जोडिनुहोस

मोदीको प्रशंसा पछि फिल्म ‘आर्टिकल ३७०’को टन्नै भयो टिकट बिक्री, ९९ रूपैयाँमा नै हेर्न पाइने

मुम्बई । कश्मीरको परिस्थितिमा आधारित फिल्म ‘आर्टिकल ३७०’ आज अर्थात २३ फेब्रुअरीमा रिलिज हुँदैछ । यामी गौतमको यो फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि उल्लेख गरेका छन् । त्यसपछि फिल्मको कलेक्शनमा उल्लेख्य उछाल आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अवस्था यस्तो छ कि रिलिज अगावै फिल्मले करोडौं रुपैयाँ कमाइसकेको छ ।

यो फिल्म जम्मू कश्मीरको स्थितिमा आधारित छ । र, यसले भारतको संबिधानको सबैभन्दा चर्चित धारा ३७० अघिको अवस्थाको बारेमा पनि बताउँछ । पीएम मोदीको उल्लेख गरिदिए पछि फिल्मको कमाइ बढेको देखिन्छ । यसका साथै देशभर चलचित्रको टिकट मूल्य ९९ रुपैयाँ मात्रै राख्ने निर्णय गरिएको छ । यस पछि, पहिलो दिनको संग्रह आफैंमा धेरै जबरदस्त देखिन्छ। फ्रेबअरी २१ सम्म धारा ३७० को ११ हजार टिकट बिक्री भइसकेको छ ।

सबै टिकटहरू वीभीआर इनबक्सका हुन् । बक्स अफिस अड्डाका अनुसार फिल्मको अहिलेसम्म ३५ हजार १५६ टिकट बिक्री भइसकेको छ । जसपछि फिल्मको कमाइ ३९.६८ लाख पुगेको छ । पिंकभिलाका अनुसार यस फिल्मले सुरूवातीमा नैं ४ देखि ५ करोड भारु कमाउने अनुमान गरेको छ ।

यो फिल्ममा यामी गौतमको महत्वपूर्ण भूमिका छ । जसले इन्टेलिजेन्स अफिसरको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको कथा जम्मू कश्मीरमा अनुच्छेद ३७० हटाएको र आतंकवादको वरिपरि घुमेको छ ।

फिल्ममा यामी गौतमले आतंककारीहरूसँग व्यवहार गर्ने र उनीहरूलाई समाप्त गर्ने जिम्मा लिएकी छिन । फिल्ममा उनको कश्मीर भारतको हिस्सा हो र रहिरहन्छ भन्ने संवाद पनि निकै हिट भएको छ ।

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन कष्टकर

ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन् । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’, अदैले भने, ‘एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।’

गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रो पटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए ।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी (सोलुखुम्बु)। हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।

हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए ।

उनले भने, ‘हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।’

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए ।

उनले भने, ‘हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन् ।’ वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ ।

हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए । उनले भने, ‘बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि रु यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् ।

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सरकारी जग्गा हडपेको विवरण संकलन गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए । उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए ।

त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले पत्राचार गरेको छ ।

सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अनधिकृतरूपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएपछि मन्त्रालयले जग्गा फिर्ताको पहल थालेको हो ।

मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिले कुनै सार्वजनिक संस्था (प्रचलित कानुनबमोजिम स्थापना भएका प्रतिष्ठान, बोर्ड, प्राधिकरण, संस्थान, विकास समिति, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य संस्था, कम्पनी वा अन्य सार्वजनिक वा गैरसरकारी संस्था) लाई उपयोग गर्नेगरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर रहेका जनाएको छ ।

अतिक्रमण भएका जग्गा फिर्ता ल्याउने तथा राज्यको सम्पत्ति कब्जा गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता प्रवक्ता भट्टराईले व्यक्त गरे ।

चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ ।

केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो ।

श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो ।

मृतकका दाइ सम्पर्कमा आई आमाका लागि भए पनि शव पठाउनका लागि सहयोग मागेको र सोहीनुसार आर्थिक सहयोग संकलन गरी शव बुधबार टर्किस एयरलाइन्समार्फत नेपाल पठाउन सफल भएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

‘यहाँबाट शव पठाउन निकै खर्च लाग्ने र झन्झटिलो छ, मृतक अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव पठाउन करिब तीन महिना लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने ।

नेपालसम्म शव पठाउन ३ हजार ४ सय ८८ अमेरिकन डलर खर्च लागेको छ भने अभियानका क्रममा उठेको रकमको विवरण नामावलीसहित प्रकाशन गरिने एनआरएनएले जनाएको छ ।

‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतक पनि ‘इलिगल’, उनको कम्पनी पनि छैन राहदानी पनि छैन, यस्तो अवस्थामा कतैबाट सहयोग पाइँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ ९इराक०मा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

भूकम्प प्रभावितको अस्थायी आवासका लागि थप ९० करोड निकासा

काठमाडौं – जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको छ ।

यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुपैयाँ रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन्।

आजसम्म अस्थायी आवास निर्माण गर्न कुल तीन अर्ब १६ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ। हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार ९३७ पुगेको छ। अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ।

