जोडिनुहोस

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

ढोरपाटन । ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो ।

बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड(१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ । ढोरपाटन नगरपालिका(६ दोगाडी हुँदै गाडीखोला(चामिद्वारा(छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी(ढोरपाटन सडकको विकल्पको रुपमा लिइन्छ ।

दूरदराजका गाउँ छिचोल्दै ढोरपाटन पुग्ने उक्त सडक सिकार आरक्ष कार्यालयको अवरोधका कारण ढोरपाटन उपत्यका जोड्न सकिएको छैन । हाल दोगाडीदेखि खानी गाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्दै आएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक कालोपत्रे हुँदै आएको हो ।

रु २५ करोड २६ लाखमा सम्झौता भएर काम हुँदै आएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु तीन करोड मात्र विनियोजन गरेको भन्दै बजेट थप नभए यस वर्ष पनि कालोपत्रेले पूर्णता पाउन नसक्ने उनको भनाइ छ ।

हालसम्म करिब ९० प्रतिशत कालोपत्रेको काम सकिएको उनले जानकारी दिए । चालु आवमा सडक कालोपत्रेका मंसिरदेखि सुरु भएको जनाउँदै जिम्मा पाएको निर्माण कम्पनीले निरन्तर काम गरी रहेको उनले बताए । बजेट थप भए यस वर्ष कालोपत्रे सक्ने गरी काम भएको उनको भनाइ छ । काम पूरा गर्न अझै थप रु चार करोड बजेट आवश्यकता रहेको छ । गत वर्ष करिब रु छ करोडको काम भएको उनले बताए ।

‘यो सडक कालोपत्रेका लागि २०७६ कात्तिक २९ गते सम्झौता भएको थियो, बहुवर्षे योजनाअन्तर्गत रहेको सडकको काम केही समय कोरोना महामारीले समस्या बनायो, गत वर्षसम्म बजेट अनुसारको काम भएको छ, यस वर्ष सक्ने लक्ष्य हो, सरकारले बजेट थप गर्यो भने सकिन्छ’, इन्जिनियर श्रीसले भने, ‘यस वर्ष बजेट विनियोजन भए अनुसार तीव्र गतिमा काम भएको छ, दोगाडीदेखि खानी गाउँसम्मको दश किलोमिटर सडक कालोपत्रे हुनुपर्ने हो ।’

यस सडक ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ हुँदै वडा नम्बर ९ ढोरपाटन जोडिएको छ । भौगोलिक विकटताका कारण यातायातको पहुँचभन्दा बाहिर रहेका नागरिकले यस सडकले जोडेको छ । यस सडकमार्फत ढोरपाटन पुग्नसमेत सहज र छिटो हुने ढोरपाटन( ६ का अध्यक्ष उमेश बुढा मगरले बताए । करिब चौध वर्षपछि कालोपत्रेले पूर्णता पाउन थालेको जनाउँदै यसले यस क्षेत्रका नागरिकसँगै ढोरपाटन पुग्ने पर्यटकलाई सहज बनाउने उनको भनाइ छ । ढोरपाटन जोड्न छ किलोमिटर बाँकी रहेको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष कार्यालयले विभिन्न कारण देखाएर अवरोध पुर्याउँदा हालसम्म सडक जोडिन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘सडक कालोपत्रे हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन्, यो सडकले जोडिएको सबैभन्दा टाढाको गाउँ खानी गाउँ हो, त्यहाँबाट ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार आउन दुई घन्टा बढी लाग्छ, यो कालोपत्रे भई सक्यो भने एक घण्टामै पुगिन्छ, ढोरपाटन जोड्नलाई धेरै प्रयास गरियो तर आरक्षले गर्दा जोड्न सकिएको छैन, ढोरपाटन पुग्ने मुख्य सडकको दूरावस्था छ, यो बाटोको धेरै भाग कालोपत्रे हुन लागि सक्यो, यो सडक हुँदो ढोरपाटन पुग्न छिटो र सहज हुन्छ ।’

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

“निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ”, उनले भने, “खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।”

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

“काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ”, नन्दाले भने, “यसले केही हदसम्म जनावर भाग्छन् ।” राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएका उहाँ जनावरबाट जोगाउन सके वार्षिक रु चार लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताए । “यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन”, उनले भने, “रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।”

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । “राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो”, बेलडाँडी–५ कै श्यामलाल रानाले भने, “तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।”उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएको छ । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उनको भनाइ छ ।

प्रचण्ड र ओली निरन्तर संवादमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् ।

त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । एमालेका एक नेताले प्रधानमन्त्री दाहालले ‘ललिपप’ देखाइरहेको बताएका छन् । ‘कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,’ ती नेताले भने ।

कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ । एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

मौसम पूर्वानुमानः अधिकांश भू–भाग मुख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने भएको छ । पहिलो चरणमा हिजो साँझ भएको वार्तामा ठोस कुरा नै नभएपछि आज पुनस् छलफल गर्ने सहमति भएको छ ।

गृह मन्त्रालयमा आज बिहान ११ बजे सरकार र र मिटरब्याजपीडितबीच वार्ता हुने छ । २३ दिन हिँडेर पैदलै काठमाडौं आइपुगेको पाँच दिनपछि हिजो पहिलो चरणमा उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले अग्रसरता देखाएको हो । हिजोको वार्तामा मिटरब्याजपीडितहरुले सरकारलाई माग सुनाएका थिए ।

वार्ता टोलीमा पीडितको नेतृत्व गरेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् । पीडितहरुले समस्या समाधानका लागि न्यायिक आयोग गठन गर्नुपर्ने र दीर्घकालीन समस्या समाधान गर्न उचित कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यसो त मिटरब्याजपीडितहरु पहिलो पटक आन्दोलनमा उत्रिएका हैनन् । यसअघि देशभरका मिटरब्याजपीडित काठमाडौंमा आएर आन्दोलन गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पीडितसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेका थिए । तर तीमध्ये आयोगले ५ हजारको मात्र मिलापत्र गराएको थियो ।

आज २०८० साल फागुन १४ गते सोमबारको राशिफल

तपार्ईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ । बोलीमा सरस्वतीको बास छ । विवेक पुर्याएर बोल्नुपर्ने छ । माया गरेको धन प्राप्त हुनेछ । साथीबाट साथ र सहयोग मिल्नेछ । लगानीका क्षेत्र अब्बल छन् । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ । गुरुबाट सोचेजस्तो साथ नरहन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः दिन राम्रो छ । साथीसँग रमाइलो गर्ने दिन हो । मोटरसाइकल सामान्य गतिमा चलाउनु पर्नेछ । अरुको हुटहुटीमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कटः दिन सामान्य राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा विवाद बढ्नेछ । आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः दिन राम्रो छ । कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन् । न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ । शिक्षामा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । पारिवारिक मर्म बुझेर चल्नुपर्ने योग रहेको छ ।

कन्याः दिन राम्रो छ । प्रतिस्पर्धी शान्त रहने छन् । स्वास्थ्यमा लाभ हुनेछ । हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ । हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ ।

तुलाः दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक सेवा गर्ने योग छ । परिवारको साथ र सहयोग रहनेछ । आफ्नो कुरा काट्नेसँग सचेत बन्नुपर्ने देखिन्छ ।

वृश्चिकः दिन सामान्य छ । पुरानो रोग बल्झिने खतरा छ । बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ । निजी लगानी गरेका कर्मक्षेत्र अब्बल छन् । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । परिवारको साथ र सहयोग राम्रो छ ।

धनुः दिन राम्रो छ । रमाइलो ठाउँको बयानले मन प्रभावित हुनसक्छ । मन खुशी हुनेछ । देश वा विदेश घुम्ने मिति तय हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः आजको दिन राम्रो छ । कर्म क्षेत्रमा निरन्तरता कायम रहनेछ । आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ । परिवारको साथ र सहयोग रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

कुम्भः समय सामान्य छ । संघर्ष गर्ने दिन हो । पछाडि कुरा काट्ने मित्र सक्रिय छन् । इमान्दारिता नगुमाउनु राम्रो हुनेछ । परिवार भने सकारात्मक छन् । ठूला काममा आजको दिन हात नलगाउनु राम्रो हुन्छ ।

मीनः समय राम्रो छ । खर्च बढ्ने योग छ । आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ । सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ । नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग रहन्छ ।

 

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी

नोम पेन। कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ । सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताएका छन् ।

प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।

उनले भने, “सीपीपीले सिनेटका ५८ सिटमध्ये कम्तीमा ५० सिट जितेको छ, जुन कूल सङ्ख्याको ८० प्रतिशतभन्दा बढी हो ।”

“सन् २०२३ को जुलाईमा भएको आम निर्वाचनमा हामीले शानदार जित हासिल गरेकोसीपीपीका लागि यो अर्को ठूलो सफलता हो,” आइसानले भने ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सामदेक टेचो हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने र राजा विदेशमा रहँदा कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई २०८० फागुन १२ गते शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

मिटरब्याज पीडितहरूको आन्दोलनमा पूर्वप्रधानमन्त्री खनालको ऐक्यबद्धता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले खनालले आइतबार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपास गरेका छन् ।

आइतबार मिटरब्याज पीडितको आन्दोलनमा एक्यबद्धता ऐक्यबद्धता जनाउँदै मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले त्यसका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले मिटरव्यज पीडितले न्यायपूर्ण संघर्ष थालेको २७ दिन बित्दा पनि सरकारले केही गर्न नसकेको बताए ।

‘मिटरब्याज पीडित किसानहरूले जुन प्रकारको पीडा भोगिरहेका छन् । त्यो पीडाबाट सरकारे किसानहरूलाई मुक्त गर्न सक्दैन भने यस्तो सरकारको काम छैन’, खनालले भने, ‘सरकारले हजार काम छोडेर किसानहरूका माग सम्बोधन गर्नुपर्छ ।’

नेता खनालले सरकारका साथै यो देशमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको भन्दै कम्युनिस्ट पार्टीहरू यो देशका श्रमजीवी जनताको पार्टी हो या दलाल पुँजीपति वर्गको पार्टी भन्दै भनेर प्रश्न गरे ।

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

म्याग्दी। बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ ।

बेनी-जोमसोम-कोरला सडक योजनाले यही फागुन ११ गते एक सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको छ ।

सो क्षेत्रमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा र गोठ हटाउन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाइँले बताए ।

“प्रभावितले क्षतिपूर्तिको दररेटमा असहमति जनाएपछि संरचना हटाउन सकिएको थिएन”, उनले भने, “संरचना नहट्दा सडक विस्तार र नाली निर्माण रोकिएको थियो ।” उनले क्षतिपूर्तीको पुनःमूल्याङ्कन भएपछि स्थानीय रकम बुझ्न तयार भएकाले संरचना हटाउने प्रक्रिया सुरु गरिएको बताए ।

गलेश्वरदेखि तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माण पूरा भइ कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार र नाली निर्माण रोकिएको थियो ।

स्थानीयको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन गरी क्षतिपूर्तिको रकम संशोधन गरेको थियो । सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन लागिएको सूचना अधिकारी चापागाइँले बताए ।

योजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया सुरु गरिएको थियो ।

सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण अहिले पनि जारी छ । म्याग्दीमा ८० र मुस्ताङमा ९८ वटा घर, टहरा र गोठ हटाउने निर्णय गरिएको थियो ।

बेनी(जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो ।

पछिल्लो व्यवस्था अनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

बीपी प्रतिष्ठानका इन्जिनियरलाई चार वर्ष कैद, ६६ लाख ४० हजार असुल गर्ने फैसला

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई चार वर्षको कैद सजाय सुनाइएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारणा गरेको हो ।

प्रतिष्ठान हाताभित्र व्यवसाय सञ्चालन गरिरहेकाबाट विद्युत् महसुल बापतको रकम ३३ लाख २० हजार २२६ असुल गरी प्रतिष्ठानमा नबुझाएका साहलाई बिगोबमोजिम जरिवाना समेत हुने फैसला सुनाइएको छ । यही फागुन ६ गते कसुर ठहर गरेको इजलासले आइतबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० भदौ २५ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको मागबमोजिम नै साहलाई बिगोबमोजिम जरिवाना र कैद सजाय गरेको छ ।

पाटन क्याम्पसमा रोजगारीको अवसर

काठमाडौं । पाटन संयुक्त क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्याम्पसले विभिन्न पदमा कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गरेका २६ आंशिक शिक्षक माग गरेको हो ।

योग्य र इच्छुक आवेदकले यही फागुन २७ गतेसम्म आवेदन दिन सक्ने क्याम्पसले जनाएको छ । त्यस्तै, दोब्बर दस्तुर तिरी उल्लिखित मितिभन्दा थप एक हप्तासम्म आवेदन दिन सक्नेछन् ।

क्याम्पसले व्यवस्थापन विषयमा चार, ग्रामीण विकासमा चार र भौतिक शास्त्रमा तीन जना शिक्षक माग गरेको छ । त्यस्तै, वातावरण विज्ञानमा एक, जनसंख्या अध्ययनमा दुई, राजनीति शास्त्रमा दुई, रसायन शास्त्रमा दुई र गणितमा पनि दुई जना शिक्षक मागेको छ ।

त्यसैगरी, समाजशास्त्रमा दुइृ, मानवशास्त्रमा एक, अर्थशास्त्रमा एक, वनस्पति शास्त्रमा एक र प्राणी शास्त्रमा एक गरी कुल २६ जना शिक्षक आवश्यक रहेको बताइएको छ ।