जोडिनुहोस

बेनी नगरपालिकाभित्र हुक्का निषेध

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु) ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।

गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए । पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनले बताए ।

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड ९ञ० बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ ।

कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए ।

नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो ।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् ।

त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख धु्रर्व काफ्लेले जानकारी दिए । उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो ।

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

चालु आवका लागि जम्मा रु दश अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा रु पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।

तारागाउँको लुटतन्त्र सीआईबीको अनुसन्धान

काठमाडौं । ०८० माघ १८ मा बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा गैरकानूनी रुपमा आफ्नो नाममा पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) ले चौधरी ग्रुपका संचालक एव व्यवसायी अरुण कुमार चौधरीलाई पक्राउ गरेको थियो । उनीसहित तत्कालीन जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा र सन्जय ठाकुरलाई पक्राउ गरेको भएपनि काठमाडौं जिल्ला अदालतले तारेखमा राखेको छ ।

यही कारण यतिखेर सीआईबीले तारागाउँ विकास समितिको नाममा रहेको सरकारी जग्गा होटल हायातको नाममा नामसारी भएको र जग्गा लिज विवाद प्रकरणमा पनि अनुसन्धान अघि बढाएको स्रोत बताउछ । प्रहरीको उक्त कदमबाट भने स्थानीय बासिन्दा उत्साहित भएको बताइन्छ । स्थानीयका साथै जापानका पूर्व राजदुत डा। गणेश योन्जन, तुलाराम तामाङ, योङ इन्डिजिनिष्ट लिगका सवकमाण्डर काङ छोरिङलगायत बिभिन्न संघ संस्थाले नेपाली प्रहरीले अगाडि बढाएको अनुसन्धान प्रक्रियाको स्वागत गर्दै निचोडमा नपु¥याएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

साथै, ओम सुखदुःख गुढीका अध्यक्ष सुरज रूम्बा, ताम्सालिङ संयुक्त संघर्ष समितिका बाबुराम लोप्चन, नेवाः राष्ट्रिय बाहिनीका इन्चार्ज रवीन्द्र श्रेष्ठ, तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज निरूता मोक्तान र अभियान्ता आर।के। तामाङले उक्त जग्गा भूमिपति, आदिवासी जनजातिलाई फिर्ता गर्नुपर्ने माग राखेका छन । उक्त माग पूरा नभएसम्म, सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन र अनुसन्धान प्रक्रिया पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन ।

चार अर्बको लगानी २० अर्व पुग्यो
तारा गाउँ बिकास समितिको नाममा रहेको जग्गाा हयात रिजेन्सी होटलले चार अर्व लगानी गरेको थियो । उक्त जग्गाको मुल्य २० अर्ब पुगेको भन्दै भूमिपुत्र आदिवासी जनजातिको जग्गा खोसेर भारतिय विस्तारबरवादी पुँजीपतिलाई पोस्ने काम सरकारले गरेकोमा विरोध गर्दै आएका छन ।

सीआईबी स्रोतकाअनुसार, केही दिनयता सीआईबीले एक छुट्टै टिम बनाएर तारागाउँ विकास समिति र हायात रिजेन्सी होटलबीचको सेयर खरिद, जग्गा नामसारी र लिज सम्झौताका कागजात संकलन गरिरहेको छ । तारागाउँ समितिले हायात होटलमा साझेदारीका लागि १ सय ५० रोपनी जग्गा प्रति रोपनी १० लाखको दरले जग्गा होटलको नाममा नामसारी गरेर १७ करोड बराबर मूल्यमा सेयर खरिद गरेको बताइएको छ ।

त्यस्तै, १ सय ४८ रोपनी जग्गा ४९ वर्षका लागि लिजमा दिएको थियो । २०४९ असोज २२ मा तारागाउँ विकास समिति ‘आइसीटीसी ग्रुप’ र होटलका सञ्चालक राधेश्याम सर्राफ, सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ दुवै पक्षको लगानीमा चेन होटल सञ्चालन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार हालसम्म पनि हायात रिजेन्सी होटल सञ्चालनमा रहेको बताइन्छ ।

सुरुवाती सम्झौताअनुसार होटलको पुँजी एक अर्ब हुने गरी तारागाउँ विकास समितिले १ सय ५० रोपनी जग्गाको सेयर खरिद गरेको थियो । तर, हाल होटलको तर्फबाट एकलौटी रुपमा पुँजी बढाएको र प्रमुख लगानीकर्ता तारागाँउ समितिलाई ‘बाइपास’ गरेर अघि बढेको आरोप लाग्दै आएको छ । होटलले तारागाउँ समितिको जग्गा र लगानी हत्याउन त्यसरी एकलौटी पुँजी बढाएको दावी गरिएको छ । यही विषयमा छानविन गर्न सरकारले मात्रै होइन संसदीय समिति समेत पटक–पटक छानविन समिति बनाएर अध्ययन गरेको बताइएको छ । तर, सरकारी तारागाउँ समितिको जग्गा जोगाउन प्रतिवेदन दिएपनि सरकारले कुनै कार्यान्वयन गरेको छैन ।

विगतमा भएका संसदीय समितिहरुबाट भएको छानविनक्रममा तारागाउँ समितिका तर्फबाट भएको सम्झौताले सर्राफ समूहले सरकारी जग्गा हत्याउने प्रयास स्वरुप काम गरेको निष्कर्ष निकालेको थियो । मूलतः तारागाउँ विकास समिति र होटल सञ्चालकबीच संयुक्त लगानी सम्झौता अनुसार १ सय ५० रोपनी सरकारी जग्गा सेयर पुँजी मान्दै होटलको नाममा नामसारी भएको बताइन्छ ।

किन तात्यो सीबीआई ?
गैरकानूनी तरिकारले सरकारी जग्गा नामसारी भएको आशंकामा सीआईवीले छानविन अघि बढाएको बुझिएको छ । तर, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने ह्यात रिजेन्सी होटलसँग गोप्य सहमति गरी सरकारी जग्गा होटललाई नै करारमा दिने सहमतिलाई निरन्तरता दिएर करोडौं आर्थिक लाभ लिन खोजेको आरोप लागेको छ ।

सो जग्गा होटलको नाममा नामसारी गर्न मालपोत तथा जग्गा नापजाँच लगायत कुनै पनि ऐनले नदिने तथा नामसारी भएको जग्गा स्वतः बदर हुने उल्लेख छ । २०४९ मा भएको सम्झौता अनुसार, २०५१ जेठ ५ गते तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा होटल हायातको नाममा नामसारी भएको थियो ।

त्यस्तै, तारागाउँ विकास समितिको नाममा रहेको थप १ सय ४८ रोपनी जग्गासमेत ४९ वर्षका लागि लिजमा दिने निर्णय भएको थियो । सीआईबीले यही १ सय ५० रोपनी सरकारी जग्गा होटलको नाममा जाँदा कीर्ते तथा सरकारी सम्पत्तिको हानीनोक्सारी भएको दाबी गरेको छ । २०३४ सालमा सरकारले पर्यटन क्षेत्रको विकास गर्ने भन्दै तारागाउँ विकास समिति स्थापना भएको थियो ।

मन्त्रालय मातहत रहनेगरी स्थापित समितिले आफ्नो स्थापनाकालदेखि नै शहर तथा ग्रामीण क्षेत्रको पर्यटन विकासका गतिविधिमा संलग्न हुँदै आएको बताइन्छ । विभिन्न छानविन समितिको अध्ययनले १ सय ५० रोपनी जग्गा सेयरवापत लगानी गर्ने र १ सय ४८ रोपनी जग्गा होटल सञ्चालनका लागि लिजमा दिएको बताएको छ । समितिले मन्त्रालयको सरोकार बिना कुनै छलफल नै नगरी दिएको बताइएको छ ।

आज २०८० साल फागुन १७ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । कर्म क्षेत्रको लगानीबाट घाटा हुनेछैन । हिम्मत भने गर्नुपर्ने देखिन्छ । परिवारमा कुरो नबुझ्ने धेरै छन् । व्यवहार गर्दा सचेत हुनुपर्छ ।

वृषः दिन सामान्य छ । मन उदास हुनेछ । अप्रिय खरब सुन्नुपर्ने हुनसक्छ । कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक सम्बन्धबाट राम्रो सहयोग हुनेछ ।

