जोडिनुहोस

विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मंगला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मंगला माविमा प्राविधिक धार कक्षा ९९-१२० मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए। बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ ।

विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् । सो विद्यालयका प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ ।

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । गत माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् ।

बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दीपेश थापाले बताए। आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ ।

नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायत उपज फलाउने गरेका छन् । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ ।

निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाले सेवा लिए

लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको तीनदिन निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाको सहभागिता भएको छ । जसमध्ये २२२ जनामा मोतिया विन्दु फेला परेको छ भने ५५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको थियो । जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरञ्जीवी खतिवडाले जानकारी दिए । दोस्रो दिन परवानिपुरमा भयको निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएकोमा ६० जनामा मोतिया विन्दु फेला परेको थियो भने शिविरमा २०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

तेस्रो दिन रानिगन्जमा गरिएको निःशुल्क आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराएकोमा आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेका लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाइस प्रेसिडेन्ट बिभुसिंह थापाले जानकारी दिए ।

तीनवटै शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई निःशुल्क फागुन १८ र १९ गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्रमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ डाक्टरहरू बाट शल्यक्रिया गरिने रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुर्व प्रसाद घिमिरेले बताए ।

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग आज भएको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् ।

लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरिन्।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रूपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधिप्रतिको साझा बुझाइ आवश्यक रहेको बताइन् ।

निजी क्षेत्रले लगानी गर्दा आफ्नो मुनाफा हेर्नु स्वभाविक भए पनि अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्नेतिर बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उनले स्पष्ट पारिन् । सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको पनि उनले जानकारी दिए।

छलफलमा नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीहरूले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए ।

नेपालमा सूचना प्रविधिको राम्रो सम्भावना भएकाले सरकारले कानुन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनीहरूले निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय सरकारले सूचना प्रविधि क्षेत्रमा राम्रो पहल अघि बढाए पनि सूचना प्रविधि, स्टार्टअपलगायतका क्षेत्रमा सरकारी निकायबीच नै साझा बुझाइ आवश्यक रहेको बताए।

अख्तियार प्रमुख भन्छन् ; ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर मुद्दा लैजान हुँदैन ।’ तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।

प्रहरीले सिंहदरबार र संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगायो

प्रहरीले सिंहदरबार र सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगाएको छ । हिजो लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले आज बिहानैदेखि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथ र सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ । फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ ।

इजरायल–हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ ; अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताउनुभएको छ । कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारीअनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताउनुभयो । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।

गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई गएको हप्ता अमेरिकाले भिटो गरेको भन्दै व्यापक आलोचना भएको थियो । यसको सट्टामा अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव गरेको छ भने इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले बदला लिइरहेको छ । बदलाका क्रममा गाजामा झन्डै ३० हजार जनाको ज्यान गएको छ भने शहर लगभग ध्वस्त भइसकेको छ । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएकोमा अझै केही रिहा हुन बाँकी छ ।

अन्तिम अपडेटस् फागुन १५, २०८०

जावलाखेल केपी ओली कपको सेमिफाइनलमा

जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । जावलाखेलको जितमा निरञ्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए । अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यस अघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल फागुन १७ गते हुने छ ।

 

एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ ।

‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ’, उनले भनिन्, ‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।’

सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन्। चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन् ।

‘चिसोपानीबाट ल्याइएको पानी त बिहान एक घण्टा मात्र आउँछ । कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ’, उनले भनिन्, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्यांकरबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।’

रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताइन् । ‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उनले भनिन्, ‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।’

रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएकी छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा बस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन् । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउँछन् ।खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछिन् ।

खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गर्नुभयो । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताउनुभयो ।

मोटोरोलाको घडी जस्तै नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक

विश्वमै पहिलो पटक घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने विशेष प्रकारको स्मार्टफोन सार्वजनिक भएको छ । गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी दिएको स्मार्टफोन कम्पनी मोटोरोलाले उक्त फोन सार्वजनिक गरेको हो । यो ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित रहेको बताइएको छ । फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिँड्न सकिने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार फोनमा ६।९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । साथै यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिने भनिएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।

 

प्राधिकरणले भन्यो ; धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको सहितका विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ । यसअघि धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले चर्को दबाब दिइरहेका छन् । त्यसपछि सरकारले एक समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो ।

गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा गौतमलाई

गृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमले पाएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए । प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन । समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका शाखा उपसचिव सदस्य रहने भनिएको छ ।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ । आज ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।