जोडिनुहोस

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्ड

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेमार्फत नबोल्न सभामुखले बोलाएको बैठकमा आग्रह गरेका थिए ।

तर पाण्डेले तीन दिनअघि नै समय लिइएको भन्दै अध्यक्ष प्रचण्डले बोल्ने कुरामा अडान कायमै राखेको जानकारी गराएका थिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष प्रचण्डले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ । सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ।

सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।

यस्तै, आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन’ पेश गर्नेछन् ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेस गर्ने कार्यसूची छ ।

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिने सम्भावना कति?

हिरोसिमा बमभन्दा सयौँ गुणा बढी ऊर्जा निकाल्दै आकाशमा ठूलो विस्फोट । एउटा अन्धाधुन्ध चमक लगभग सूर्य जत्तिकै उज्यालो हुन्छ । धक्का तरङ्ग (सकवेभ) हरू माइलौँसम्म सबै कुरा समतल बनाउन पर्याप्त शक्तिशाली छन् ।

यो विनाशकारी सुनिन सक्छ तर भर्खरै पत्ता लागेको फुटबल मैदान जत्तिकै आकारको एक क्षुद्रग्रहले अब लगभग आठ वर्षमा पृथ्वीसँग ठक्कर खाने एक प्रतिशतभन्दा बढी सम्भावना छ।

यस्तो प्रभावले कहाँ ठक्कर खान्छ भन्ने आधारमा सहर–स्तरको विनाशको सम्भावना छ। वैज्ञानिकहरू अहिले नै आत्तिएका छैनन् तर उनीहरूले नजिकबाट हेरिरहेका छन्।

“यस विन्दुमा यो ‘धेरै ध्यान दिऔँ, यसलाई निरीक्षण गर्न सक्ने जति सबै साधनहरू जुटाऔँ’ भन्ने हो”, प्लानेटरी सोसाइटीका मुख्य वैज्ञानिक ब्रुस बेट्सले भने।

दुर्लभ खोज –

२०२४ वाईआर ४ नाम दिइएको यो क्षुद्रग्रह पहिलो पटक सन् २०२४ डिसेम्बर २७ मा चिलीको एल सोस वेधशालाले पत्ता लगाएको थियो। यसको चमकको आधारमा खगोलविद्हरूले यो १३० देखि ३०० फिट (४०–९० मिटर) चौडाइको बीचमा रहेको अनुमान गरेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका कार्यवाहक ग्रह सुरक्षा अधिकारी केली फास्टको डेस्कमा चिन्ताको विषयको रूपमा पुगेको थियो ।

“तपाईंले अवलोकनहरू प्राप्त गर्नुहुन्छ, तिनीहरू फेरि खस्छन् । यो एउटा वरिपरि रहन सक्ने क्षमता थियो जस्तो देखिन्छ”, उनले भने।

जोखिम मूल्याङ्कन बढ्दै गयो र जनवरी २९ मा विश्वव्यापी ग्रह सुरक्षा सहयोग अन्तर्राष्ट्रिय क्षुद्रग्रह चेतावनी नेटवर्क (आइएडब्लुएन) ले एक मेमो जारी गर्‍यो ।

नासाको जेट प्रोपल्सन प्रयोगशालाको पछिल्लो गणनाअनुसार क्षुद्रग्रहले सन् २०३२ डिसेम्बर २२ मा पृथ्वीमा ठक्कर दिने एक दशमलव छ प्रतिशत सम्भावना छ ।

यदि यसले ठक्कर दियो भने सम्भावित प्रभाव स्थलहरूमा पूर्वी प्रशान्त महासागर, उत्तरी दक्षिण अमेरिका, अटलान्टिक महासागर, अफ्रिका, अरब सागर र दक्षिण एसियामा समावेश रहेको आइएडब्लुएन मेमोले बताएको छ।

२०२४ वाईआर४ ले अत्यन्त दीर्घवृत्ताकार चार वर्षे कक्षा पछ्याउँछ र आन्तरिक ग्रहहरू हुँदै मङ्गल ग्रह पार गरेर बृहस्पतितर्फ जान्छ।

अहिलेका लागि यो पृथ्वीबाट टाढा जाँदैछ । यसको अर्को नजिकको पास सन् २०२८ सम्म आउने छैन।

“सम्भावना धेरै राम्रो छ कि यसले पृथ्वीमा मात्र प्रहार गर्दैन, तर आउँदो महिनादेखि केही वर्षहरूमा त्यो सम्भावना शून्यमा झर्नेछ”, बेट्सले भने।

सन् २००४ मा एपोफिससँग यस्तै परिदृश्य देखिएको थियो । उक्त क्षुद्रग्रहले सन् २०२९ मा पृथ्वीमा ठक्कर दिने दुई दशमलव सात प्रतिशत सम्भावना रहेको प्रारम्भिक अनुमान गरिएको थियो । थप अवलोकनहरूले प्रभावको सम्भावनालाई खारेज गरे ।

विनाशकारी क्षमता –

सबैभन्दा कुख्यात क्षुद्रग्रह प्रभाव छ करोड ६० लाख वर्ष पहिले भएको थियो। त्यतिबेला छ माइल चौडा अन्तरिक्ष चट्टानले विश्वव्यापी जाडो निम्त्याएर डायनासोर र ७५ प्रतिशत सबै प्रजातिको विनाश गरेको थियो।

यसको विपरीत २०२४ वाईआर४ ‘सहर विनाशक’ श्रेणीमा पर्छ।

“यदि तपाईं यसलाई पेरिस वा लन्डन वा न्युयोर्कमा राख्नुहुन्छ भने तपाईंले आधारभूत रूपमा पूरै सहर र केही वरिपरिका क्षेत्रहरू नष्ट गर्नुहुन्छ”, बेट्सले भने

सबैभन्दा राम्रो आधुनिक तुलना १९०८ टुङ्गुस्का घटना हो, जब ३०–५० मिटरको क्षुद्रग्रह वा धूमकेतुको टुक्रा साइबेरियामा विस्फोट भयो, ७७० वर्गमाइल (दुई हजार वर्गकिलोमिटर)मा आठ करोड रुखहरू ढालेको थियो।

त्यो प्रभावकर्ता जस्तै २०२४ वाईआर४ पनि जमिनमा क्रेटर (खाडल) छोड्नुको सट्टा आकाशमै विस्फोट हुने अपेक्षा गरिएको छ।

“हामी द्रव्यमान र गतिको प्रयोग गरेर ऊर्जाको गणना गर्न सक्छौँ”, जोन्स हप्किन्स एप्लाइड फिजिक्स प्रयोगशालाका ग्रह खगोलशास्त्री एन्ड्र्यु रिभकिनले भने।

२०२४ वाईआर४ का लागि हवाई विस्फोटबाट हुने विस्फोट लगभग आठ मेगाटन टिएनटी बराबर हुनेछ। हिरोसिमा बमको शक्तिभन्दा पाँच सय गुणा बढी हो।

यदि यो महासागरमाथि विस्फोट भयो भने तटीय क्षेत्र नजिक भएर सुनामी निम्त्याउने अवस्थामा बाहेक प्रभाव कम चिन्ताजनक हुनेछ ।

हामी यसलाई रोक्न सक्छौँ?

राम्रो खबर, विशेषज्ञहरूले ‘हामीसँग तयारी गर्न प्रशस्त समय’ भएकामा जोड दिएका छन् ।

रिभकिनले नासाको २०२२ डिएआरटी मिसनको अनुसन्धानको नेतृत्व गरेका छन्। उक्त मिसनले एक अन्तरिक्षयान प्रयोग गरेर क्षुद्रग्रहलाई सफलतापूर्वक आफ्नो मार्गबाट विचलित गरेको थियो। यो एउटा यस्तो रणनीति हो जसलाई ‘काइनेटिक इम्प्याक्टर’ भनिन्छ ।

लक्षित क्षुद्रग्रहले पृथ्वीलाई कुनै खतरा नपु¥याएकाले यो एक आदर्श परीक्षण विषय थियो ।

“यसले फेरि किन काम नगर्ला भन्ने म बुझ्दिनँ”, रिभकिनले भने। ठूलो प्रश्न के हो भने यदि उनीहरूको आफ्नै क्षेत्र खतरामा छैन भने प्रमुख राष्ट्रहरूले यस्तो मिसनलाई कोष प्रदान गर्छन् कि गर्दैनन् ।

    अन्य बढी प्रयोगात्मक विचारहरू अवस्थित छन् ।

लेजरहरूले क्षुद्रग्रहको केही भागलाई वाष्पीकरण गरेर थ्रस्ट प्रभाव सिर्जना गर्न सक्छन्, जसले यसलाई मार्गबाट बाहिर धकेल्छ । एउटा ‘गुरुत्वाकर्षण ट्र्याक्टर’ (एउटा ठूलो अन्तरिक्ष यान जसले विस्तारै आफ्नो गुरुत्वाकर्षण खिचाइको प्रयोग गरेर क्षुद्रग्रहलाई टाढा लैजान्छ) को पनि सिद्धान्तीकरण गरिएको छ ।

यदि अन्य सबै विफल भए लामो चेतावनी समयले अधिकारीहरूलाई प्रभाव क्षेत्र खाली गराउन सक्षम बनाउँछ।

“यस विषयमा कोही पनि डराउनु पर्दैन”, फास्टले भने, “हामी यी कुराहरू फेला पार्न सक्छौँ, यी भविष्यवाणीहरू गर्न सक्छौँ र योजना बनाउने क्षमता राख्न सक्छौँ ।”

अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

काठमाडौँ : नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ पुगेर अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छिन् ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो। अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’को सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ।

अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुन्। विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छिन्। ‘आइएपिबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ÷संस्थाको साझा छाता सङ्गठन हो।

सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएकी छिन्।

नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक सङ्घको सञ्जालमार्फत हजारौँ आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन्।

नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत भएकी सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिए। अध्यक्ष प्राडापन्तले राजकुमारीको सोफिया नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गर्नुभएकामा धन्यवाद व्यक्त गरेका थिए।

सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफियालाई जानकारी गराएका थिए।

सङ्घले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ। संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलवार नेपाल भ्रमणमा आएका हुन्।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका विभिन्न स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहानीपख तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।

आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ।

वृषः तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ।

मिथुनः सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ। परिवारमा विवाद नगर्दा फाइदा हुनेछ।

कर्कटः शनिदेव अनुकल भएमा दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः कर्मस्थानमा चन्द्रमा पुगेकाले कामलाई निरन्तता दिनु राम्रो हुन्छ। मन अशान्त बन्दा ठुलो घाटा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्याः स्वास्थ्यले साथ दिनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुलाः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ। सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनुः दिन सामान्य छ। धनको पछाडि लाग्दा इज्जतमा समस्या हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः मनको कुरा सार्वजनिक गर्ने दिन छ। कुरा गुम्स्याएर राख्नाले समस्या बढ्नेछ। राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको साथ मिल्दा मन शान्त बन्नेछ।

मीनः भगिनी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। शिक्षामा संघर्ष गर्नुपर्ने समय छ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

अमेरिकाबाट निर्वासित भारतीय आप्रवासी स्वदेश फर्किए

एजेन्सी। संयुक्त राज्य अमेरिकाबाट निष्कासित भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।

एक सय चार जना भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अवतरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

ट्रम्पको जनवरी २० को उद्घोषपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।

ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले एक करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ । नयाँदिल्ली र वासिङ्टन दुवैले निर्वासनका बारेमा विशेष टिप्पणी गरेका छैनन् ।

तर, भारतमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले वासिङ्टनले ‘आफ्नो सीमालाई कडाइका साथ लागु गरिरहेको, आप्रवासन कानूनलाई कडा बनाएको र अवैध आप्रवासीहरूलाई हटाएको’ बताए।

‘विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ’, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए, ‘भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानूनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दै छन ।’

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र विश्वकै उच्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर छ तर पनि लाखौँ नागरिक विदेशमा राम्रो अवसरको खोजीमा हरेक वर्ष देश छोड्छन् ।

यसको प्रवासी समुदाय विश्वभर फैलिएको छ तर अमेरिका अझै पनि रोजाइको गन्तव्य हो । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को तथ्यांक अनुसार सन् २०१८–२०२३ को बीचमा पाँच हजारभन्दा बढी भारतीयलाई देशबाट निर्वासित गरिएको थियो ।

नेप्सेमा सामान्य गिरावट

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ।

नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो ।

कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।

आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

गौरीशंकर गाउँपालिकाको वनमा लागेको डढेलो नियन्त्रण बाहिर

दोलखा। गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका–७ को हिमाली वनमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएको छ ।

६ दिनदेखि गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत गौरीशंकर गाउँपालिका– ७ को सिक्पास्वर भन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।

डढेलो नियन्त्रणका लागि खटिएको थप टोली पनि जान नसकेर फर्किएको बताइएको छ । हिमपात हुने मौसममा चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेका छन् भने रेडपाण्डाको बासस्थान रहेको क्षेत्रको बन सखाप भएको छ । तीव्रगतिमा हावा चलिरहेकाले हिमाल नजिकैको खर्कहरूमा डढेलो बढ्दै गएको बताइएको छ ।

गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनार लगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शिर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलीय आयोग लगायतका निकायमा धर्ना दिने उल्लेख गरे ।

यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।

संविधान र कानूनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा चार अर्ब राजस्व संकलन

वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो ।

कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो ।

कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व संकलन गरेको थियो । चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व संकलन ग¥यौ भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।

बागमती प्रदेशसभाको बैठकमा चार विधेयक प्रस्तुत

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ ।

सो बैठकमा बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका थिए ।

यसैगरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरे । यस्तै, उद्योग, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे ।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरे ।

प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को दोस्रो बैठकको लागि पौने घण्टाको स्थगित गरेका थिए ।