मिथुनः दिन राम्रो छ । आफ्नो भाग्य बनाउने दिन हो । विहान शिवको सम्झना गर्नु राम्रो हुन्छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । रोजगारीको क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ । सामाजिक सम्मान हुनेछ ।

कर्कटः दिन सामान्य छ । शनिदेवको छाया योगमा हुनुहुन्छ । हनुमानको चिन्तन, पुजन गरेमा काम सफल बन्नेछ । अचानक साथीहरु नकारात्मक बाटो समाउन सक्रिय हुन्छन् । परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ ।

सिंहः दिन राम्रो छ । श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । मायाको प्रतिस्पर्धा हुने देखिन्छ । सामाजिक क्षेत्रमा घाटा हुने देखिन्छ ।

कन्याः समय राम्रो छ । लगानीका क्षेत्र अब्बल छन् । लगानी गर्नुभयो भने भाग्यको उदय हुनेछ । तपाईंको विदेश यात्राको बाटो खुल्नेछ । शिक्षामा फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः दिन राम्रो छ । चन्द्रमा दाहिना भएकाले हरेक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । मित्रको साथ मिल्नेछ । विरोध साम्य हुनेछ । रोजगारमा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिकः समय सामान्य राम्रो छ । हरेक क्षेत्रमा विरोधीहरु सक्रिय छन् । दाजुभाइबाट सहकार्य हुनसक्छ । कुटुम्बबाट साथ रहन्छ । वैदेशिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारबाट भने साथ र सहयोग रहने देखिन्छ ।

धनुः दिन राम्रो छ । भाग्यको ठाउँमा चन्द्रमा रहेकाले अचानक राम्रो खबर सुन्ने योग रहेको छ । आफ्नो लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मकरः आजको दिन सामान्य राम्रो छ । ठुलाले माया नगर्ने समय छ । आफ्नो हातले ठुलो काममा लगानी गर्नु राम्रो हुन्छ । परिवारमा मनमुटाव हुनेछ । सामाजिक क्षेत्रमा विवादका स्वर सुन्नुपर्ने छ ।

कुम्भः दिन सामान्य छ । नराम्रो शब्द जाने भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । खानपानमा ख्याल नगरे स्वास्थ्यमा जोखिम देखिन्छ । परिवारबाट भने सुख र शान्ति मिल्नेछ ।

मीनः दिन राम्रो छ । कर्मक्षेत्रको लगानीबाट शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । खर्च गर्ने बानीमा सुधार गर्नु आवश्यक छ । परिवारबाट साथ र सहयोग राम्रो रहनेछ ।

बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् । सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ । मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । जीर्ण सवारी साधन, अव्यवस्थित सडक र सडक सुरक्षाको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन्।

६ बुँदे माग राख्दै डा. केसीले दिए सत्याग्रहको चेतावनी

विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुनस् सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन् ।

केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् । त्यस्तै भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतका क्षेत्रमा सरकारले तोकेको निषेधित क्षेत्र हटाउन र भेला हुन तथा प्रदर्शन गर्न पाउने अधिकार दिन डा. केसीले माग गरेका हुन् ।

आफूसँग विगतमा भए सहमति अनुसार कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐन अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्न र इलाम, उदयपुर र डडेलधुरारामा सरकारी मेडिकल कलेज खोल्न माग गरेका छन् । त्यस्तै १०० शय्या भन्द बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम सुरु गर्न, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागवण्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्न मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गर्न पनि केसीको माग गछ ।

एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्न, सरकारी अस्पतालहरुमा आवश्यक दरबन्दी थप गर्न, सर्वसाधारणको औषधि उपचार निशुल्क गर्न केसीले माग गरेका छन् ।

उनले निजी क्षेत्रबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत डाक्टर र नर्स लगायत सबै तहका स्वास्थ्य कर्मीको न्यूनतम तलब-सुविधा सरकारी संस्थामा कार्यरत डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मी सरह गर्न विधेयक बनाई लागू गर्न पनि माग गरेका छन् ।

‘प्रचण्ड र प्रचण्डको सरकारलाई सम्झौताहरु कार्यान्वयन गर्न र आमजनतासँग जोडिएका हाम्रा माग तुरुन्त पूरा गर्न पुनः आह्वान गरिन्छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुनेछौं भन्ने जानकारी गराउन चाहन्छौं ।’

