जोडिनुहोस

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौँ। अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।

निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।

उनका अनुसार म्याजिकल नेपाल प्रालिमार्फत तीन जना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ । अनलाइनमार्फत रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन् ।

अनलाइनमार्फत रुट परमिट दिने व्यवस्था भएसँगै अब मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्ला जिल्लाको सिमकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजङ्गा क्षेत्र जाने पर्यटकलाई सहज हुने भएको छ ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले निषेधित क्षेत्रको परमिट अनलाइनमार्फत गर्दा पदयात्रा पर्यटक व्यवसायीलाई सहज हुने जानकारी दिए । ‘जति धेरै पर्यटकलाई सहजता दिन सक्यो त्यति नै धेरै पर्यटक नेपाल घुम्नका लागि आउँछन्, उक्त अनलाइन सेवाले पर्यटन व्यवसायीलाई सहयोग पुग्ने विश्वास मैले लिएको छु’, उनले भने ।

अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइन प्रणालीमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए । उक्त प्रणालीसँगै पर्यटकले अब सहजैरुपमा आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्युआर पेमेन्ट’ गरी सहज तरिकाले परमिट लिन सकिने उनको भनाइ छ ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पन बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरे । सांसद बिना लामाले मिटरब्याजपीडितको समस्या समाधान हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

उनले दुग्ध किसानको माग सम्बोधन गरी उनीहरुले बिक्री गरेको दूधको पैसा भुक्तानी गर्नुपर्ने बताइन् ।

सांसद विद्या भट्टराईले कास्कीका अधिकांश सहकारी समस्यामा परेको, सूर्यदर्शन सहकारीपीडितहरु सबैभन्दा बढी मारमा परेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिन् ।

“पोखरा महानगरमा तीन सय ६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन आवश्यक छ”, उनले भनिन् ।

सांसद विनिताकुमारी सिंहले मधेस प्रदेशमा साक्षरता दरमा सबैभन्दा पछाडि परेको, अनुगमनमा ध्यान नदिइएको, शिक्षामा लगानी कम भएकाले अपेक्षित प्रगति हुन नसकेको धारणा राखिन् ।

सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारले तोकिएको पारिश्रमिक पाउन नसकेको विषय सञ्चारमाध्यमदेखि सडकसम्म पुगेको उल्लेख गर्दै पत्रकार विषम परिस्थितिमा पुगेको बताए ।

सांसद श्यामकुमार घिमिरेले कमला नदीका कारण सिन्धुलीलगायतका जिल्ला नराम्ररी प्रभावित भए पनि नदी नियन्त्रणका लागि यथेष्ट बजेट विनियोजन हुन नसक्दा काम हुन नसकेको बताए ।

सांसद सन्तोष परियारले सामुदायिक शिक्षाको विकास र विस्तारका लागि महत्वपूर्ण मानिएको भक्तपुरको ख्वप कलेजलाई विश्वविद्यालय बनाउने विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितराज पाण्डेले संसद् बैठकको प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले सांसदको भूमिका, जिम्मेवारी स्पष्टसँग देखेको उल्लेख गर्दै उत्तरी गोरखाको विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वी नेपालमा किसानलाई बाँदरले ठूलो दुःख दिएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु शान्ति विक, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, सन्तोष चालिसे, सराज अहमद फारुकी, सरिता भुसाल, स्वर्णीम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यमान दोङ, हितबहादुर तामाङ, हेमराज राई, हृदयराम थानी, ज्ञानु बस्नेत सुवेदीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बेलायतमा ३५ प्रतिशत तलव बृद्दीको माग गर्दै डाक्टरहरू हडतालमा

लन्डन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन । सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन ।

पाँच दिनको हडताल सुरू भए पछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र चेकअप सबैभन्दा बढी प्रभावित हुनेछन।

ब्रिटिश मेडिकल एसोसिएसनले ३५ प्रतिशत तलब वृद्धिको लागि आग्रह गरेको छ तर सरकारका मन्त्रीहरूले उनीहरूको तलब बृद्दीको दावीलाई भने अव्यावहारिक रूपमा वर्णन गर्दै अस्विकार गर्दै आएका छन्।

स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले जुनियर डाक्टरहरूले हडताल जारी राखेकोमा आफू निराश भएको बताएकी छिन् । ‘कसैले पनि यी हडतालहरूले हाम्रो एनएचसमा पार्ने प्रभावलाई कम आँकलन गर्नु हुँदैन, त्यसैले म फेरि बिएमएलाई उनीहरूको हड्ताल बन्द गर्न आग्रह गर्छु,’ उनले भनिन्।

तर बिएमएका जुनियर डाक्टर नेता डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले भने, ‘ सरकारले एक दशकभन्दा बढी समय देखि हुन नसकेको तलब बृद्दीको मागलाई सम्बोधन गर्नका लागि भरपर्दो तलब प्रस्ताव गरेर मात्र यी हडतालहरू रोक्न सक्थ्यो तर गरेको छैन।’

दुई तिहाइ जुनियर डाक्टरहरू बीएमएका सदस्य छन् तर धेरै साना अस्पताल परामर्शदाता र विशेषज्ञ संघले पनि यस हडतालमा भाग लिएका छन । नियमित अस्पताल सेवाहरूले सबैभन्दा अवरोधको सामना गर्ने अपेक्षा गरिएको छ किनभने वरिष्ठ डाक्टरहरूलाई आपतकालीन हेरचाहमा कभर प्रदान गर्न भनिएको छ तर त्यो सम्भवः छैन् ।

एनएचएस इङ्गल्याण्डले जीवन जोखिमको आपतकालिन अवस्थामा बिरामीहरूलाई सामान्य रूपमा ९९९ मा कल गर्न सल्लाह दिइरहेको छ तर अन्य सबै कुराको लागि १११ मा फोन गर्न भनिएको छ ।

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्रीः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएक छन् ।

नेपाल जाइका अलमनाई एशोसियशन ९जान० को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए ।

“मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्वपूर्ण रहने छन्”, उनले भने ।

राष्ट्रपति पौडेलले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मूलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियशनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । उनले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए ।

राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

सरकारले मिटरब्याज पीडितलाई बोलायो वार्तामा

काठमाडौं । सरकारले २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।

‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ, ‘बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला ।’

आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै

काठमाडौँ– सरकारले आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने भएको छ ।

जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो । जाजरकोट र पश्चिम रुकुममा गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरेक दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौँमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।

काठमाडौँका १० स्थानीय तहमा आजदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ। सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको हो ।

एलोन मस्कले गरे ‘एक्स मेल’ बनाउने घोषणा, गुगलको ‘जीमेल’सँग कडा प्रतिस्पर्धा गर्ने

काठमाडौं । तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ रु यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।

किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो । तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स ९पुरानो नाम ट्वीटर० ले इमेल सेवाको मामिलामा गुगलसँग प्रतिस्पर्धा गर्न लागिरहेको खबर सार्बजनिक भइरहेको छ ।

वास्तवमा गुगलको जीमेलसँग प्रतिस्पर्धा गर्न एक्सले आफ्नो इमेल सेवा एक्समेल लन्च गर्न लागेको छ । एक्सको इमेल सर्भिसको बारेमा विगत केही सातादेखि चर्चा भइरहेको थियो तर अब ट्वीटर ९एक्स० को मालिक एलोन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने पुष्टि गरेका छन् ।

अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ । वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे पछि यो तयारी सार्बजनिक भएको थियो ।

वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्ष देखि बन्द हुने बताइएको थियो । यो खबर फैलिए पछि एक्सले पनि आफ्नो इमेल सेवा सुरु गर्ने घोषणा गर्‍यो ।

तर, गुगलले सो लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खाता मार्फत पोष्टमा गुगलले पुष्टि गर्‍यो कि जीमेल सेवा सक्रिय रहनेछ, बन्द हुने छैन् ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, खुलाउन कम्तीमा एक साता लाग्ने

बागलुङ – सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो।

पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए।

‘दुवैतर्फ डोजर लगाउँदा पनि पहिरो पन्छाउन कम्तीमा एक साता लाग्छ’, उनले भने, ‘ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराएको उनले बताए।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। भिरालो जमिन रहेको यो स्थानमा वेलावेला सुक्खा पहिरो गइरहन्छ।

कोदोबाट बिस्कुट उत्पादन, आलुको बिस्कुट बनाउने तयारी

गलकोट । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो ।

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ ।

“जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे”, उनले भने, “रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु ।”

कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे । आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताए । उनले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु २० मा बजार पठाएको बताए ।

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको भनाइ छ ।

“पछिल्लो समय कोदो खेती कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्”, उनले भने, “बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घ्यू र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु ।”

जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको उनको भनाइ छ । आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो । अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ ।

दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ । कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाउने उनको भनाइ छ ।

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो ।

मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।”

मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । त्यस बेला तत्काल पदक तयार गर्न समय अभावले सम्भव नभएकाले फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने भनी पुरस्कृत भएकालाई मौखिक जानकारी दिइएको थियो । मन्त्रालयले बजेट छिटै उपलब्ध भइसक्ने र पदक तयार गर्दा बढीमा दुई महिना लाग्ने अनुमानका भरमा फागुनमा पुरस्कार वितरण गर्ने सोच बनाएको थियो ।

यतिबेला पदकका लागि नाम सार्वजनिक भएकाले दैनिक जसो मन्त्रालयका पदाधिकारीलाई फोन गर्दै जिज्ञासा राख्ने गरेका छन् । मन्त्रालयका एक अधिकारीले दैनिक आउने गरेका फोनको जवाफ दिँदा दिँदा आफूहरू हैरान भइसकेको भन्दै उनीहरूलाई मन्त्रालयसँग रकम नभएको भन्न पनि कठिन भइरहेको बताए ।

२०३१ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७९ सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

चितवन। तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एकरदुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन’, उनले भने ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।