अहिलेसम्म ४८ हजार ५६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार ८३३ रहेको प्राधिकरणले जनाएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा क्षति भएका घरहरूको अहिले अस्थायी आवास निर्माण जारी छ। पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ।

आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भु-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-बभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ ।

मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए। उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए। ‘विकासतर्फको रु २० करोड रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौ ।’ उनले भने–’२१.६ हेक्टर जमिन अधिग्रहणका गर्न रु ८७ करोड थप बजेट माग गरेका छौ ।’ उनका अनुसार यस वर्ष विकासतर्फ रु ९९ करोड र मुआब्जाका लागि रु १२ करोड आएको थियो । बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का लगाउन सकिएको छैन ।

आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन । निर्देशक शेर्पाका अनुसार उन्नाइस किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म सात हजार दुई सय रूख कटान गर्नुपर्ने छ तर त्यसको अनुमति वन विभागले अहिलेसम्म दिएको छैन ।

डेढ दशकसम्म पनि आयोजनाको काम पूरा नहुँदा स्थानीय किसान खिन्न छन् । ‘सिँचाइ सुविधा उपलब्ध हुने स्थानमा किसानहरूले बोरिङबाट सिँचाइ गरिरहेका छन् ।’ स्थानीय विसन दत्त जोशीले भने–’आयोजना लामो समयसम्म पनि निर्माण हुन नसक्दा लागत पनि बढ्दै गएको छ ।’

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आयोजनाको मूल नहर नै जीर्ण हुँदै गएकाले सरकारले आयोजनाको काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका समस्या समाधान गरेर सरकारले किसानका खेतमा पानी पुर्‍याउनुपर्ने बताए ।

आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

वृषः दैनिकी राम्रो मान्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। भोज र भतेरमा ख्याल गर्नुपर्छ। प्रतिस्पर्धी शान्त रहनेछन्। परिवारको सहयोग मिल्नेछ।

मिथुनः दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कर्कटः दैनिकी सामान्य छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग सकारात्मक रहनेछ।

सिंहः दिन राम्रो छ। चन्द्रमा उदय छन्। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। प्रतिस्पर्धीका आवाज कमजोर भएका छन्। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्याः दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुबाट साथ रहने प्राप्त हुने योग छ। सम्मान गर्न सिक्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः समय राम्रो छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिकः दैनिकी राम्रो छ। यात्राले मनमा उत्साह थप्नसक्छ। दाजुभाइ र इष्टमित्रको साथ रहने छ। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनुः दिन राम्रो छ। लगानीमा घाटा हुने छैन। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। आफन्त भन्दा अपरिचित बाट साथ र सहयोग रहनेछ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकरः दैनिकी राम्रो छ। बोलीको प्रभावले धेरै काम गर्नुपर्ने छ। शब्दमा मोहनी छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दैनिकी सामान्य छ। इच्छा विपरितको बाटो आफन्तले रोज्नेछन्। झुटो आरोप लाग्नसक्छ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। जन्मकुण्डलीमा तीन, ६ र ११ औं स्थानमा शनिदेव भए तपाईंको काम सफल हुनेछ।

मीनः खर्च बढ्न सक्छ। खर्चालु काम नगर्नु राम्रो हुन्छ। साथीबाट साथ रहनेछ। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

धौलागिरि पवित्र तपोभूमिः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन ।

पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका छन ।

बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताए । उनले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू खुसी लागेको पनि बताए ।

धौलागिरि क्षेत्र आफँैमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ” राष्ट्रपति पौडेलले भने, “कुडुँलेमा सवा लाख शालग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसारमात्रै गरेको छैन, जलसम्पदा, सङ्कटमा रहेको शालग्रामलाई जोगाउन थालेको छ ।”

संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उनले नेपालका नदीहरु पवित्र रहेको बताए ।

यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकको भीड लागेको देखेको छु”, उनले भने, “पञ्चकोटले धार्मिक पर्यटक भित्र्याएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पु¥याउनेछ ।” महायज्ञले जलसम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उनको भनाइ थियो ।

सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं उक्त सर्वसिद्धधिाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेलललाई स्वागत गरेका थिए। उनले सो धाममा देवदेश नेपालका अभिभावकका रुपमा रहनुभएका राष्ट्रप्रमुखको आगमन पञ्चकोटधाम परिवार, तीर्थस्थल विकास समिति, मुक्तिनाथबाबा श्रीजी च्यारिटेबल ट्रष्टलगायतका सबैमा सुखानुभूति भएको बताएका थिए।

आजै राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानकारुपमा रहेको सवालाख श्रीफल ९नरिवल० हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच ओटा नरिवल हवन गरेका थिए। ती प्रत्येक नरिवलमा विभिन्न ५४ प्रकारका हवनीय द्रब्यहरु राखिएको थियो ।

नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा रु ५० करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।

त्रिभुवन विमानस्थलबाट ११ अर्बभन्दा बढीराजस्व संकलन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे। विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

विमानस्थलले आव २०७७/७८ मा दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोभिड-१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।

सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।