जोडिनुहोस

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

कञ्चनपुर। अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

‘शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एक सय ३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रकम उपलब्ध गराउन थालेका छौँ’, उनले भने, ‘यसअघि पहिलो किस्ताबापत ती परिवारलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।’

जसअनुसार वडा नम्बर १ का १९, वडा २ का १०, वडा ३ का पाँच, वडा ४ का ११, वडा ५ का नौ, वडा ७ का २१, वडा ८ का ११, वडा ९ का १९, वडा १० का आठ, वडा ११ का तीन र वडा १२ का ६ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोश्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन् ।

नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई आईओसीले दिएन मान्यता

काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसीए) ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेको छ ।

आईओसीको राष्ट्रिय ओलम्पिक समिति सम्बन्ध विभागका जेम्स म्याक्लेयड र ओसीएका प्रबन्ध निर्देशक हुसेन अल मुसलमले एनओसीलाई संयुक्त रूपमा पत्र लेख्दै नेपाल ओलम्पिक कमिटीको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र कानुनी बाधा अड्चनका विषयहरू पनि चाँडै समाधान गर्न आग्रह गरेको छ ।

नेपाल ओलम्पिक कमिटीले आईओसीकै रोहबरमा अनलाइन मार्फत निर्वाचन गरेको दाबी गरेको थियो । तर आईओसीले नै त्यसलाई अस्वीकार गरेको छ । आईओसी र एनओसीले नेपाल ओलम्पिक कमिटीले गरेको विधान संशोधन पनि अमान्य भएको बताएको छ ।

सर्वोच्च अदालत, राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकारको निर्देशन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृतिबिना नै पुस १३ गते अनलाइन मार्फत नेपाल ओलम्पिक कमिटीको निर्वाचन गरिएको थियो । सो निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए । श्रेष्ठले तेस्रो कार्यकालका लागि निर्वाचित हुन विधान संशोधन समेत गरेका थिए ।

एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनकै विषयमा कानुनी प्रश्न उठेकाले त्यो विषयमा अन्तिम टुङ्गो नलागेसम्म आईओसी र ओसीएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको पत्रमा उल्लेख छ ।

ओलम्पिक चार्टर, सुशासन र सर्वमान्य सिद्धान्तका आधारमा सबै पक्ष मिलेर वर्तमान समस्याको समाधान खोज्न समेत आईओसी र ओसीएले आग्रह गरेका छन् । अबको प्रक्रियामा कानुनी चुनौतीहरू समाप्त भएपछि मात्र अन्तिम निर्णय आउने आईओसीले जनाएको छ ।

गाजा कब्जा गरी अन्तर्राष्ट्रिय क्षेत्र बनाउने ट्रम्पको उद्घोष

काठमाडौं। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । गत २० जनवरीमा दोस्रो पटक ह्वाइट हाउसमा पुनरागमनपछि पहिलो पटक विदेशी नेतासँग ट्रम्पको भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा दुवै शीर्ष नेताबीच इजरायलको हमाससँग भएको युद्धविराम र गाजाको भविष्यबारे महत्त्वपूर्ण छलफल भएको बताइएको छ । भेटवार्तापछि ट्रम्पले नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकाले गाजापट्टी नियन्त्रण गर्ने र त्यस क्षेत्रका विकास गर्ने बताएका छन् । साथै अमेरिकाले गाजापट्टीको दीर्घकालीन स्वामित्व राख्ने ट्रम्पको भनाइ छ । प्यालेस्टाइनलाई राज्यको मान्य दिने वा नदिने विषयमा ट्रम्पले कुनै प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले भत्किएका भवनहरूको पुनःनिर्माण गर्दै आर्थिक विकासको सिर्जना, असीमित संख्यामा रोजगारी र आवास प्रदान गर्ने बताएका छन् ।

ट्रम्पले गाजा ‘अन्तर्राष्ट्रिय क्षेत्र’ हुने स्पष्ट पार्दै अमेरिकाले पुनःनिर्माण पूरा गरेपछि विश्वभरका मानिसहरू गाजामा बस्ने सक्ने आश्वासन दिएका छन् । बसोबास गर्नेमा प्यालेस्टिनी पनि हुनसक्ने उनको भनाइ छ ।

यस्तै प्यालेस्टिनीसँग कुनै विकल्प नरहेको कारण उनीहरूलाई अन्य मुलुकमा शरण लिन समेत ट्रम्पले बताएका छन् । तर, उनको प्रस्तावलाई यसअघि नै पाँच वटा अरब राष्ट्रले अस्वीकार गरिरसकेका छन् ।

यसैबीच ट्रम्पले इरानी तेल निर्यातलाई शून्यमा झार्ने गरी आक्रमण प्रतिबन्ध लगाउने र इरानी शासनमाथि अधिकतम दबाब नीति पुनःस्थापित गर्ने गरी कदम चाल्ने बताएका छन् । यस्तै नेतान्याहूले ट्रम्पको प्रशंसा गर्दै अमेरिका इजरायलको सबैभन्दा ठूलो मित्र भएको बताए । नेतन्याहूले ट्रम्पको गाजा योजनाले ‘इतिहास परिवर्तन’ गर्ने समेत स्पष्ट पारे ।

गाजावासीलाई विस्थापित गर्ने ट्रम्पको योजनाले आरजकता निम्तिने सक्ने भन्दै हमासले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । यस्तै साउदी अरबले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिइए इजरायलसँग सम्बन्ध विस्तार हुन नसक्ने बताएको छ ।

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटको गृहकार्य सुरु

काठमाडौं। सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको कार्यदलले आवश्यक गृहकार्य सुरु गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित उक्त कार्यदलले कसरी खानेपानीको महसुल छुट गर्न सकिन्छ भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही हप्ता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै उक्त कार्यदल गठन गरिएको थियो ।

विद्यालयमा उपलब्ध हुने खानेपानी सेवाको दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त मोडेल तयार गर्न खानेपानी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएपछि कार्यदलले गृहकार्य थालेको टोलीका संयोजक एवं सहसचिव श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘विद्यालयमा निःशुल्क रूपमा खानेपानी जडान, महसुल छुट तथा पानी वितरणको व्यवस्था मिलाउन मेरो संयोजकत्वमा कार्यदल गठन भएको थियो, कार्यदलले यस विषयमा आवश्यक गृहकार्य सुरु गरिसकेको छ ।’ कार्यदलले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे जानकारी सङ्कलन गर्दै आवश्यक सुझाव लिइरहेको संयोजक श्रेष्ठले बताए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया। अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम मोस्टिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरेकी थिइन् ।

भेटका अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् ।

साथै गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

पर्यटन प्रवद्र्धनका लागि भोलिदेखि ‘टुर दि ठाकुरद्वारा’

नेपालगञ्ज। बाँके र बर्दियाको पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जबाट सुरु हुन लागेको साइक्लिङ कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौं, ललितपुर भक्तपुर, पाल्पा विराटनगर लगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

आगन्तुक पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उनले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उनीहरूलाई ती स्थानको जानकारी दिइने बताए । सातौँ संस्करणको रुपमा यही माघ २४ देखि २६ गतेसम्म सो कार्यक्रम हुने छ ।

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए ।

उनले नेपालगञ्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवर्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उनले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए ।

नेपालगञ्ज आएलगत्तै सबै पाहुनाका लागि खाना र आवासको प्रबन्ध भएको जानकारी दिँदै अध्यक्ष सापकोटाले माघ २६ गतेसम्म बर्दियाको ठाकुरद्वारामा आवासको व्यवस्थापन भएको बताए । यहाँका सुविधा सम्पन्न रिसोर्टमा पाहुनाका लागि आवासको व्यवस्थापन गरिएको छ । यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ ।

माघ २४ गते बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्घाटन गर्ने जनाइएको छ ।

कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको छ ।

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

स्टक होम। स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ। यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन्।

राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणलाई अहिले सम्मकै ठुलो मास सुटिङ भएको प्रधानमन्त्री उल्फ क्रिफ टेरेसनले बताएका छन्।

प्रहरीका अनुसार आक्रमण गर्ने ती व्यक्ति पनि मारिएका छन्। उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन्। धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ। प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ।

मंगलबार घटना भए लगत्तै कानुनमन्त्री तथा प्रधानमन्त्री त्यहाँ पुगेर समवेदना व्यक्त गरेका थिए। घाइतेको उपचारका लागि तत्काल अस्पतालको आइसियु खाली गरिएका छन्।

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु

ओमान। सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए ।

यस्तै, महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपरासी। यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ ।

गत वर्ष दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो । ‘अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ’, सूचना अधिकारी काफ्लेले भने, ‘यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको छ ।’ जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ ।

‘जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्’, उनले भने, ‘यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।’

जिल्लाको बौदिकाली र बुलिङटार गाउँपालिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताए ।

शुक्लाफाँटामा निःशुल्क आँखा शिविर

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् ।

वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।

आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतियाविन्दुको समस्या देखिएको छ ।

शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा– ९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

मोतियाविन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडाध्यक्ष ऐरले बताए ।

शिविरमा आँखा उपचारका लागि पुगेका मध्ये ३२ जनालाई निःशुल्क रूपमा चस्मा उपलब्ध गराइएको छ । अन्य बिरामीलाई निःशुल्क रूपमा औषधि र आवश्यक परामर्श दिने कार्य गरिएको छ ।

वडा कार्यालयले विगत ६ वर्षदेखि निरन्तर रूपमा निःशुल्क रूपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखासम्बन्धी सेवा दिँदै आएको छ । हालसम्म वडाका छ सय बढी आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले बताए ।

दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

झापा। झापाको कनकाई नगरपालिका– ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।

उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमथि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुँडामुनी गोली लागेको छ ।

उनीहरूको साथमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

‘मिसेस ब्युटी क्विन’को ताज वर्षा कुँवरलाई

काठमाडौं। ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको ताज व्यवसायी वर्षा कुँवरले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिएकी हुन् ।

बानेश्वरमा विभिन्न व्यवसाय गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालिटीको उपाधि समेत प्राप्त गरिन् । उनले रेफ्रिजेरेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीकबाट २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचरका साथै अन्य उपहारहरू प्राप्त गरिन् ।

प्रतियोगितामा करुणा बिक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टेलिभिजन, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा रिन्जु कुसवाह सेकेन्ड रनरअप भइन् । उनले फोटोजेनीकको पनि उपाधि जितिन्।

थर्ड रनरअप शिवानी मित्र र चौथो रनरअप उर्मिला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जितेकी छिन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली उपाधि जितिन् । यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी ब्युटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्युटीफूल अवार्ड प्राप्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य, आन्तरिक क्षमता, आत्मविश्वासका साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राजले मुख्य भूमिका निभाएकी थिइन् ।