जोडिनुहोस

विपिन रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं। हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा. राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।

हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी छन् । इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरह्की छन् ।

केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए ।

जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसंघ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छन् ।

सिन्धुलीमा यात्रुवाहक इलेक्ट्रिक गाडी दुर्घटना, चालकको मृत्यु, ५ जना घाइते

सिन्धुली। सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक शुक्रबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारकाक्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सिन्धुलीका प्रहरीका अनुसार गाडी सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको छ । घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राती गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल

मेष
आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।

वृष
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

मिथुन
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।

कर्कट
रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।

सिंह
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन ।

कन्या
मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ ।

धनु
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।

मकर
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।

कुम्भ
मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।

मीन
बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको आदेश

एजेन्सी। इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताएका छन्।

‘मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु’, उनले एक विज्ञप्तिमा भने ।

उनी सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जो कोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको स्पष्ट पारे।

‘यस योजनामा भूमि नाकाहरू मार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाई मार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्’, काट्जले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूको आलोचना र उनको प्रशासनद्वारा ती टिप्पणीहरूलाई फिर्ता लिने प्रयासहरू निम्त्याएको थियो ।

काट्जले ‘गाजाको ठूलो जनसङ्ख्यालाई विश्वभरका विभिन्न स्थानहरूमा पुनस्र्थापित गर्न सक्ने ट्रम्पको साहसी योजनालाई’ स्वागत गरेको बताए ।

यो योजनाले छोड्न चाहने गाजवासीहरूलाई ‘आश्रयदाता देशहरूमा उत्कृष्ट रूपमा एकीकृत हुन र साथै निःशस्त्रीकृत, खतरामुक्त गाजाको पुनर्निर्माण कार्यक्रमहरूको प्रगतिलाई सहज बनाउन’ मद्दत गर्न सक्ने उनले बताए।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले काट्जको कदमको प्रशंसा गरेका छन् ।

‘आप्रवासन योजनामा हाम्रो भूमिकाको कार्यान्वयनका लागि तयारी गर्न र गाजालाई प्राप्त गर्ने देशहरूमा प्रस्थान गर्न सजिलो बनाउन निर्देशन दिने रक्षामन्त्रीको निर्णयलाई म स्वागत गर्दछु’, स्मोट्रिचले विज्ञप्तिमा भने ।

अमेरिकी सरकारी जहाजहरूले अब शुल्क बिना पनामा नहरमा यात्रा गर्न पाउने

एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा दबाबपछि संयुक्त राज्य अमेरिकाले बुधबार आफ्ना सरकारी जहाजहरू पनामा नहरमा निःशुल्क यात्रा गर्न सक्ने बताएको छ ।

‘अमेरिकी सरकारी जहाजहरूले अब शुल्क बिना पनामा नहर पार गर्न सक्छन्, यसबाट अमेरिकी सरकारलाई एक वर्षमा लाखौँ डलर बचत हुनेछ’, विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संकेत गरेको प्रतिज्ञाहरूको यो पहिलो सार्वजनिक घोषणा थियो । उनले पनामाले आइतबार आफ्नो वार्ताका क्रममा सहुलियत प्रस्ताव गरेको बताएका छन् ।

एटलान्टिक र प्रशान्त महासागरबीचको महत्त्वपूर्ण लिंक यस नहर सञ्चालन गर्ने निकाय पनामा नहर प्राधिकरणले कुनै सम्झौता नभएको बताएको छ ।

‘नहर पारगमनका लागि शुल्क र अन्य दस्तुर तोक्न अधिकार प्राप्त पनामा नहर प्राधिकरणले तिनमा कुनै समायोजन नगरेको जानकारी गराउँछ’, एजेन्सीले एक विज्ञप्तिमा भनेको छ ।

प्राधिकरणले अमेरिकी अधिकारीहरूसँग संवाद गर्न अझै तयार रहेको बताएको छ ।

विदेशमन्त्री रुबियोले पनामालाई संयुक्त राज्य अमेरिकाले महत्त्वपूर्ण जलमार्गको रक्षा गर्ने स्थितिमा रहेर पनि यसको प्रयोगका लागि शुल्क तिर्नु पर्ने अवस्था अनुचित रहेको बताएका थिए ।

अमेरिकी सरकारी जहाजहरू – जो मुख्यतया नौसेनाका हुन्छन् – नहर भएर जाने जहाजहरूको सानो हिस्सा मात्र हुन् । विमानवाहक जहाजहरू नहर भएर जान अति ठूला हुन्छन् र तिनले म्यागेलनको जलडमरूमध्य हुँदै दक्षिण अमेरिका वरिपरिको लामो यात्रा गर्नुपर्छ ।

कांग्रेसको प्रतिक्रिया– फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन्

काठमाडौं। प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरेका छ ।

संसद् बैठकमा दलीय प्रतिनिधित्व गर्दै विशेष समयअन्तर्गत बोल्ने क्रममा कांग्रेसका प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ । आफूभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यो परिस्थिति समाप्त भएकाले धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ ।’

सांसद महतले कांग्रेससँगको अघिल्लो गठबन्धन भत्काएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्रीका हैसियतमा प्रचण्डले दिएको अभिव्यक्तिसमेत स्मरण गराए ।

‘नेपाली कांग्रेससँगको गठबन्धन छाड्नु भयो । त्यसबेला आर्थिक स्थिति मैले भनेजस्तो भएन, अर्थमन्त्रीले सहयोग गरेन भन्ने जस्तो अभिव्यक्ति दिनुभयो,’ महतले भने, ‘तर, आज फेरि उहाँले त्यसबेला एक–एक गरेर धेरै उपलब्धि भएका थिए, मेरै नेतृत्वको सरकारले गरको भनेर दोहोर्याउनुभयो ।’

तत्कालीन अर्थमन्त्री रहेका सांसद महतले कांग्रेस र माओवादी गठबन्धनको सरकारको बेला आर्थिक मन्दीको अवस्था रहेको बताए । ‘त्यो अवस्थाबाट जुन आर्थिक रुपमा अगाडि बढाउने हामीले सशक्त कोसिस ग¥यौँ,’ उनले भने, ‘त्यसमा हाम्रो सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यो उहाँ (प्रचण्ड)ले बुझ्नु पर्दछ ।’

महतले माओवादी अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा कांग्रेसकाप्रति गरेको टिप्पणीलाई आफ्नो पार्टीले अस्वाभाविक रुपमा नलिएको पनि स्पष्ट पारे । ‘प्रतिपक्षीले सत्तापक्षलाई आलोचना गर्छन्, हामीले अस्वाभाविक रुपमा लिएका छैनौँ,’ उनले भने ।

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटी रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

बिहीबार न्यायाशीध दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो

चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका थिए ।

जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

त्यस्तै जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरे भने रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू डा. नारायणदत्त कंडेल र रामाचन्द्र देवकोटाले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालय चितवनले मङ्गलबार रविसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

दर्ता गरिएको मुद्दामा प्रतिवादीहरूमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचत सहित छ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका छन् ।

मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जीवि राई भन्ने जितेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त बाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन माग दाबी गरिएको विश्वकर्माले जानकारी दिए । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका वखत पुनःपुरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।

नेप्से परिसूचकमा ११.६४ अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ को कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् ।

फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन् । आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

शेरा दरबार प्रकरणको अनुसन्धान आफूबाट सुरु गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान शुरु गर्न आग्रह गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नुवाकोटाको शेरा दरबारलाई अहिले चर्चामा ल्याइएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको आफूले बुझेको पनि बताए ।

उनले कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ की भनेर सरकार लागेको आरोप लगाए ।

उनले भने– ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट शुरु गरौं । ’

दुई प्रतिष्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाए ।

संसदबाट रविलाई निलम्वन गर्नु हुँदैनः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका हुन् ।

उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए ।

उनले भने– ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतहरुले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ? सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, अपराधपूर्ण छ ।’

उनले विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरुले आज न्यायपालिकालाई धम्क्याएर डाइछाड्ने षड्यन्त्रमा लागेको बताए ।

उनले सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभइ अपराधपूर्ण रहेको बताए । अध्यक्ष दाहालले प्रतिशोध लिने कुरामा सरकार बलियो देखिएको बताए ।

नेदरल्याण्ड्ससँग थाइल्याण्ड एक विकटले पराजित

काठमाडौं। राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग थाइल्याण्डलाई एक विकटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा थाइल्याण्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले ४२ बलमा दुई चौका प्रहार गरिन् । त्यस्तै रोबिन रिकेले २१ बलमा एक चौकाको सहयोगमा २० रन बनाइन् । स्टेर कालिसले १२ बलमा १४ रन जोडिन् ।

थाइल्याण्डका लागि थिपाच्चा पुथावोङले चार, ओनिचा कामचोम्फुले तीन र फनिता मायाले दुई विकेट लिएका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रनको मध्यम योगफल बनाएको थियो ।

थाइल्याण्डका लागि नान्नाफाट चैहान नटआउट रहँदै सर्वाधिक ३६ रन बनाइन् । उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरिन् ।

चानिदा सुत्थीरुआङ्गले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन जोडिन् । कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोडिन भने सुवानान खियाओतोले नटआउट रहँदै १० रन जोडिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले तीन र हेटर सिगर्सले दुई विकेट लिइन् । नेदरल्याण्ड्सले यस सिरिजमा थाइल्याण्डलाई पहिलो पटक पराजित गरेको हो ।

यो जितसँगै नेदरल्याण्ड्स र थाइल्याण्ड दुवैको उपाधि जित्ने सम्भावना कायम छ । नेदरल्यान्ड्सले छ खेलमा आठ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको थाइल्याण्डको पनि पाँच खेलबाट समान आठ अङ्क छ ।

नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागी टोलीले एक अर्कासँग समान तीन पटक खेल्नेछन् । जसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । उक्त सिरिजको अन्तिम खेल भोलि हुनेछ । अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ ।