जोडिनुहोस

संसदमा सुमनाको आग्रह– पैलेरै विधेयक अघि बढाउने काम नगरौँ

काठमाडौं। रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका विषयलाई सरकारले सुन्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा सांसद श्रेष्ठले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति युवाहरूमा आशङ्का पैदा भएकाले राज्यले युवाहरूको धारणा सुन्नुपर्ने बताएकी हुन् ।

यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्न उनले सरकारलाई सुझाव दिइन् । पैलेरै विधेयक अघि बढाउने काम नगर्न उनले आग्रह गरिन् ।

उनले सर्वपक्षीय छलफल नगरी विधेयक ल्याइएको भन्दै सबैको आवाज सुन्नुपर्ने जिकिर गरिन् ।

चित्रबहादुरको प्रश्न– समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद् बोलाउन कसले छेकेको थियो ? भन्दै प्रश्न गरे।

‘समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र ? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद् नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक सङ्ख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ । तर, उक्त पार्टीले निःशर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

जुम्लामा हिउँदे वर्षा नहुँदा किसान समस्यामा

जुम्ला। जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेकाछन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका– १ का स्थानीयवासी जय बुढाले जानकारी दिए ।

गाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएकाछन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ ।

यस याममा विशेषगरी स्याउका नयाँ विरुवा लगाउने समय होे । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती उनको भनाइ छ ।

जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्ला बारीमै सुक्न थालेपछि जिल्ल्लाका कृषक चिन्तित बनेकाछन् । विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रस आउने यहाँका किसानको भनाइ छ ।

विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकोले उब्जनीमा समेत कमी भएको छ । सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंग बहादुर बस्नेतले बताए ।

जिल्ला भर कुल दुई लाख ५३ हजार एकसय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार चार सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ ।

सिँचाइ गर्ने योग्य जमिन तीन हजार छ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।

जिल्लाको कुल क्षेत्रफल मध्ये १५ दशमलव २१ प्रतिशत खेती योग्य जमिन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।

खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार ४४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताए । यसपालि हिउँदमा वर्षा नहुँदा देशभर कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने देखिन्छ ।

विकासलाई धर्म भन्दा माथी राखेर हेर्न आवश्यकः चन्द्र ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आइटी तथा स्र्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकुल नीतिगत सुधारका लागि सरकारसंग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

“नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ ।” उनले भने ।

क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताए ।

सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए ।

पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उनले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।

माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाकी रहेको बताए ।

उनले यस क्षेत्रमा नीजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजि क्षेत्रसङ सहकार्य गरेर काम गर्ने वताए ।

आइटिलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको बताए ।

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौं। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।

एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ ।

तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।

धनगढीमा जागरण भेला गर्दै भीम रावल, हजारौँले साथ दिने दाबी

काठमाडौं। मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले धनगढीमा जागरण भेला गर्ने भएका छन् ।

नेकपा एमालेबाट निष्कासित आफ्नै अभियान सञ्चालन गरेका रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका हुन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो

काठमाडौं। सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरूले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरूले सर्लाहीको घटनामा ध्यानाकर्षण गराएका हुन् ।

उहाँहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भने । अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन नभएकामा सांसदहरूको आपत्ति थियो । यस विषयमा सांसद शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राखेका थिए ।

आकस्मिक समयमा सांसद सुमना श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा सामाजिक सञ्जालमा विरोध सुरु भएको बताइन् ।

अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्टाउने सीमामा गुडेका छन् ।

मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भ¥याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।

यो घटना ट्रम्पले मेक्सिकोमाथि कठोर भन्सार लगाउने कुरालाई कम्तीमा एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेपछिको अशान्त हप्तापछि आएको हो । बदलामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण गर्न र फेन्टानिल तस्करी विरुद्ध कारबाही गर्न देशको नेशनल गार्ड पठाउने वाचा गरे।

गत वर्ष आप्रवासनको स्तर र फेन्टानिलको मात्रा उल्लेखनीय रूपमा घटेको भए पनि ट्रम्पले सीमामा आपत्काल घोषणा गरेका छन्। अमेरिकाले बदलामा मेक्सिकोमा कार्टेल हिंसालाई बढावा दिन अमेरिकी हतियारहरूको तस्करी रोक्न थप काम गर्ने बताएको छ । यो हिंसा आपराधिक समूहहरूले लाभदायक आप्रवासी तस्करी उद्योगको नियन्त्रणका लागि लड्दै गर्दा देशका अन्य भागहरूमा फैलिएको छ ।

मंगलबार ती सेनामध्ये पहिलो समूह सरकारी विमानहरूबाट बाहिर निस्केर सीमावर्ती सहरहरूमा आइपुग्यो । बुधबार गस्तीमा रहेका गार्ड सदस्यहरूले उनीहरू नयाँ बलको हिस्सा भएको पुष्टि गरे ।

सरकारी आँकडा अनुसार सिउडाड जुआरेजमा कम्तीमा एक हजार छ सय ५० सैनिक पठाइने अपेक्षा गरिएको छ । यसलाई देशको सीमा सुदृढीकरणको सबैभन्दा ठूलो प्राप्तकर्ताहरू मध्ये एक बनाएको छ । तिजुआना पछि दोस्रो, जहाँ एक हजार नौ सय ४९ सैनिक पठाइने योजना छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको ल्याटिन अमेरिका भ्रमणका क्रममा मेक्सिको सरकारको विज्ञप्ति अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञले सैन्य बल पठाएकामा मेक्सिको सरकारलाई धन्यवाद दिए। विदेशमन्त्रीको भ्रमणमा आप्रवासन मुख्य एजेन्डामा थियो ।

सेनबामको वार्तालाई पर्यवेक्षकहरूले नवनिर्वाचित मेक्सिकाली नेताको चतुर राजनीतिक चालको रूपमा हेरेका थिए ।

धेरैले पहिले नै उनको पूर्ववर्ती र सहयोगी, पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर जस्तै प्रभावकारी ढंगले ट्रम्पको राष्ट्रपति कार्यकालमा काम गर्न सक्षम हुनेमा आशंका गरेका थिए ।

सेनाको गोली लागेर जंगली हात्तीको मृत्यु

चितवन। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर जंगली हात्ती मकुना मरेको छ ।

बुधबार हाती ‘स्वीप’ गस्ती टोलीले स्वीपिङ गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनभित्रको लामिताल इलाकामा मकुनासँग अकस्मात भेट भएको थियो । सो क्रममा मकुनाले घरपालुवा हात्ती चुरेगजलाई सीधै आक्रमण गर्न आएपछि सेनाले दुई राउन्ड ‘वार्निङ’ हवाई फायर गरेको थियो । त्यसपछि पनि मकुना नभागेर पुनः आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेन्जर श्याम तामाङ खसेपछि ज्यान जोगाउन सेनाले थप तीन राउन्ड गोली चलाएको थियो ।

केही पर भागेर पुनः आक्रमण गर्न आउँदा सेनाले अर्को एक राउन्ड गोली प्रहार गरेपछि भागेको मकुना एक किलोमिटर पर ढलेको अवस्थामा फेला परेको थियो । गस्ती टोली तत्काल उठाउन खोज्दा नउठेपछि पशु चिकित्सक सहितको प्राविधिक टोलीले दिउँसो ३ः३० बजे हात्तीलाई मृत घोषणा गरेको हो।

पोस्टमोर्टम रिपोर्टमा हात्तीको दाहिनेतर्फको घाँटीमा एक राउन्ड गोली लागेको उल्लेख छ ।

फिलिपिन्सका उपराष्ट्रपतिबिरुद्ध महाभियोग

एजेन्सी। फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेलाई बुधवार प्रतिनिधि सभाले महाभियोग लगाएको छ । हाउसले २१५ हस्ताक्षरहरू प्राप्त गरेको छ ।

जुन डुटेर्टेलाई महाभियोग लगाउन आवश्यक पर्ने सदन सदस्यताको एक तिहाइ भन्दा बढी हो ।

जसले गर्दा प्रक्रियालाई सिनेटमा पु¥याइएको हो । संविधान अन्तर्गत सिनेटसँग महाभियोगका सबै मुद्दाहरूको प्रयास गर्ने र निर्णय गर्ने एकमात्र अधिकार छ ।

जसमा सिनेटरहरू न्यायाधीशहरू हुन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले मुद्दाको अध्यक्षता गर्छन् ।

अध्यादेश पास गर्न उपेन्द्रले खोजे गृह र स्वास्थ्य मन्त्रालयमध्ये एक, विकल्पमा मधेशको मुख्यमन्त्री

काठमडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

गत पुसमा जारी गरिएका ६ वटा अध्यादेश पारितका लागि सरकार रस्साकस्सीमा रहेका बेला यादवले सांसद राजकिशोर यादवसहित दुई नेतालाई भेटेका हुन् ।

भेटका क्रममा पुसमा जारी गरिएका ६ वटा अध्यादेशका सन्दर्भमा कुराकानी भएको यादवनिकट एक नेताले बताएका छन् ।

यादवले भूमिसम्बन्धी अध्यादेश, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी र अन्य केही अध्यादेशमा संशोधन गर्नुपर्ने अडान दुई नेतासँग राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताका अनुसार यादवले भेटमा प्रधानमन्त्री र कांग्रेस सभापतिलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय मध्ये एक मागेको दाबी गरेका छन् ।

यदि यी दुईमध्ये एक मन्त्रालय नदिने भए मधेस प्रदेशको मुख्यमन्त्री मागेको प्रधानमन्त्री ओलीनिकट ती नेताले बताएका छन् । अहिले मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ ।

‘केन्द्रमा नमिले मधेस सरकारको नेतृत्व गर्छौं भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री र सभापतिले मिलाएर जाने कुरा गर्नुभएको छ । सरकारमा यात्रा गर्ने इच्छा गर्नुभएको छ ।’

तर, यो कुरा जसपा प्रवक्ता मनिष सुमन मान्न तयार छैनन् । अहिले मन्त्रालय र सरकार आफ्नो प्राथमिकतामा नभएकाले सरकारमा जान आफूहरूले बार्गेनिङ नगरेको उनले बताएका छन् ।

‘संघीय सरकारका मन्त्रालय र मुख्यमन्त्री पद हाम्रो प्राथमिकतामा छैन । हामीले अन्य मागस्वरुप जनतामा एजेन्डाहरू राखेका छौँ,’ सुमनले भने, ‘अध्यादेशको सन्दर्भमा पनि बुँदागत रूपमा संशोधन गर्नुपर्ने कुरा बुझाएका छौँ । हामी सरकारमा जान लालायित छैन ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस–एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् । जसपाका तीन सांसद राष्ट्रियसभामा छन् ।

राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग अहिले बहुमत छैन । यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय गराएका छैनन् । राजकिशोर यादव नेतृतवको कार्यदलले प्रतिवेदन बुझाए पनि जसपाले सत्ता र विपक्षी दुवै गठबन्धनसँग बार्गेनिङ जारी राखेको छ।

त्यहीकारण बिहीबार बस्ने संघीय संसद्का दुवै सदनमा ती ६ वटा अध्यादेश सरकारले पेश गरे । राष्ट्रियसभामा फेल हुने भएपछि प्रतिनिधिसभा पनि पेश गर्ने कार्यसूचीबाट हटाइएको हो ।

बिहान ९ बजे बुझाउने भनिएको प्रतिवेदन नै राजकिशोरको कार्यदलले दिउँसो १ बजे बुझाएको छ। जसपाले निर्णयमा ढिलाइ गरेकाले अध्यादेश दुवै सदनमा अघि नबढाइएको हो ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका छन् ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास थालेको छ। प्रचण्डले सम्वाद गरेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ।

संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् ।

आज बस्ने दुवै सदनको बैठकमा अध्यादेशहरू निर्माणार्थ पेस गर्ने कार्यसूची थियो । तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।

राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्माणार्थ पेस नहुने एक नेताले बताए ।