जोडिनुहोस

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ ; प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,’करूपमा सुन्दर र मौलिक नेपाली प्रकृति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रूपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।’

उनले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुगेको पनि बताए । प्रधानमन्त्री दाहालले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको बताए। काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन् ।

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष आव २०८०-८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९(८०को सोही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२(७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो ।

समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

छाडा चौपायाबाट बाली जोगाउन सकस

धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ । छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका–२ का टेकराज जोराले दुःखेसो पोखे । रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए । गतवर्ष पनि छाडा चौपायाले आफूले लगाएको खाद्यान्न बाली र तरकारी खाएर ठूलो नोक्सानी ब्यहोर्नु परेको किसान जोराको भनाइ छ ।

छाडा चौपायाले करिब एक बिघा जमिनमा लगाइएको गहुँ बालीमा नोक्सान पुर्‍याएको धनगढीका किसान तेजुराज चौधरीले बताए। ‘छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन् । रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बाली नोक्सान गर्दछन’, उनले भने।

उपमहानगरले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरियामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा केही वर्षदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै अन्य स्थानमा पनि गौशाला बन्ने क्रममा छन । कतिपय स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि छाडारुपमा छाड्ने प्रवृत्तिका कारण छाडा पशुको व्यवस्थापनमा कठिनाइ थपिएको स्थानीय अगुवाको भनाइ छ ।

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सिमानाका कारण चौपाया छाडा पशु भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको गौ–संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए। उनका अनुसार धनगढीको देउरियामा निर्माण गरिएको गौशालामा सयौँ छाडा पशु रहेका छन् ।

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको अवस्थीले बताए । छाडा पशुको व्यवस्थापन गर्न स्थानीय तहका साथै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक विज्ञप्तिमा भनेको छ, ‘वृद्ध जनसङ्ख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।’

कम्पनीले भनेको छ, ‘नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ ।’ निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यवसायिक नमूनाको परीक्षण गरिरहेको जनाएको छ । गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहिन सवारी सेवा सुरु गर्नेछन् । टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल-४ सवारी सेवा सुरु गर्ने योजना बनाएको छ ।

 

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उनले भने।

विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो । “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उनले भने ।

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन् । डोमाले भनिन्, “आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।”

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिए । जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले जानकारी दिए ।

लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन् ।

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए। सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिए। लामाले भने, “नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो ।”

यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

आज २०८० साल फागुन १६ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । आर्थिक क्षेत्र सबल देखिन्छ । राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ । व्यापार नछोड्नु राम्रो हुन्छ । परिवारबाट खुशी मिल्नेछ ।

मिथुनः दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । गलत सोचले बदनाम हुने दिन छ । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कटः दिन राम्रो छ । मनोकामना पूरा हुनेछ । मन खुशी हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सचताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंहः दिन राम्रो छ । आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ । प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्याः दिन राम्रो छ । साथीले सहयोग गर्नेछन् । लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ । सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ ।

तुलाः दिन राम्रो छ । प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ ।

वृश्चिकः समय राम्रो छ । चन्द्रमाले साथ दिएको छ । व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ । चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन् । गलत काम खोजीमा उनीहरु सक्रिय छन् । परिवारको साथ भने राम्रो छ ।

धनुः दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ दिनेछन् । शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकरः आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुःखाउन सक्छन् । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन । परिवारको साथ मिल्नेछ ।

कुम्भः दिन सामान्य छ । अचानक रोगको चपेटामा पर्न सकिन्छ । आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ । सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ ।

मीनः दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।

भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता

काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज भेट वार्ता भएको छ । भारतको पुणेमा आयोजना हुने आठौँ एसिया इकोनोमिक डायलगमा सहभागी भारत पुगेका सचिव लम्सालले आज मन्त्री जयशंकरसँग भेट वार्ता गरेकी हुन् ।

भेटको क्रममा दुई देश बिचको कूटनीतिक सम्बन्धमा कुराकानी भएको बताइको छ । उनले विदेश सचिव विनय क्वात्रासँग पनि भेटघाट गर्ने बताइको छ । बिहीबार हुने कार्यक्रमको उद्घाटन सत्रमा उनले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । एसिया इकोनोमिक डायलग भारतको विदेश मन्त्रालय र पुणे इन्टरनेशनल सेन्टरले संयुक्त रूपमा आयोजना गरेको छ ।

यसअघि विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद भारत गएका थिए । त्यसबेला पनि मन्त्री साउद र मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको थियो ।

युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई दिइएको छ । युवा संघ नेपालका अध्यक्ष कृष्ण बिक रसिया जाने भएकाले सो जिम्मेवारी उनलाई दिइएको हो । रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठुलो सङ्ख्यामा नेपाली युवाहरू जाँदैछन् । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ । सो कार्यक्रममा वामपन्थी राजनीति दल निकट युवा नेता कार्यकर्ताहरु सहभागी हुँदै छन् । नेपाल राष्ट्रिय तयारी समिति एनपीसीको नेतृत्व नेकपा ९एकीकृत समाजवादी० ले गरेको छ । उक्त महोत्सवमा नेपालबाट १ सय २५ जना सहभागी हुँदै छ । रसिन हाउसमा सम्पन्न बिदाइ कार्यक्रम माझ रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम अधिकृत एलेक्जेन्डरले महोत्सवमा जाने युवाहरूलाई शुभकामना दिएका थिए ।

प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सुनसरीको कोशी गाउँपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‍मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५र०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको आरोप पत्रमा उल्लेख छ । पत्रमा यादवसहित भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादवलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध कैद तथा बिगो माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण संशोधन विधेयकमा दातृ निकायको सुझाब समेटिएको छ ; मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण मनी लाण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरिएको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन व्यवथापन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले अवैध कारोबारका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको तथा दातृ निकायसमेतको सुझावका आधारमा विधेयक संशोधनको प्रक्रियामा लगिएको बताउनुभयो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन यससँग सम्बन्धित अन्य कानुन पनि एकसाथ संशोधन गर्न लागिएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल ऐनले लाभको पदमा बसेर कमाएका धनका सन्भर्दमा कसैलाई पनि छुट नदिएको उल्लेख गर्दै उहाँले अवैध सम्पत्तिलाई राज्यले जफत गर्ने बताउनुभयो ।

संवेदनशील निकायमा गैरसरकारी संस्थाहरूको लगानी तत्काल बन्द गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले राज्यका संवेदनशील निकायमा गैरसरकारी संस्थाहरूको लगानी तत्काल बन्द गर्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति ऋषिकेस पोखरेलले संवैधानिक अङ्ग, व्यवस्थापिका संसद्, अदालत, सुरक्षा निकाय, राष्ट्रपति कार्यालय लगायतका राज्यका अङ्गहरूमा गैरसरकारी संस्थाहरूको लगानी, परामर्शदाता नियुक्ति गर्ने कार्य तत्काल बन्द गर्न नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।

लेखा समितिले समाज कल्याण परिषदमा पुराना कानुन भएकाले तत्काल नयाँ एकीकृत कानुनको मस्यौदा गरी संसद्लाई दिन र परिषद्को उपाध्यक्ष पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति पोखरेलले राष्ट्रिय सदाचार नीति २०७४ पास गर्न र राष्ट्रको औचित्यका आधारमा आवश्यक संस्थाको अध्ययन अनुसन्धान गरी स्पष्ट नीति तयार गर्न सरकारलाई निर्देशन गर्नुभएको हो ।

यस्तै बैठकले सङ्घसंस्थाले जुन तहमा कार्यक्रम गर्ने हो सोही तहको स्वीकृति प्रगति विवरण सहितको प्रमाण समाज कल्याण परिषदमा पेश गर्नुपर्ने, महालेखा परीक्षकको रायबमोजिम सङ्घसंस्थाको अनुगमन, मूल्याङ्कन र कार्यक्रम स्वीकृति फरक फरक निकायलाई दिनुपर्ने निर्णय गरेको छ ।

बैठकले गैर सरकारी संस्थाको परियोजना सकिएपछि समाज कल्याण परिषद्को सबै भौतिक सम्पत्तिको श्वेत पत्र जारी गर्न तथा नियामक र अनुगमनका नाममा विगत पाँच वर्षदेखि समाज कल्याण परिषद्का कर्मचारी, पदाधिकारीहरूले अनुगमनका लागि कुन कुन संस्थासँग कति रकम लियो तथा सरकारी कर्मचारी विदेश भ्रमणबाट देशलाई भएको फाइदाको पूर्ण विवरण ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन गरेको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले मन्त्रालय अन्तर्गतका पुराना कानुनहरु परिमार्जन गरिने बताउनुभयो । मन्त्री आचार्यले समाजलाई हित गर्ने उद्देश्य पुरा गर्न आगामी दिनमा समाज कल्याण परिषद्लाई सुधार गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो ।

६१ अर्बको हिसाब महालेखाको दायरामा आएन

बैठकमा उप महालेखा परीक्षक पदमराज पौडेलले समाज कल्याण परिषद्को ६१ अर्बको हिसाब महालेखा परीक्षकको दायरामा नआएको जानकारी दिनुभयो ।

उपमहालेखा परीक्षक पौडेलले गैरसरकारी संस्थाहरूले गरेको काम राज्यको रेकर्डमा नभएको र गैरसरकारी संस्थाहरूले आफूखुसी काम गरिरहेको बताउनुभयो ।

यसैगरी बैठकमा सांसदहरुले समाज कल्याण परिषद्को औचित्य नभएकाले यसलाई मन्त्रालयको एउटा निकायमा व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।

विदेशी धर्म प्रचारका नाममा गैरसरकारी संस्थाले समाज कल्याण परिषदबाट लिने रकमको दुरुपयोग गरिरहेको भन्दै सांसदहरुले संस्था दर्ता गर्दा त्यसको उद्देश्यमा ध्यान दिन आग्रह गर्नुभयो ।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले सांसदहरूको प्रश्नको जवाफ दिँदै परिषद् सङ्घसंस्था र राज्यको चेपुवामा पर्ने गरेको दाबी गर्नुभयो ।

विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता लिएका शिक्षक विरुद्ध भ्रष्ट्राचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा विद्यालयमा अनुपस्थित रहेको वेला तलब भत्ता लिएका शिक्षक र दिलाउने विद्यालयका प्राध्यापक विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो । खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीनवर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध एक लाख ३० हजार ८४३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सो समयमा तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपियाँ भुक्तानी दिएको आरोप लागेको छ । यस्तै, भोली यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव मिति २०७७ साल माघदेखि २०७८ साल कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपियाँ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।