जोडिनुहोस

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी। सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी)को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्र आप्रवासन एजेन्सीले अक्टोबर सन् २०२४ मा यो सङ्ख्या दुई करोड ४२ लाखबाट बढेको बताएको हो ।

‘सुडानमा आईडीपीको वृद्धि देशका धेरै राज्यहरूमा चलिरहेको द्वन्द्व तथा भारी वर्षा र आगलागीका कारण भएको हो,’ आईओएमले भनेको छ ।

एजेन्सीले गत वर्ष अक्टोबर २० र नोभेम्बर १३ को बीचमा अल जजीरा राज्यमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सहरू बीचको झडपका कारण अनुमानित ६८ हजार ८०१ परिवारहरू विस्थापित भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीले कथित रूपमा सात विभिन्न राज्यका ३८ क्षेत्रहरूमा व्यक्तिहरू विस्थापित भएको बताएको छ । “विस्थापित व्यक्तिहरू मध्ये, १५ हजार १२९ आईडीपी थिए,’ आईओएमले उल्लेख ग¥यो ।

आईडीपी जनसङ्ख्याको उच्च सङ्ख्या भएका अन्य देशहरूमा सोमालिया ३५ लाख, इथियोपिया ३३ लाख र दक्षिण सुडान २० लाख छन् ।

आईओएमका अनुसार विस्थापनका मुख्य कारण विशेषगरी इथियोपिया, केन्या र सोमालियामा द्वन्द्व, बाढी, खडेरी र खाद्यान्न असुरक्षा हुन् ।

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताए ।

उनले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे ।

सेवा प्रवाहलाई भरपर्दो र अविच्छिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक क्षमता विकास गर्न उनले सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुनसक्ने अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा सहभागी निकायका अधिकारीहरूले आआफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको आवधिक रुपमा ‘सेक्युरिटी अडिट’ गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ‘ब्याकअप’ क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए ।

सूचना प्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ थियो ।

बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत निकायका अधिकारीहरूको सहभागिता थियो ।

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले यसअघि नै सरकारले संसदमा दर्ता गरेका ६ अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ ।

बैठकमा पार्टीका सभापति रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई बुझाएको पत्रका सन्दर्भमा पनि कुराकानी हुने बताइएको छ ।

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन् । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेशका बारेमा प्रतिपक्षले चर्को विरोध जनाउँदै आएको छ ।

बैठकमा नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनेछन् ।

अध्यादेशका विषयमा सत्तापक्ष र विपक्षीबीच मतभिन्नता रहेकै अवस्थामा भोलि संसद बैठक बस्दैछ ।

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

वीरगञ्ज। पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।

गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भने तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनको भनाइ छ ।

‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’, सूचना अधिकारी तिवारीले भने ।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ०२ पैसा र बिक्रीदर १३९ रुपियाँ ६२ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो।

युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपियाँ ६० पैसा र बिक्रीदर १७३ रुपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपियाँ ९५ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३२ पैसा र बिक्रीदर ८६ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३६ पैसा र बिक्रीदर ९६ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ४९ पैसा र बिक्रीदर १०२ रुपियाँ ९३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्रीदर आठ रुपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २८ पैसा र बिक्री दर ३१ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५८ पैसा र बिक्रीदर १२ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २४ पैसा र बिक्री दर १९ रुपियाँ ३२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ०४ पैसा र बिक्रीदर ४५१ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७० रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ६५ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः जितविहीन रहेको नेपाल पाँचौं खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं। घरेलु मैदानमा जारी महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पाँचौं खेल खेलिरहँदा नेपाल जितविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।

जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ । शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो । दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्यो ।

ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ । हिजो भएको खेलमा नेपालले थाइल्यान्ड विरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन् । इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो । शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

यो शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन् । नेपाल तालिकाको पुच्छारमा छ । दोस्रो स्थानमा रहेको नेदरलयान्ड्सको चार खेलबाट चार अंक छ । बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ । थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । चोटका कारण अल राउन्डर कविता कुँवरले शृंखला गुमाउँदा नेपाललाई थप धक्का लाग्यो । उनलाई अन्डर नाइन्टिन टिमकी रचना चौधरीले रिप्लेस गरेकी छिन् । रचनाले थाइल्यान्ड विरुद्ध सिनियर टिममा डेब्यु गर्दै एक विकेट पनि लिइन् । लेफ्ट आर्म स्पिनर मनीषा उपाध्यायले चार खेलको तीन इनिङसमा सात विकेट लिँदै प्रभावकारी प्रदर्शन गरिरहेकी छिन् ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित, मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन। पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने अहिले बयानका लागि चितवन जिल्ला अदालत उपस्थित भएका छन् ।

गए राति काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुग्का लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगीको अभियोग लागेका लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो ।

अदालतमा उपस्थित हुन रवि लामिछाने चितवनमा, आजबाटै बयान थालिने

चितवन। पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन चितवन पुगेका छन् ।

लामिछाने गए राति नै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । लामिछाने आज १० बजे नै चितवन जिल्ला अदालतमा उपस्थिति हुने बताइएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले लामिछाने चितवन अदालतमा उपस्थित भएपछि बयानबाट अदालती प्रक्रिया सुरू हुने छ । बयानपछि दुई पक्षको बहस हुनेछ भने लगत्तै थुनछेक आदेश आउने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो । योसँगै हालसम्म चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १२ जनालाई ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ भने लामिछाने सहित २० जनालाई ठगी मात्रै मुद्दा दायर गरिएको छ ।

रविका साझेदार जीबी राई र छविलाल जोशीलाई ठगी र संगठित अपराध दुवै कसुरमा मुद्दा दायर गरिएको छ । यस मुद्दामा जोडिएका धेरैजसो फरार छन् ।

हिजो दर्ता गरिएको मुद्दामा लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी‍ लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रहेकाहरूलाई अपचलन भएको रकमको सामूहिक बिगो माग दाबी समेत गरिएको छ ।

साहारा सहकारीको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि लामिछाने यस मुद्दामा जोडिए । यसअघि लामिछानेले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए। यसअघि पोखरा, काठमाडौं र बुटवलका सहकारी रकम अपचलन मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको थियो ।

साहारा सहकारीका पीडित बचतकर्ताले २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो । सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई सहित १७ जना विरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो ।

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा  हस्ताक्षर भएको छ ।

आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगन गरिने भएको छ।

केबलकारको स्टेशनबारे आगामी माघ २७ गते हुने अर्को वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको हो । 

सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने सहमति भएको छ ।

माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

आन्दोलनका क्रममा पक्राउ परेका, थुनुमा रहेका बन्दीहरूको बिनाशर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमति भएको छ ।

मुक्कुम्लुङ संरक्षणका लागि आन्दोलनमा रहेका पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ।

यसका साथै वार्ताका क्रममा भएका पाथीभरा केबलकार आयोजना निर्माणबारेका असहमति लगायतका विषयमा विस्तृत छलफल गर्न माघ २७ गते फेरि वार्तामा बस्ने सहमति भएको छ ।

वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै : अध्ययन

मंगलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ ।

फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले भनेको छ ।

तीमध्ये धेरैजसो पुरुष थिए तर महिलाहरूमा करिब १० लाख केसको बढ्दो हिस्सा थियो । चिनियाँ वित्त पोषित यस अध्ययनका लेखकहरूका अनुसार फोक्सोको क्यान्सरको एक प्रमुख उप–प्रकार – एडेनोकार्सिनोमा – १८५ देशमा महिलाहरूमा प्रमुख बनेको छ ।

‘वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न सकिन्छ जसले आंशिक रूपमा एडेनोकार्सिनोमाको उदाउँदो प्रबलतालाई व्याख्या गर्दछ, यो विश्वव्यापी रूपमा कहिल्यै धूम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सरको ५३–७० प्रतिशत मामिलाहरूका लागि जिम्मेवार छु, अध्ययनले भन्यो ।’

उनीहरूले यो सन् २०२० देखि २०२२ सम्म पुरुष र महिला दुवैमा बढेको पाएका छन् । यसमा महिलाहरूमा सबैभन्दा उच्च स्तर थियो जहाँ यो १० मध्ये छ वटा मामिलामा रहेको थियो ।

‘विश्वका धेरै देशमा धूम्रपानको प्रचलन घट्दै गएसँगै धूम्रपान नगरेका मानिसहरूमा फोक्सोको क्यान्सरको अनुपात बढेको छु, अनुसन्धानकर्ताहरूले भनेका छन्, धूम्रपान नगरेका मानिसहरूमा फोक्सोको क्यान्सर विश्वभर क्यान्सर–सम्बन्धित मृत्युको पाँचौँ प्रमुख कारण हुने अनुमान गरिएको छ, जुन लगभग पूर्ण रूपमा एडेनोकार्सिनोमाका रूपमा र धेरैजसो महिला र एसियाली जनसङ्ख्यामा देखा पर्छ ।’

अध्ययनले विश्व स्वास्थ्य सङ्गठन लगायतका मनिटरहरूको डाटामा आधारित जनसाङ्ख्यिक अनुसन्धान प्रस्तुत गरेको छ । अनुसन्धानकर्ताहरूले वायु प्रदूषणसँग सम्बन्धित एडेनोकार्सिनोमाको सबैभन्दा उच्च स्तर पूर्वी एसिया, विशेष गरी चीनमा पत्ता लागेको बताए ।

‘तातो र खाना पकाउनका लागि घरायसी ठोस इन्धन जलाउने जोखिमले चिनियाँ महिला गैर-धूम्रपानकर्ताहरूमा फोक्सोको क्यान्सरको कारक हुन सक्छु, उनीहरूले भने ।’

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ ।

आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहनेछ  ।