जोडिनुहोस

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ । आज ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।

विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट केभी र ४०० भोल्टका प्रसारण लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ ।

साउनदेखि हालसम्म वितरणतर्फका ३३-११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरी नै वितरणतर्फका प्रसारण लाइन र सबस्टेसन निर्माण अभियानकै रुपमा चलिरहेको बताए। घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसनको निर्माण सुरु गरिएको बताए।

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३-११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी बर्दघाट–सुस्ता पूर्वको बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरी २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । कूल २५ वटा सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरुको स्तरोन्नति सम्पन्न भइसकेको छ ।

विश्व बैंकको ग्रीड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३(११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत आपूर्तिका लागि लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नामिबियासँग नेपाल २० रनले पराजित

नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउँदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यसअघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए ।नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुनेछ ।

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति ; ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि संक्षिप्‍त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनीले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे। उनलाई श्रद्धाञ्जली दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।

 

माओवादी बैठक ; राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए । बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका विषयमा पनि सदस्यहरूले चासो राखेको उनले बताए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ । स्थायी कमिटीमा नेताहरूको कार्यविभाजन, पार्टीको अभियानको समीक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग एसइसी ले बताएको छ । ‘आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्’, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् । मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ । विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ । भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो ।

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो ; मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापित गर्न आफूले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन् ।

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरूले मन्त्रालयको कामलाई विरोध गरेको उनले बताए । मन्त्री बस्नेतले शत प्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरू एकढिक्का हुने गरेको गुनासो गरे ।

अस्पतालमा टेन्डरमार्फत सामाग्री खरिद गर्न खोज्दा कर्मचारीहरूले तालाबन्दी नै गर्ने गरेको उनको भनाइ छ । उनले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न प्रयाप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राखे ।

कार्यक्रममा दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई एक लाख नगद पुरस्कार सहित यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा। केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलिया रहेका छन् ।

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध ; उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकतावद्ध प्रयास आवश्यक छ’, आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र ९सर्जिकल० भवनको उद्घाटन गर्दै उनले भने । उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ थियो । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टि आवश्यक रहेको उल्लेख गरे ।

आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ थियो । ‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए । उनले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताए ।

मधेश प्रदेशसभामा नाराबाजी

मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बैठकमा नारावाजी गरेका छन् । प्रदेशसभाको बैठक सुरु हुनासाथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।

तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

 

क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो; ओरेक नेपाल

महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालले लिङ्गको आधारमा पारिश्रमिक तोकिनु संविधान विपरीत भएको बताएको छ । साथै, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेर्न क्यानलाई ध्यानाकर्षण गरेको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले पुरुष खेलाडी र महिला खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । जसमा पुरुष खेलाडी र महिला खेलाडीबीचको पारिश्रमिक फरक–फरक तोकिएको छ ।

संघको केन्द्रिय समितिको बैठकले पारिश्रमिक पुरुषहरू तर्फ ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार इमर्जिङ्ग क्याटागोरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । महिला तर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ्ग क्याटागोरीलाई २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णयले महिलाको श्रमलाई पृष्ठपोषण गरेको ओरेकको आरोप छ । नेपालको संविधान २०७२ ले लैङ्गिक आधारमा पारिश्रमिकमा कुनै भेदभाव गरिने छैन भनेको छ । तर क्यानले महिला खेलाडीको पारिश्रमिक आधा तोकेको छ । ओरेक नेपाल महिला अधिकार र सामाजिक न्यायका लागि काम गर्ने संस्था हो

पहिलो प्रधानसेनापति बस्न्यातको स्मृति दिवस मनाइयो

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको २७८औं स्मृति दिवस जिहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ ।

बस्न्यातको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको पूर्णकदको सालिक परिसरमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो । विसं १७७१ मा गोरखामा जन्मिएका शिवरामसिंहले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए ।

कार्यक्रममा अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिंगो नेपालकै शान भएको बताए ।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने यी दुई महान् कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउँदै उनँले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उल्लेख गरे
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताइन् ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्यांकन हुनु जरुरी छ भन्दै वीर पुर्खाहरुका नाममा स्थापित सबै संघसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्यक्त गरे ।

विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताए ।

शंखरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण संग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा। निरञ्जन मानसिंह बस्नेतले शंखरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिए ।

६ सय किलो गाँजासहित ट्रक चालक पक्राउ

धादिङ।प्रहरीले गजुरी गाउँपालिका– २ बाट ६ सय २० किलो गाँजासहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका– ७ का २९ वर्षीय सन्तोषकुमार साह छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको सामानभित्र लुकाई राखेको अवस्थामा ६ सय २० किलो ४४ ग्राम गाँजा फेला पारेको थियो।

त्यसपछि ट्रक चालक साहलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ।