जोडिनुहोस

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ। तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ ।

तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘उकालो र उरालो भूभागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ’, उनले भने, ‘पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।’

समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको तुवाचुङ–जायजुम भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ । आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली श्रृङ्खलाहरू टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीय स्थलमा निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको हो ।

तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् ।

तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीभन्दा केही माथि पर्ने तुवाचुङ–जायजुममा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, बसाहागुफा अगाडि माङ्खिम घर निर्माणलका लागि सङ्घीय सरकारको लगानीमा पाँच करोड ८२ लाखमा ठेक्का लागेको थियो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकै पर्ने मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङ–जायजुम प्रवेशद्वारमा ६० लाख लगानीमा दुईतले (दुईपाङ्ग्रे सवारीसाधनलाई भूइँतलामा तथा चारपाङ्ग्रे सवारीसाधनलाई माथिल्लो तलामा राख्नेगरी) पार्किङस्थल निर्माण गरिरहेको छ ।

तुवाचुङ–जायजुम ऐतिहासिकस्थल भएकाले निर्माणाधीन तुवाचुङ मिनी ग्रेटवालमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि ३० लाख तथा गार्डेन (बगैँचा) सहितको किरात सांस्कृतिक घर निर्माणका लागि २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिइन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीका अवसरमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् ।

सरकारले निर्धारण गरेको एक सय वटा गन्तव्यअन्तर्गत मन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमको जमिन भिरालो हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम हुने भएकाले ढुङ्गाको पर्खाल लगाएर पदमार्ग निर्माण गरिएको हो ।

केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ। जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।

शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।

केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए ।

आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्को चरणको तालिम दिइने प्रमुख आचार्यले बताए । यस्ता तालिममार्फत महिलालाई सीपयुक्त र आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रशिक्षक गोमा अम्गाईँले केराको थम्बाबाट रेशा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाएकी थिइन् ।

उनले गाउँघरमा प्रशस्त पाइने केराको थम्बाबाट कपडालगायत धेरै किसिमका सामग्री बनाउन सकिने र उपयोगी पनि हुने बताए ।

शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सीप सिकेका छन् । सीपलाई यहाँका महिलाले उपयोग गर्न सकेमा आर्थिक रूपमा सबल बन्न सहयोग पुग्नेछ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा महिला उद्यमी सङ्घ शुक्लागण्डकी एकाइले आयोजना गरेको हो ।

महिला उद्यमी सङ्घ शुक्लागण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खानमात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताए ।

तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताए ।

केराको रेशाबाट सामग्री बनाउन एक हप्ताको तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ । महिलाले कच्चा पदार्थ र सीपको उपयोग गर्नसके आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धनुषाधाम ‘विद्युत् चोरीमुक्त नगरपालिका’ घोषणा

काठमाडौं। धनुषा जिल्लास्थित धनुषाधाम ‘विद्युत् चोरीमुक्त नगरपालिका’ घोषित भएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन्‌ ।

कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ ।

ऊर्जामापक यन्त्र (मिटर)मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युतको लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पु¥याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउलेलगायतका कार्य गरेमा विद्युत् चोरीको कसूर गरेको मानिने कानूनी व्यवस्था छ । चोरीमार्फत अनाधिकृत र असुरक्षित रूपमा विद्युत्को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।

प्राधिकरणले विद्युत्को पहुँच विस्तार र अनाधिकृत रूपमा हुने विद्युत् प्रयोगलाई रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ ।

मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गर्दैआएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउनेछन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।

धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत चोरी सामाजिक अवराध भएकाले यसको नियन्त्रणका लागि प्राधिकरणकातर्फ गर्नुपर्ने प्राविधिक कामहरूलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइएको बताए ।

घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरूलाई विद्युत् पुर्याउन पहाडको टुप्पोदेखि मधेशका फाँट, कर्णाली र सुदूरपश्चिमका विकट बस्तीहरूमा विद्युतीकरणको अन्तिम चरणका काम चलिरहेको बताए ।

‘उज्यालो अभियानअन्तर्गत देशभित्र विद्युत खपत बढाउन विद्युत् पुगका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन र नपुगेका विकट ठाउँमा विद्युत् पु¥याउन प्राथमिकताकासाथ काम गरिरहेका छौं, कर्मचारीलाई तलब नखुवाएरै भएपनि घरघरमा विद्युत् पुर्याउने छौं’, घिसिङले भने ।

‘नेपालको खाद्यान्य भण्डारको रूपमा रहेको तराईका खेत खेतमा विद्युत् पु¥याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ, यसका लागि स्थानीय तहहरूसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौँ ।’

उहाँले कृषि र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरूमा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण लागि करिब ४० अर्ब रुपैयाँ लगानीका विभिन्न आयोजनाहरूको काम भइरहेको उल्लेख गरे ।

सिँचाइ र ग्राहस्थतर्फको विद्युतीकरणमा धेरै काम भएको उल्लेख गर्दै नगरपालिका प्रमुख मण्डलले खाना पकाउने ग्याँसलाई विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गरिनुपर्ने बताए । कार्यक्रममा विद्युत् चोरी सामाजिक अपराध भएको सन्देश दिने नाटक प्रस्तुत गरिएको थियो ।

मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०८१÷८२को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४.२० प्रतिशत छ । चालू आवमा मधेश प्रदेशको विद्युत् चुहावट ११.९ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको जनाएको छ ।

प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिइ सोहीअनुसार क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । आठ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन। चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ ६ लेन र बाइपास सडकका मुख्य ६ स्थानमा लाइट जडान गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ ।

शाखाका प्रमुख राकेश महर्जनका अनुसार ६ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ ।

शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनको भनाइ छ ।

भरतपुरमा मात्र एक करोड ५० लाखको हाराहारीमा खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच÷पाँच स्थानमा लाइट जडान गरेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिलागरी काम हुन लागेको उनको भनाइ छ ।

लाइट जडानपछि सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको दाहालले बताइन् ।

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयोः महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फिँजाउने काम भइरहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त विधेयक सामाजिक सञ्जालको नियमन तथा दुरुपयोग र साइबर अपराध रोक्न ल्याइएको स्पष्ट पार्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजियो भन्दै भ्रम छर्ने काम भएको उल्लेख गरेका छन् ।

विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य भएको टिप्पणी गर्दै पोखरेलले यस्ता कुराप्रति नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलले विधेयकमा केही अस्पष्‍टता र सुधार गर्नु पर्ने देखिए संसद्ले सुधार गर्न सक्ने बताएका छन् ।

उनले साइबर अपराध इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगगरी गरिने विश्वव्यापी रुपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध रहेको भन्दै त्यस्ता गतिविधिको नियन्त्रण आवश्यक मात्र नभइ अपरिहार्य विषय रहेको जनाएका छन् ।

कालीगण्डकी करिडोरः मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण

म्याग्दी। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङमा मोटर चल्ने थप तीनवटा पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका– २ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेको जानकारी दिए । उनका अनुसार मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताए ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् ।

विसं २०७३–०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

बेँसीसहर–चामे सडकः खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

लमजुङ। बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।

सङ्घीय सरकारको १६ करोड ४८ लाख रुपैयाँमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द भएको बताए ।

भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ । यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ । सडकको हालसम्म जम्मा ३२ प्रतिशतमात्र प्रगति भएको विष्टले बताए । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ । अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने उनको भनाइ छ ।

पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए ।

विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन् । बेँसीसहर–६ का वडाध्यक्ष प्रकाश थापाले हिँड्दाहिँड्दै पहिरो खस्ने जोखिम रहेको भन्दै अझ बर्खायाममा बढी समस्या हुने बताए । पहिरोभन्दा माथि २४–२५ परिवार रहेको फाँटगाउँ छ । पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ ।

कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरिएकोमा १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो । सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो । तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो ।

विसं २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदैआएको छ । सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो ।

माधवनारायणका व्रतालु चाँगुनारायणको परदेश यात्रामा

काठमाडौं। काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका व्रतालु शनिबार बेलुका चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।

माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ ।

परदेश यात्रा सकेर व्रतालु चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । आइतबार साँखु फर्कने व्रतालुले त्यहीँ भोजन गर्न पाउनेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाइएको थियो ।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो ।

परदेशमा भोजन गर्ने स्थान
परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा व्रतालुले चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए । परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि छ ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

शुकरबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९६० मा किनबेच भइरहेको छ ।

आइतबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ९० पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपियाँ ८४ पैसा र बिक्रीदर १७४ रुपियाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ९१ पैसा र बिक्रीदर १५४ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७० पैसा र बिक्रीदर ८८ रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४३ पैसा र बिक्रीदर ९७ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३३ पैसा र बिक्रीदर १०३ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १५ पैसा र बिक्रीदर चार रुपियाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०१ पैसा र बिक्रीदर ३८ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्री दर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८३ पैसा र बिक्रीदर १२ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९२ पैसा र बिक्रीदर १८ रुपियाँ, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ २७ पैसा र बिक्रीदर ४५४ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २७ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपियाँ १२ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मेक्सिकोमा बस र ट्रक एकआपसमा ठोक्कियो, ४१ जनाको मृत्यु

काठमाडौं । दक्षिण मेक्सिकोमा भएको बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्य सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना हुँदा बसमा ४८ यात्रु सवार थिए ।

दुर्घटनामा बसमा रहेका ४० र ट्रक चालक गरी ४१ जनाको मृत्यु भएको जनाइएको छ ।

रोयटर्सको भिडियोमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाइ छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको टाबास्को राज्य सरकारका अधिकारीहरूले जनाएका छन् ।

तस्विरमा, न्यूरोडको नयाँ रुप

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो । न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ ।