जोडिनुहोस

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग एसइसी ले बताएको छ । ‘आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्’, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् । मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ । विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ । भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो ।

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो ; मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापित गर्न आफूले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन् ।

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरूले मन्त्रालयको कामलाई विरोध गरेको उनले बताए । मन्त्री बस्नेतले शत प्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरू एकढिक्का हुने गरेको गुनासो गरे ।

अस्पतालमा टेन्डरमार्फत सामाग्री खरिद गर्न खोज्दा कर्मचारीहरूले तालाबन्दी नै गर्ने गरेको उनको भनाइ छ । उनले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न प्रयाप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राखे ।

कार्यक्रममा दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई एक लाख नगद पुरस्कार सहित यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा। केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलिया रहेका छन् ।

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध ; उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकतावद्ध प्रयास आवश्यक छ’, आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र ९सर्जिकल० भवनको उद्घाटन गर्दै उनले भने । उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ थियो । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टि आवश्यक रहेको उल्लेख गरे ।

आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ थियो । ‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए । उनले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताए ।

मधेश प्रदेशसभामा नाराबाजी

मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बैठकमा नारावाजी गरेका छन् । प्रदेशसभाको बैठक सुरु हुनासाथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।

तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

 

क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो; ओरेक नेपाल

महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालले लिङ्गको आधारमा पारिश्रमिक तोकिनु संविधान विपरीत भएको बताएको छ । साथै, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेर्न क्यानलाई ध्यानाकर्षण गरेको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले पुरुष खेलाडी र महिला खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । जसमा पुरुष खेलाडी र महिला खेलाडीबीचको पारिश्रमिक फरक–फरक तोकिएको छ ।

संघको केन्द्रिय समितिको बैठकले पारिश्रमिक पुरुषहरू तर्फ ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार इमर्जिङ्ग क्याटागोरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । महिला तर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ्ग क्याटागोरीलाई २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णयले महिलाको श्रमलाई पृष्ठपोषण गरेको ओरेकको आरोप छ । नेपालको संविधान २०७२ ले लैङ्गिक आधारमा पारिश्रमिकमा कुनै भेदभाव गरिने छैन भनेको छ । तर क्यानले महिला खेलाडीको पारिश्रमिक आधा तोकेको छ । ओरेक नेपाल महिला अधिकार र सामाजिक न्यायका लागि काम गर्ने संस्था हो

पहिलो प्रधानसेनापति बस्न्यातको स्मृति दिवस मनाइयो

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको २७८औं स्मृति दिवस जिहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ ।

बस्न्यातको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको पूर्णकदको सालिक परिसरमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो । विसं १७७१ मा गोरखामा जन्मिएका शिवरामसिंहले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए ।

कार्यक्रममा अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिंगो नेपालकै शान भएको बताए ।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने यी दुई महान् कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउँदै उनँले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उल्लेख गरे
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताइन् ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्यांकन हुनु जरुरी छ भन्दै वीर पुर्खाहरुका नाममा स्थापित सबै संघसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्यक्त गरे ।

विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताए ।

शंखरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण संग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा। निरञ्जन मानसिंह बस्नेतले शंखरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिए ।

६ सय किलो गाँजासहित ट्रक चालक पक्राउ

धादिङ।प्रहरीले गजुरी गाउँपालिका– २ बाट ६ सय २० किलो गाँजासहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका– ७ का २९ वर्षीय सन्तोषकुमार साह छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको सामानभित्र लुकाई राखेको अवस्थामा ६ सय २० किलो ४४ ग्राम गाँजा फेला पारेको थियो।

त्यसपछि ट्रक चालक साहलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ।

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् ।

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले द्धैध चरित्र प्रदर्शन गरेको आरोप लगाए । ‘सरकारले एकातिर हामीलाई वार्तामा बोलाएको छ, अर्कोतिर आश्रय लिएको ठाउँबाट हटाउन प्रहरी परिचालन छ,’ उनले भने, ‘सरकारको द्धैध चरित्र हामीलाई मान्य छैन ।’

मिटरब्याजपीडितहरूसँग सरकारले आइतबार पहिलो चरणको वार्ता गरेपनि त्यसपछि भने वार्ताको बातावरण बनेको छैन । आफूहरूलाई भृकुटीमण्डपबाट हटाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले वार्तामा बस्ने नैतिक धरातल गुमेको बताएका छन् ।

‘हामीले वार्ताका लागि आह्वान गरेकोमा स्वागत गर्दै वार्तामा सहभागी भई थप छलफल विहान ११ बजेदेखि सुरु गर्ने गरी पहिलो बसाइँ टुंग्यायौँ । तर यता वार्तामा बस्ने उता धर्नास्थल र बास खोस्ने षड्यन्त्र रच्दै प्रहरीमार्फत् धम्काउने कार्य गर्दा राज्यको नियत धोकापूणर् देखियो,’ अध्यक्ष कुशवाहाले भने, ‘पीडितहरूको न्यायिक संघर्षप्रतिको राज्यको उपेक्षा सैह्य छैन । हामीलाई बासको बैकल्पिक व्यवस्था नगरीकन उठिबास लगाउन खोजे त्यसको सशक्त प्रतिकार गर्न तयार छौँ ।’

