जोडिनुहोस

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

बनियानी (झापा)। झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना

गण्डकी। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुुगमनसम्बन्धी योजना तथा नीति तर्जुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । ऐनले अधिकार प्रदान गरे पनि स्थानीय तहहरूको त्यसतर्फ जागरुकता नदेखाइरहेका अवस्थामा पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (२०८१–०८६) तयार गरी हालै त्यसलाई औपचारिक रुपमा नै सार्वजनिक गरेको छ ।

दिगो तथा भरपर्दो ऊर्जाको पहुँच वृद्धि गर्दै नागरिकको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न संयन्त्र तयार पार्दै अघि बढेको महानगरले ऐनकै अधिकार प्रयोग गरी ऊर्जा विकास उपसमिति समेत गठन गरेको छ । उक्त समितिले ऊर्जा योजनाको कार्यान्वयन र अनुगमन गर्ने गर्दछ ।

ऊर्जा विकास उपसमितिद्वारा तयार गरिएको उक्त योजना जर्मन सहयोग नियोग (जिआइजेड) नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो ।

योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा नारायणप्रसाद चौलागाईले जानकारी दिए । ऊर्जा योजनालाई महानगरपालिकाले प्रभावकारी कार्यान्वयन गर्ने उनले विश्वास व्यक्त गरे । उक्त योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको थियो ।

नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ अनुसार महानगरपालिकाले नवीकरणीय ऊर्जा प्रविधि अपनाउने र ऊर्जाको गुणस्तर सुनिश्चित गर्ने कुरामा सहयोग गर्दै आएको छ भने पछिल्ला समयमा नवीकरणीय ऊर्जाको प्रयोगमा सुधार भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदन २०८० अनुसार पोखरा महानगरपालिकामा शतप्रतिशत विद्युत्ीकरण भएको छ । महानगरपालिकाभित्रका कूल एक लाख ४० हजार ४५९ घरधुरीमध्ये ७० दशलवल ०९ प्रतिशत घरधुरीमा १५ एम्पिएर मिटर जडान गरिएको छ भने २८ दशमलव ०८ प्रतिशत घरधुरीमा पाँच एम्पिएर मिटर जडान गरिएको छ । त्यस्तै एक दशमलव ८३ घरधुरीमा ३० एम्पिएर जडान गरिएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगर ऊर्जा योजना सार्वजनिक गर्दै दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखरा भन्ने परिकल्पनासहित नगर ऊर्जा योजना ल्याएको स्पष्ट गरे । विसं २१०० सम्ममा ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको लक्ष्यसहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ आफूहरू लागेको महानगरपालिकाका प्रमुख आचार्य बताउँछन् ।

‘किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगरभित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्यसहित नगर ऊर्जा योजना निर्माण गरिएको हो’, उनले भने ।

दैनिक जीवनमा प्रयोग गरिने सामग्रीहरूमा विद्युतीय उपकरणको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको उनको भनाइ छ ।

पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययनसहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना तयार गरिएको उल्लेख गर्दै उनले यसबाट महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान विश्वास लिइएको बताए ।

महानगरपालिले घरायसी तहमा स्वच्छ र दक्षतासहित नवीकरणीय ऊर्जाको उत्पादन तथा उपयोगलाई प्रभावकारी बनाउने, व्यवसायमा परम्परागत तथा आयातित इन्धनलाई न्यूनीकरण गर्दै ऊर्जा दक्षतासहित नवीकरणीय ऊर्जाको उपयोग बढाउने लक्ष्य राखेको छ ।

त्यस्तै उद्योगहरूबाट हुने हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जा उपयोग र दक्षता अभिवृद्धि गर्ने, वातावरण संरक्षण र आर्थिक समृद्धिका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता नीति र शैक्षिक अभियानमार्फत दिगो अभ्यासहरूमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ ।

नगर ऊर्जा योजनाअन्तर्गत आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र र अन्य विषयगत क्षेत्रलाई लक्षित गरी उद्देश्यहरू निर्धारण गरिएको छ । महानगरपालिकाको घरेलु, व्यावसायिक र औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोगको अवस्थासहित ऊर्जा दक्षताको पहिचान, दक्ष र भर पर्दो ऊर्जामा नगरवासीहरूको पहुँच अभिवृद्धि, स्थानीय आर्थिक विकासमा टेवा र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा नगर ऊर्जा योजनाले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख आचार्यको भनाइ छ । उहाँका अनुसार ऊर्जा योजना कार्यान्वयनका लागि पाँच वर्षसम्म रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजार लाग्ने अनुमान गरिएको छ ।

महानगरको ग्रामीण क्षेत्रका घहरूमा सुधारिएको चुल्हा प्रवद्र्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्हाको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधारलगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न नगर ऊर्जा योजनामा नीतिगत व्यवस्था गरिएको छ ।

विद्यमान तथ्याङ्कअनुसार महानगरपालिकामा ९४ दशमलव ०६ प्रतिशत घरधुरीले खाना पकाउन र ९९ दशमलव ३३ प्रतिशत व्यवसायले खाना पकाउन एलपी ग्यासको प्रयोग गरिरहेका छन् । महानगरपालिकामा खाना पकाउन एलपी ग्यास सबैभन्दा बढी रुचाएको इन्धन बनेको छ भने खाना पकाउन बिजुलीतर्फ पनि आकर्षण बढ्दो छ ।

केन्द्रीय तथ्याङ्क विभागको २०७८ को तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाका ३३ वडामध्ये २९ वडामा खाना पकाउन एलपी ग्यासको अत्याधिक प्रयोग हुने गरेको छ । बाँकी चारवटा वडामा खाना पकाउन एलपी ग्यासभन्दा दाउराको प्रयोग गर्ने गरिएको छ ।

महानगरपालिकाका २८, २९, ३०, ३१, ३२ र ३३ मा खाना पकाउनका लागि वायोग्यासको पनि प्रयोग भएको छ् । वडा नं २८ मा लगभग ६९ दशमलव ४२ प्रतिशत जनसङ्ख्याले खाना पकाउन दाउरा प्रयोग गरेको पाइन्छ । त्यस्तै दाउराको खपत सबैभन्दा कम वडा नं २ मा रहेको छ । यहाँका ० दशमलव ६२ प्रतिशत जनसङ्ख्याले मात्रै दाउरा प्रयोग गरेको तथ्याङ्कले देखाएको छ ।

एलजी ग्यासको प्रयोग वडा नं २ मा सबैभन्दा बढी देखिन्छ भने वडा नं २८ मा सबैभन्दा कम देखिन्छ । तथ्याङ्कअनुसार महानगरपालिकाको सबैभन्दा बढी वडा नं ३ को ० दशमलव ५५ प्रतिशत जनसङ्ख्याले विद्युतीय चुल्हा प्रयोग गरिएको पाइन्छ भने वडा नं २४ मा सबैभन्दा कम विद्युतीय चुल्हाको प्रयोग पाइएको छ ।

ऊर्जा योजनाले नीतिगत व्यवस्था गर्दै महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवद्र्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधारलगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न सहयोग पुग्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.नारायणप्रसाद अधिकारी बताउँछन् ।

योजनाको प्रभावकारी कार्यान्वयनसँगै यसले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । यसबाट नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

एनपिएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।

ती खेलाडीलाई विभिन्न श्रेण्ीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् । उक्त प्रतियोगिताको लागि यही साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

तम्घास (गुल्मी) । “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटवल जानुपर्छ”, चन्द्रकोट गाउँपालिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।”

शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएको छैन । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटवलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।

“अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ”, शर्माले भनिन् । उनले नि:शुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेका थिए । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।

स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटवल धाउनुपर्ने बाध्यता रहेको बताए । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, “यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।” चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुई तले आवास भवन पनि निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए ।

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इस्लामवाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ ।

जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।

सावधानीका लागि रावलपिंडी जिल्ला प्रशासनले अगस्ट ४ देखि १० अगस्टसम्म कानून र व्यवस्था कायम राख्न धारा १४४ लागू गरेको छ । चार जनाभन्दा बढी भेला हुन, र्‍याली, विरोध प्रदर्शन वा प्रदर्शनमा पूर्ण रोक लगाइएको जनाइएको छ ।

पीटीआईका समर्थकहरूले जेलबाहिर विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन्। यसैलाई मध्यनजर गर्दै कारागार प्रशासनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेको छ ।

इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।

बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

ढाका। बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।

यो घर शेख हसिनाका पिता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गरेका थिए। पहिले यो ठाउँ इस्टेट राजबारी भनेर चिनिन्थ्यो।

गण भवन संसद भवन नजिकै राजधानी ढाकाको शेर–ए–बंगला नगरमा छ। बंगलादेश सरकारले यसलाई देशको नेताको आधिकारिक निवासको रूपमा प्रयोग गरिएको थियो ।

शेख हसिना २०१० मा यहाँ बस्न आएकी थिइन् र गत ५ अगस्ट २०२४ अर्थात १५ वर्षसम्म उनी त्यही घरमा नै रहिन् । गत वर्ष उनको विद्रोहको लगत्तै यहाँ ध्वस्त र लुटपाट सुरु भएको थियो ।

भीडले साडी, सजावटका सामान, घडी, सोफा, लग्जरी ह्यान्डब्याग, टेलिभिजन, माछा र महिलाको लुगा समेत लुट्यो । लुटपाटको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारीहरूले पछि लुटिएको सामान फिर्ता भएको दाबी गरेका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले गण भवनलाई शेख हसिनाको कुशासनको प्रतीक घोषणा गर्दै संग्रहालयमा परिणत गर्ने घोषणा गरेको जनाइएको छ । यो संग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा समर्पण गरिने युनुस सरकारले जनाएको छ ।

साथै, बंगलादेशको संस्कृति मन्त्रालयले यस संग्रहालयको व्यवस्थापनका लागि २०० पदहरूका लागि जागिर खुलाएको छ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शाहले जानकारी दिए ।

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

काठमाडौँ । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सक्रिय ग्राहकहरूका लागि यो सुविधा ल्याएको जानकारी दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार यो सुविधा “माइ डिशहोम एप” मा उपलब्ध हुनेछ । एपमा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, ट्राभल तथा लाइफस्टाइल ब्रान्डहरूमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएको कम्पनीको भनाइ छ । आगामी दिनमा १०० भन्दा बढी ब्रान्डहरूमा यो सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिने ब्रान्ड तथा लिस्टहरू:

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

काठमाडौँ।बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह बढेको र नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो । विभागले बुधबार बिहानसम्म आवश्यक सावधानी अपनाउनसमेत सबैको ध्यानाकर्षण गरेको छ ।

यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो ।

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, ठूलो मात्रामा मदिरा बरामद

राजविराज (सप्तरी)। मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।

मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षणा बढ्नेछ।

मिथुनः दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।

कर्कटः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा सम्पत्ति र समय दुवेै खर्च हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा आरोपप्रत्यारोप बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ।

सिंहः दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। परिवारभित्र गोपनीयता सुरक्षित गर्न राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ।

कन्याः दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउने छ। आर्थिक क्षेत्रमा व्यायभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ।। अभिभावकसँगको अन्तरक्रियाले फाइदा हुनेछ।

तुलाः दिन राम्रो छ। दाजुभाइसको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिकः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकरः दिन सामान्य छ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन आशान्त बन्ने जोखिम छ।

कुम्भः दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईंको नाम रहनेछ। परिवाररको साथले उत्साह बढ्नेछ।

मीनः दिन सामान्य छ। टाउको दुख्ने जोखिम बढ्नसक्छ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेर मात्र बोल्नु उचित हुन्छ। साथीबाट प्रशंसा हुनेछ।