प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए । ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।
माओवादीको स्थायी समिति बैठक स्थगित
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो । स्थगित बैठक अब आगामी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ ; सचेतक बर्तौला
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकहरूले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए । उनले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटो भन्दा छिटो पीडित मैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताए ।
‘यो कुरा हामी अझै कति अड्काउने रु यसमा प्रश्न उठेको छ । सभापतिले फिनिसिङ कसरी आउँछ भन्ने कुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्ने कुरा हुन्छ’ उनले भने, ‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गर्नुपर्छ भन्नेमा सबैको सहमति छ ।’ सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
नामिबियाले नेदरल्याण्ड्सलाई दियो २ सय ४ रनको लक्ष्य
आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो ।
नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन् । त्यस्तै मलान क्रुगरले ३९ रन जोडे । ज्यान फ्राइलिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए ।
कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुईरदुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एकरएक विकेट लिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगो लगाउन सांसदहरुको माग
सांसदहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसी छिटो टुंगो लगाउन माग गरेका छन् । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुंगो लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंगोमा पुर्याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरे । उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गर्दै उक्त विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गतेभित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरे ।
प्रमुख सचेतक लेखकले विधेयकमा भएका विषयमध्ये केही बुँदा मात्र सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्नुपर्ने भन्दै छलफलबाट टुंगोमा नपुगे त्यसलाई संसद्ले टुंगो लगाउने गरी पठाउनुपर्ने बताए ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुगोमा पुर्याउन विषयगत छलफलका लागि कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत उपसमिति बनाउन सुझव दिए। उनले समितिको काम फराकिलो तरिकाले गर्नका लागि उपसमिति आवश्यक रहेको जनाए ।
प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल
प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् । प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।
तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो
गलकोट– विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।
तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेको ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए ।
त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ ।
‘सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो’, क्याम्पसप्रमुख उपाध्यायले भने।
त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न एक करोड बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उनले बताए। भवन अपाङ्गमैत्री हुनेछ ।
संसद्मा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप
काठमाडौँ।प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।
सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।
शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।
प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।
मोरङमा लहरी पल्टिँदा तीनजनाको मृत्यु
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा ढुंगा बोकेको लहरी पल्टिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का एकजना रहेका छन् ।
शुक्रबार बिहान ७ बजेतिर कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी प्रगति टोलमा पल्टेर दुर्घटना भएको थियो । बुढीगंगा गाउँपालिका–४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् ।
ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीनजना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको छ ।
क्यान इन्फोटेक सुनसरीको हरिबिजोग, ६५ मध्ये ४४ स्टल खाली
सुनसरी। ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफोटेक सुनसरीमा पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नआएपछि सुनसान बनेको छ ।
क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फोटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको हो । ६५ वटा स्टल राखिएको क्यान इन्फोटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फोटेकको कोशी प्रदेश सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले अगाडिको कुर्सी सबै खालि देखेपछि मन्तव्य २ मिनेटमै सिद्ध्याए । त्यति मात्र हैन मन्त्री कार्कीले स्टलहरूको पनि अवलोकन गरेका थिए ।
अवलोकनको क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजकलाई मन्त्री कार्कीले स्टल किन खाली भनेर प्रश्न गरेका थिए । कार्यक्रमको शुभारम्भमै वरियता बिगारेर उपेक्षा गरेपछि इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेल कार्यक्रम स्थलबाट मन्तव्य नै नराखी हतारमा निस्किएका थिए ।
५ दिन सम्म चल्ने क्यान मेलामा १ लाख आन्तरिक अवलोकनकर्ता भित्र्याउने र ३ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि पहिलो गासमै ढुङ्गा भने बराबर भएको छ । १४० भन्दा बढी सदस्य रहेको क्यान सुनसरीमा सदस्यहरू नै उपस्थित देखिएका थिएनन् ।
आयोजक भित्रैका सदस्यहरूले खाली स्टलबारे चित्त नबुझेको भनी गुनासो समेत गरेका थिए । इन्फोटेकमा नेपाली सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्ने भनिए पनि प्रायजसो स्टलहरूमा एजुकेसन, कन्सल्टेन्सी, होटल लगायत अन्य क्षेत्र हावि देखिएका थिए । विभिन्न सामाग्री उपकरणहरू सुपथ मूल्यमा पाउन सकिने भनिएता पनि स्टलमा प्रविधिसँग जोडिएका कुनै सामग्री देखिएका थिएनन् ।
कोसी प्रदेश स्तरीय इन्फोटेक भनिए पनि इटहरीका सीमित कम्प्युटर व्यवसायी र आयोजक आफैले स्टलहरू बुकिङ गरेका थिए । क्यान सुनसरी इटहरी क्षेत्रका केही कम्प्युटर व्यवसायीहरुको कब्जामा परेपछि धरान, इनरुवा, दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन् । विगतमा १४० भन्दा बढी सदस्यहरू रहेको क्यान सुनसरी अहिले केही परिवारका १५(२० जनामा सीमित रहेको छ ।
२०७२ चैत्र ९ गते क्यान सुनसरी विघटन गरी क्यान महासङ्घ खडा गरेको ७ दिन बित्न नपाउँदै धरान क्षेत्रबाट क्यानमा आबद्ध सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाबाट बाहिरिएको घोषणा गरेका थिए ।
अनावश्यक कागजी प्रक्रियामा उल्झन पार्दै निर्वाचनमा निषेध गरेपछि रुष्ट हुँदै क्यानबाटै धरान बाहिरिएको थियो । हालका नेतृत्वले सदस्यहरूलाई रिझाउन नसक्दा सञ्चालन गरिएको इन्फोटेक खल्लो हुने सम्भावना देखिएको छ ।
इटहरी भित्रै पनि निषेधको राजनीति हुँदा क्यानमा आबद्ध केही व्यवसायीहरू निस्कृिय झैँ बनेका छन् । नेपालमा उत्पादन भएका सूचना प्रविधिको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने भनी आयोजना गरिएको यस्ता इन्फोटेक प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा स्थानीय तथा प्रदेश सरकारको बजेट झ्वाम्म पार्ने बाहेक अरू उपलब्धि केही देखिएको छैन ।
विभिन्न समयमा, विभिन्न शीर्षक राखी आयोजना गरिने मेलामा भारी मात्राको छुट भन्दै स्टकमा रहेका पुराना सामग्रीहरू बिक्री गर्ने चाउमिन र मोमो मात्रै राखेर आयोजना गरिने फुड फेस्टिभल,औजार बेगरका कृषि प्रदर्शनी र पर्यटन प्रवर्द्धनको नाममा समाजमा विकृति फैलाउने महोत्सव जस्ताले लामो समयदेखि उपभोक्तालाई गुम्राहमा पार्दै आएका छन् ।
यस्ता मेला, महोत्सव तथा प्रदर्शनीमाथि स्थानीय सरकारले बेलैमा नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा
टक्सार (भोजपुर) । चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।
प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छभने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ । त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
मोदीको प्रशंसा पछि फिल्म ‘आर्टिकल ३७०’को टन्नै भयो टिकट बिक्री, ९९ रूपैयाँमा नै हेर्न पाइने
मुम्बई । कश्मीरको परिस्थितिमा आधारित फिल्म ‘आर्टिकल ३७०’ आज अर्थात २३ फेब्रुअरीमा रिलिज हुँदैछ । यामी गौतमको यो फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि उल्लेख गरेका छन् । त्यसपछि फिल्मको कलेक्शनमा उल्लेख्य उछाल आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अवस्था यस्तो छ कि रिलिज अगावै फिल्मले करोडौं रुपैयाँ कमाइसकेको छ ।
यो फिल्म जम्मू कश्मीरको स्थितिमा आधारित छ । र, यसले भारतको संबिधानको सबैभन्दा चर्चित धारा ३७० अघिको अवस्थाको बारेमा पनि बताउँछ । पीएम मोदीको उल्लेख गरिदिए पछि फिल्मको कमाइ बढेको देखिन्छ । यसका साथै देशभर चलचित्रको टिकट मूल्य ९९ रुपैयाँ मात्रै राख्ने निर्णय गरिएको छ । यस पछि, पहिलो दिनको संग्रह आफैंमा धेरै जबरदस्त देखिन्छ। फ्रेबअरी २१ सम्म धारा ३७० को ११ हजार टिकट बिक्री भइसकेको छ ।
सबै टिकटहरू वीभीआर इनबक्सका हुन् । बक्स अफिस अड्डाका अनुसार फिल्मको अहिलेसम्म ३५ हजार १५६ टिकट बिक्री भइसकेको छ । जसपछि फिल्मको कमाइ ३९.६८ लाख पुगेको छ । पिंकभिलाका अनुसार यस फिल्मले सुरूवातीमा नैं ४ देखि ५ करोड भारु कमाउने अनुमान गरेको छ ।
यो फिल्ममा यामी गौतमको महत्वपूर्ण भूमिका छ । जसले इन्टेलिजेन्स अफिसरको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको कथा जम्मू कश्मीरमा अनुच्छेद ३७० हटाएको र आतंकवादको वरिपरि घुमेको छ ।
फिल्ममा यामी गौतमले आतंककारीहरूसँग व्यवहार गर्ने र उनीहरूलाई समाप्त गर्ने जिम्मा लिएकी छिन । फिल्ममा उनको कश्मीर भारतको हिस्सा हो र रहिरहन्छ भन्ने संवाद पनि निकै हिट भएको छ ।