उनले यस प्रकारको द्धैध चरित्रले वार्ताको अस्तित्व माथि नै प्रश्नचिन्ह खडा गरेको बताएका छन् । ‘मिटरब्याज अपराधले सिर्जना गरेको बहुआयमिक समस्याको पूणर्रुपमा समाधान खोज्न उन्मुख नहुने वार्ता, समयको बरबादी र पीडितलाई गुमराहमा राख्ने निकृष्ट चाल मात्रै हो,’ अध्यक्ष कुशवाहाले भने ।

बाजुरामा सर्वपक्षीय बैठकः चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बाजुरा । बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।

चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार ढुवानी नहुने समस्या देखिएकाले तत्काल ढुवानी गराउनेगरी पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनले ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल महङ्गोमा किन्नुपर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको बताए ।

संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन् । बजारमा मोटा चामल ६२ देखि ६४ मा बिक्री हुँदा खाद्य संस्थानमा ५९ प्रतिकेजी पाइने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जनाएको छ ।

पर्याप्त बजार क्षेत्र भएर पनि बाजुरामा खाद्यान्न अभाव हुने गरेको सन्देश जाने भएकाले अनुदान दिने मापदण्ड पनि तोकिनुपर्ने र जबर्जस्त अभाव सिर्जना गरिने काम बन्द गरिनुपर्ने दलका प्रतिनिधिले आग्रह गरेका छन् । उनीहरुले भोकमरी नै हुनेगरी बाजुरामा खाद्यान्न अभाव हुने अवस्था नआएको बताए । जिल्लामा स्थानीय उत्पादन भएर जिल्ला बाहिर निर्यात भइरहेकाले भोकमरी नभएर भातमरी भएको बडीमालिकाका पूर्वनगरप्रमुख पदम बडुवालले बताए ।

बैठकमा जिल्लामा कार्यालय खडा गर्ने, समयमै चामल उपलब्ध नगराउने, उपलब्ध गराउने चामलमा पनि नाममात्रैको अनुदान दिने कुरा गलत भएकाले उद्देश्यअनुसार खाद्य संस्थानले काम गर्न र समयमै चामल आपूर्ति गर्न सुझाव दिइएको छ ।

बाजुराबाट तीन करोड बढी कोदो बाहिर जाने तर खाद्यान्न अभाव भएको सन्देश दिने कुरा सान्दर्भिक र तथ्यपरक नभएकाले सञ्चारमाध्यम र सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूले सस्तो प्रचारबाजीकै लागि लेख्ने कुराले जिल्लाको बद्नाममात्रै हुने गरेकोप्रति जिल्लाका क्रियाशील राजनीतिक दलले चिन्ता व्यक्त गरेका छन् ।

बैठकले विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गर्ने निर्णय गरेको छ । सरकारी कर्मचारी, व्यापारी र गैरसरकारी संस्थासँग आबद्ध रोजगारी भएको घरको तथ्याङ्क सङ्कलन गरी अनुदानको चामल विपन्न परिवारका प्राथमिकतामा राखेर वितरण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा गत साउनदेखि हालसम्म दुई हजार क्विन्टलमात्रै चामल आयात गरिएको छ । अघिल्लो वर्षको कोटा हेर्दा १० हजार बढी क्विन्टल चामल आवश्यक हुने अनुमान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारीले बताए ।

सदरमुकाम मार्तडी कार्यालय पनि एक सय ७० क्विन्टल बढी मोटा र एक सय ३० क्विन्टल बढी मसिनो चामल यथावत छ । तर स्थानीयले मोटा चामलमात्रै रोज्ने गरेका छन् । चामलकै अभाव छैन, मोटा चामलको मागमात्रै बढी रहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । बैठकले खाद्य कम्पनीबाट लिइएका चामलको दुरुपयोग भएको हुनसक्ने जनाउँदै निगरानी र अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।

नागरिकलाई सहज चामल उपलब्ध गराउने कुरामा संस्थान जिम्मेवार हुनुपर्ने बडीमालिका नगरप्रमुख अमर खड्काले सुझाव दिए । खाद्य संस्थानको चामल बडीमालिका नगरपालिका केन्द्रित बसोबास गर्नेले मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । बजारको भन्दा सस्तो भएरै चामलका लागि भीडभाड हुने भएकाले राज्यले आपूर्ति बढाउन उनले आग्रह गरे ।

सङ्घ र प्रदेशस्तरीय संस्थानका कार्यालयलाई समेत जिल्लामा चामल ढुवानी छिटो गर्न माग गर्ने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन्। चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् ।

बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ ।

“विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु १०–१२ हजार जति पर्दथ्यो”, बोहराले भने, “कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन ।” उनी भन्छन्, “मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।”

“तरकारीखेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो”, अगाडि थप्दै बोहरा भन्छन्, “साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।”

बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन् । तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उनले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका छन्। आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उनले आम्दानी गर्दै आएका छन्। अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्छन् ।

तरकारीखेतीकै लागि उनले वर्षमा रु ६५ हजार बढी लगानी गर्दै आएका छन् । लगानी कटाएर वर्षमा रु एकदेखि रु एक लाख ८० हजारसम्म उनले आम्दानी गर्दै आएका छन् । तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउछन् ।

“श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्”, उनले भने, “तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहजरूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारीखेती गर्नमा सघाउने गरेकी छिन् ।”

उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन् । तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउछन्। बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन् ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं।अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण मौसममा आंशिकदेखि सामान्य बदलीसम्म हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

सरकारले ग-यो भूकम्प प्रभावित पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।