापनजस्ता विषयमा उद्योगले खेलवाड गर्न नहुने बताउँदै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिए । उनले फलामजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्ने तर नेपालमा भएका फलाम खानीका सम्भाव्यताका लागि सरकारले अध्ययन वा चासो नदेखाएकामा असन्तुष्टि व्यक्त गरे। सांसद हेमराज राईले गुणस्तरहीन सामग्रीको प्रयोगले गर्दा भौतिक संरचनामा क्षति पुग्ने उल्लेख गर्दै यसको उचित समाधान खोज्न आवश्यक रहेको बताए। भूकम्पीय जोखिम रहेको देशमा मापदण्ड नपुगेका सामग्रीको प्रयोग हुने भएकाले बनाएका संरचना टिकाउ नहुने अवस्थाको सिर्जना भएकोबारे गम्भीर हुन जरुरी रहेको बताए।

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले हालसम्म ख वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँचजना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन् । उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताउनुभयो । स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा रु एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका–५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङले बताइन्। उनका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ । नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् ।

 

प्रधानमन्त्रीले भने –काम सन्तोषजनक भएन, परिणाम दिन नसक्दा बेचैनी बढेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको स्वीकारेका छन्।

आ।व २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा कार्यक्रममा बोल्दै परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए।

उनले भने- सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौँ। एकवर्षसम्म मोटामोटी ढंगले हामी ठिकठिकै ढंगबाट जान्छौँ भन्ने नै थियो। तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ। काल पर्खिने खालको सरकार त हुन हुँदैन हाम्रो। जनतालाई सेवा र विकास निर्माणको दृष्टिले पनि नयाँ गरेर परिणाम देखाउँछौँ भन्ने प्रतिबद्धता र संकल्पले अघि बढेको हो। तर, यहाँ आउँदा चाहिँ परिणाम त्यस्तो भइरहेको छैन। मन्त्रीज्यूदेखि मुख्यसचिव सचिवहरूको पनि दिमागमा बेचैनी बढेको जस्तो देखेको छु। परिस्थिति जटिल र चुनौतीपूर्ण छन्।

उनले सरकारले निर्णय लिन र कार्यान्वयन गर्नको लागि धेरै बाधा र अफ्ठ्याराको सामना गर्नुपर्नेको सुनाए।