साफ यू-१६ महिला च्याम्पियनसिपको तयारी पूरा, खेल एन्फा कम्प्लेक्समा हुने

फागुन १८ देखि २७ सम्म काठमाडौंमा हुने साफ यू-१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, सहभागी टिम आइसकेका छन्,’ शाहले भने ।

यसअघि ललितपुरको च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उनले बताए । एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल सारिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० कायम गरिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइने छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले सिंगल राउण्ड रोवपनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय यु(१६ महिला टोलीले चक्र तामाङ्गको प्रशिक्षणमा तयारी गरिरहेको छ । सहभागी टिमहरु आइसकेका छन् । सहभागी टोलीलाई प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ ९१६२,४६८ अमेरिकी डलर० रहेको एन्फाले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ४ टिमले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु स्पोर्टजवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ ।
समितिले यसअघि २०७९ र २०८० सालका भित्तेपात्रो प्रकाशकले खोजेमात्र सार्वजनिक बिदा एवं साइत दिने गरेको थियो । यस वर्षदेखि भने सबैलाई अनिवार्यरुपमा स्वीकृति लिने क्रममै यस्तो विवरण दिने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । भित्तेपात्रोको स्वीकृति दिँदा समितिले तोकेबमोजिम शुल्क पनि लिने गरेको छ ।
समितिले विसं २०८१ का भित्तपात्रो स्वीकृति दिन सुरु गरेको जानकारी पनि उहाँले गराउनुभयो । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई सरकारले अनुगमन गरी कारबाही गर्ने जनाइएको छ । समितिले देशभरबाट प्रकाशन हुने भित्तेपात्रोले अनलाइनबाटै निवेदन दिई शुल्क तिरेर स्वीकृति लिन सक्ने गरी व्यवस्था गरेको छ । अनलाइनबाट स्वीकृति लिनेले अनलाइनबाटै सरकारी बिदा, चाडपर्वको सूची र साइत पाउने व्यवस्था मिलाइएको छ ।
मन्त्रिपरिषद्ले २०७७ साल पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशित भएपछि समितिले २०७९ सालदेखि भित्तेपात्रोमा एकरुपता होस् भनी स्वीकृति दिन थालेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो अनुगमन गरी कारबाही गर्ने गरिएको छ ।
समितिले भित्तेपात्रोलाई स्वीकृति दिएर विसं २०७९ मा रु २० लाख र विसं २०८० मा रु २२ लाख राजस्व उठाएको थियो । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमन गर्न ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्न गृह मन्त्रालयले निर्देशन दिएको समितिले जनाएको छ । स्वीकृति नलिई प्रकाशन हुनेलाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याउन लागेको हो ।

एमाले ‘मिसन ८४’ मा छ – अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।

आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राख्नुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाउनुभयो ।

साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताउनुभयो । अर्को एक प्रसङ्गमा उहाँले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।।

सीमावर्ती गाउँमा बन्द भए विद्यालय, प्राथमिक तह पढ्‌न पनि भारत जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो ।

विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो ।

“सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो ।

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले बताउनुभयो । डोमाले भन्नुभयो, “आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।”

जौबारीको मात्रै होइन, माइजोगमाई-२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर-५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर-५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिनुभएको छ । जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उहाँले जानकारी दिनुभयो ।

लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् ।

कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन् ।

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिनुभयो । सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिनुभयो । लामाले भन्नुभयो, “नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो ।”

यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् ।

जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

भाटभटेनी तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवासको सरकारी जग्गामा सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा रहेको भाटभटेनी तत्काल खाली गराउने काठमाडौँ महानगरपालिकाको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

अदालतले व्यवसायी गुरुङको र गुरुङका नातेदार सरला घले गुरुङको नाममा अन्तरिम आदेश गरेको छ । काठमाडौँ महानगरपालिकाले भाटभटेनीको संरचना सबै खाली गराउने सूचना निकालेपछि निषेधाज्ञाको आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताए । आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए।

उनले भने, ‘बुबा, आमा र दुई भाइहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरू तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् । आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ ।