जोडिनुहोस

पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

दाङ। पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

१५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए ।

‘अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्न सकिन्छ, उनले भने, ‘छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुनेछ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।’ अहिले पनि कहिलेकाहीँ दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको पुनले बताए ।

छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् ।

मुलुकमा तीन ’गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौंको उत्तरी भूभागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिँडी बनाइएको छ ।

यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।

नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ ।

पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ ।

झाडी फाँडेर सुन्तला बगान

म्याग्दी। कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैँचा बनाउने सोच आयो ।

बेनीमा पोल्ट्रि र घरजग्गा व्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने ‘काम गर्दा गर्दै सुन्तला बगैँचा पो भयो ।’

रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु। तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए।

‘यसपाली १५ लाखको सुन्तला बिक्री भयो,’ उनले भने ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैँचा किनेर फार्म विस्तार गरेको छु ।’

दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि व्यवसायमा जोडिएको विकासले बताए। उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ ।

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए। काठमाडौँको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए।

घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ कृषकहरूका लागि उदाहरणको पात्र बनेका छन् ।

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरू फर्किएर सुन्तला खेती गर्न थालेका बताए।

‘विकासले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याएका छन् । उनको सिको गरेर बजार झरेकाहरू गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।’

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरू बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए। विकासको सुन्तला बगैँचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा व्यवसायीहरू आउने गरेका छन् । उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैँचाको बिच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।

समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

गत वर्ष ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु। एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए।

भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि…

भक्तपुर। भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।

नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब उक्त क्षेत्रमा प्रवश गरे, यिनै दृश्यले उनको नजर तान्यो ।

उनले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गरे । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले ।

नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुगेका उनले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूवर्क यहाँका कलाकृति अवलोकन गरे ।

एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनुभयो । अधिराजकुमार एडवार्डले एकेडेमीको कार्यको प्रशंसा गरे ।

अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबार स्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराएका थिए । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुगेका थिए । उनले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण गरे ।

बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को अवलोकन गरिन्। अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर पुगेका थिए । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोकन गरेका थिए ।

मङ्गलबार नेपाल आउनुभएका उनीहरु काठमाडौंस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट ८ मुद्दा दायर

वीरगञ्ज। राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दा संख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘कार्यालयले चालु आवको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावट मुद्दा मागदाबी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’ उनले भने ,‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’

कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । जबकी गत आवको ६ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।

कार्यालयले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ ।

कार्यालयले चालु वर्षको ६ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३५ लाख सङ्कलन गरेको थियो ।

एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन। चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर– १ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ ।

सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी। रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेको मङ्गला गाउँपालिका– ३ का किसान टेकबहादुर खड्काले बताए । उनले भने, ‘के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ, कोसा पसाएको छैन ।’ उनले चार रोपनीमा केराखेती गरेका छन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका– २ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । ‘छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन’, उनले भने । कृषि प्राविधिकहरूले पनि रोग पहिचान गर्न नसकेको उनको भनाइ छ ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोट लगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका– २ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुखेसो गरे ।

ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजितः राष्ट्रसंघका महासचिवले गरे विरोध

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा नियन्त्रणमा लिने प्रस्ताव गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले यसलाई अस्वीकार गरेका छन्।

आदिवासीलाई सफाया गर्ने कुनै पनि योजनामा राष्ट्र सङ्घ सरिक नहुने उनले बताएका छन्। उनले घुमाउरो भाषामा ट्रम्पको प्रस्तावको विरोध गरेका हुन्।

ट्रम्पको यो प्रस्तावले विश्व विभाजित हुने संकेत देखिएको छ। अमेरिकाको निकटस्थ देशले समेत ट्रम्पको यो प्रस्तावमा असहमति जनाएका छन्। बेलायतले प्यालेस्टाइनी आफ्नो भूमिमा बस्न पाउनुपर्ने बताउँदै आएको छ। इजिप्टले त्यहाँका मानिसलाई निकाला नगरेर गाजालाई फेरि विकास गर्नुपर्ने बताएको छ।

साउदी अरेबियाले प्यालेस्टाइनीलाई विस्थापित गर्ने योजनामा असहमति जनाएको छ।

जर्मनीले ट्रम्पको प्रस्तावले घृणा उत्पन्न गराएको बताएको छ भने फ्रान्सले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। इजरायलकै अति दक्षिणपन्थीले भने यस प्रस्तावको पक्षमा वकालत गरेका छन्।

अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले भने राष्ट्रपति ट्रम्पले गाजा खाली गराउनका लागि सबै विकल्पको अध्ययन गरिसकेको बताएका छन्।

यसैगरी, अमेरिकी विदेशमन्त्री मार्क रुवियोले ट्रम्पको गाजा खाली गर्ने योजना बन्दी रिहाइसँग जोडेर हेर्न नहुने कुरामा जोड दिएका छन्।

अर्थमन्त्री बेजालेल स्मोटरेचले हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको यो नै सही जवाफ भएको बताएका छन्।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

कमलपोखरीस्थित शानदार मम पसलमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

काठमाडौं। कमलपोखरीस्थित शानदार मम पसलमा आज बिहान ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।

बिहीबार बिहान ग्यास लिक भएर विस्फोट भएको नेपाल प्रहरीले जनाएका छन्।

कांग्रेस–एमालेद्वारा अध्यादेशको पक्षमा उभिन ह्विप जारी

काठमाडौं। राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो ।

बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ दल कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । एमालेका प्रमुख सचेतक भगवती न्यौपानेका अनुसार सांसदलाई ह्विप जारी गरिएको छ । ‘अध्यादेशको पक्षमा उभिन भनिएको छ,’ उनले भनिन्, ‘ह्विप जारी गरिएको छ ।’

गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । त्यसपछि, पुस २९ गते चार वटा र माघ २ गते थप एउटा अध्यादेश जारी गरियो । यी सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

सरकारले यी अध्यादेशहरू पारित गराउन कांग्रेस र एमालेको पूर्ण साथ रहने संकेत देखिएको छ । आजको बैठकमा ती अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि संसदीय बहसले महत्वपूर्ण मोड लिएको छ ।

रवि लामिछानेविरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट चितवन पठाइयो सरकारी वकिल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरूको टोली अझ बलियो बनाउने प्रयास गरिएको छ । चितवनको साहारा सहकारी ठगी मुद्दामा थुनछेक बहस भइरहँदा तीन जिल्लाका सरकारी वकिल झिकाइएको हो ।

चितवन जिल्ला अदालतमा जारी बहसलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरू झिकाइएका छन् । चितवनका जिल्ला न्यायधीवक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले उक्त मुद्दालाई थप मजबुत बनाउन भन्दै पर्साका जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला, धादिङका दशरथ पंगेनी र बाराका शम्भुकुमार बस्नेतलाई चितवन पठाएको छ ।

नेपाल सरकारको तर्फबाट बहसलाई मजबुत बनाउन र कानुनी पक्षलाई प्रस्ट्याउन अन्य जिल्लाका वकिलहरू झिकाइएको बताइन्छ । अदालतमा सहकारी पीडितको पक्षमा कानूनी लडाइँ लड्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमसहितका कानुन व्यवसायीहरू पनि सक्रिय छन् । उनीहरूले आजको बहसमा सहभागी हुने वकालतनामा दर्ता गराएका छन् ।

चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा जारी बहसको दोस्रो दिनमा जाहेरवालाका वकिलहरूले बहस गरिरहेका छन् । उक्त बहसपछि प्रतिवादी पक्षका ११ जना वकिलहरूले लामिछानेको पक्षमा तर्क प्रस्तुत गर्नेछन् ।

रविविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा

काठमाडौं। सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मंगलबार औपचारिक रूपमा मुद्दा दर्ता भएपछि, उनी बुधबार चितवन जिल्ला अदालतमा हाजिर भए । अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो, त्यसपश्चात् थुनछेक बहस सुरु गरिएको थियो ।

तर, बुधबार सुरु भएको बहस नसकिएपछि आज बिहान १० बजे पुनः सुनुवाइ सुरु भएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको बहसपछि सम्भवतः आजै यस मुद्दामा अदालतको फैसला आउने सम्भावना छ । यही सम्भावनालाई मध्यनजर गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ४ सय नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरी बललाई अदालत परिसर र आसपासका क्षेत्रहरूमा तैनाथ गरिएको छ । सम्भावित भीड तथा अप्रिय घटनालाई रोक्न सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

यो प्रकरणले राजनीतिक र सामाजिक वृत्तमा चासो बढाएको छ । रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा देशभर चासो बढिरहेको छ ।