जोडिनुहोस

अवैध बाटो भएर अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड उडानबाट काठमाण्डौ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । आज उनीहरूलाई सम्पर्कमा बोलाएको र कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्ने उहाँले बताउनुभयो ।

मोरङमा मार्बल बोकेको ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको ज्यान गयो, २ जना घाइते

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । मार्बल बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा बुढीगङ्गा–४ प्रगति टोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको आठ वर्षे छोरी रिहाको ज्यान गएको हो ।

घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिँडिरहेका रिहाको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते हुनुभएको छ । प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको हो ।

 

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं र बैतडीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैतडीको डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी  गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अपराधीको कुनै पार्टी या जात हुँदैन ; संसद् बजगाईँ

प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए । ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।

माओवादीको स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो । स्थगित बैठक अब आगामी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ ; सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकहरूले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए । उनले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटो भन्दा छिटो पीडित मैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताए ।

‘यो कुरा हामी अझै कति अड्काउने रु यसमा प्रश्न उठेको छ । सभापतिले फिनिसिङ कसरी आउँछ भन्ने कुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्ने कुरा हुन्छ’ उनले भने, ‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गर्नुपर्छ भन्नेमा सबैको सहमति छ ।’ सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

 

नामिबियाले नेदरल्याण्ड्सलाई दियो २ सय ४ रनको लक्ष्य

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो ।

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन् । त्यस्तै मलान क्रुगरले ३९ रन जोडे । ज्यान फ्राइलिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए ।

कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुईरदुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एकरएक विकेट लिए ।

 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगो लगाउन सांसदहरुको माग

सांसदहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसी छिटो टुंगो लगाउन माग गरेका छन् । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुंगो लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंगोमा पुर्‍याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरे । उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गर्दै उक्त विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गतेभित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरे ।

प्रमुख सचेतक लेखकले विधेयकमा भएका विषयमध्ये केही बुँदा मात्र सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्नुपर्ने भन्दै छलफलबाट टुंगोमा नपुगे त्यसलाई संसद्ले टुंगो लगाउने गरी पठाउनुपर्ने बताए ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुगोमा पुर्‍याउन विषयगत छलफलका लागि कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत उपसमिति बनाउन सुझव दिए। उनले समितिको काम फराकिलो तरिकाले गर्नका लागि उपसमिति आवश्यक रहेको जनाए ।

 

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल

प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् । प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

गलकोट– विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेको ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए ।

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ ।

‘सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो’, क्याम्पसप्रमुख उपाध्यायले भने।

त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न एक करोड बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उनले बताए। भवन अपाङ्गमैत्री हुनेछ ।

संसद्‌मा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप

काठमाडौँ।प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।

मोरङमा लहरी पल्टिँदा तीनजनाको मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा ढुंगा बोकेको लहरी पल्टिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का एकजना रहेका छन् ।

शुक्रबार बिहान ७ बजेतिर कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी प्रगति टोलमा पल्टेर दुर्घटना भएको थियो । बुढीगंगा गाउँपालिका–४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् ।

ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीनजना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको छ ।