जोडिनुहोस

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ ।

आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहनेछ  ।

आज २०८१ साल माघ २३ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ।

वृषः वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ। शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ। कर्मको स्थानमा शनिदेव भएकाले व्यापारमा सहकार्य गर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः दिन सहज छ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारमा थोरै बोल्नु उचित हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कटः दिन राम्रो छ। अढैया शनिको प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारमा रमाएर बस्ने दिन छ। कडा विपक्षी भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ।

सिंहः दिन सहज छ। धार्मिक क्षेत्रमा भन्दा शिक्षाको क्षेत्र मन लाग्नेछ। यो क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय रहनेछ।

कन्याः दिन सामान्य राम्रो छ। चिट्ठामा घाटा हुनेछ। परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ। धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ।

तुलाः दिन राम्रो छ। व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः दिन तपाईं अनुकूल रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षी साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनुः राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मन चिन्तित बन्नेछ। शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

मकरः राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। धनस्थानमा भएको शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ।

कुम्भः मनमा खटपटी बढ्नेछ। यो मध्यसाढेसाती दशाको फल हो। जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगतिसमेत हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। साथीभाइको साथ मिल्नेछ।

मीनः तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन्। बौद्धिक क्षमता बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिद्धार्थ हस्पिटालिटीको ‘क्यान्सरविरुद्धको खाना’ अभियान

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरु गरेको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि उक्त अभियान सुरु गरिएको घोषणा गरेका हुन् ।

“क्यान्सरविरुद्धको खाना अभियान सफल पार्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको छ, जसमा पोषणयुक्त खाना, क्यान्सरबारे जानकारसँग वर्कसप र पोडकास्ट, समुदायको संलग्नता, स्वास्थ्य विज्ञसँगको साझेदारी र सहकार्य, कर्मचारीका लागि तालिम र सामाजिक सञ्जालमार्फत सचेतना अभियान शीर्षकमा कार्यक्रम सञ्चालन गरिनेछ”, सीइओ न्यौपानेले भने ।

सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । ताजा फलफूल, हरियो सागपात, अन्न, ओमेगा–३ युक्त खाना, एन्टी इन्फ्लेमेटरी मसलाभएको खानालाई क्यान्सर रोगविरुद्धका खानाका रुपमा प्रचारप्रसार गरिनेछ ।

अभियानमा सेफहरुले स्वस्थकर खाना कसरी पकाउने भनेर प्रत्यक्ष रुपमा जानकारी दिनेछन् । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिाटलिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरु राखिनेछन् ।

साथै क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिनेछ । जसमा पोषण तथा क्यान्सरविद्सँग योजनाबद्ध खानपान, अस्वस्थकर खाद्यपदार्थ पहिचान तथा सही परिणाममा कसरी भोजन गर्ने विषयबारे जानकारी दिइनुका साथै छलफल गरिनेछ । त्यसअवसरमा सहभागीहरुले विज्ञसँग अन्तरक्रियात्मक छलफल गर्न पाउने कम्पनीको भनाइ छ ।

क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले समुदायको संलग्नतालाई पनि प्राथमिकता दिइनेछ । यस अभियानमा सहभागीहरुले ‘कुक टु कम्ब्याट क्यान्सर’ शीर्षकमा आफूलाई मनपर्ने रेसिपीबारे अरुलाई बताउन सक्नेछन् । उत्कृष्ट रेसिपीलाई सिद्धार्थ हस्पिटालीको मेनुमा समावेश गर्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिनेछ । यसै अभियानअन्तर्गत स्वस्थकर खाना महोत्सव पनि आयोजना गरिनेछ । महोत्सवमा क्यान्सर रोगसँग लड्न सहयोग गर्ने खानाहरुको स्टल, स्मुदी बार र सलाद काउन्टरको व्यवस्था गरिनेछ ।

अभियान कै हिस्साका रुपमा स्वास्थ्य विशेषज्ञसँगको सहकार्यमा स्वस्थकर मेनुबारे चर्चा गर्दै प्रचारप्रसार गरिनेछ भने स्थानीय अर्ग्यानिक किसानसँगको साझोदारीलाई दिगोपना र स्वास्थ्य प्रवर्द्धन गरिने कम्पनीले जनाएको छ ।

सिद्धार्थका अनुसार अभियानकै क्रममा हस्पिटालिटीमा कार्यरत सेफ तथा कर्मचारीलाई यसबारे जानकारी प्रदान गरी होटल तथा रेष्टुरेन्टमा आउने ग्राहकलाई क्यान्सरसँग लड्न मद्दत गर्ने खाना सेवनका लागि प्रोत्साहन गरिनेछ ।

अभियानलाई सफल पार्न सामाजिक सञ्जालमार्फत क्यान्सर रोगीका लागि लाभदायक खानाका परिकार र रेसिपीको प्रचारप्रचार तथा प्रवर्द्धन गरिनेछ । उपभोक्तालाई भिडियो, इन्फ्रोग्राफ र रेसिपीमार्फत जानकारी दिइनेछ । अभियानका मुख्य आकर्षक तथा महत्वपूर्ण विषयवस्तु र विज्ञहरुको प्रचारप्रसार गरिनेछ छ । यस अभियानलाई प्रवर्द्धन गर्नका लागि सिद्धार्थ हस्पिटालिटीले विभिन्न मेनुमा विशेष छुटको अफर समेत सुरु गर्ने कम्पनीको भनाइ छ ।

भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष समारोहको आयोजना गरेको छ।समारोहमा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल प्रमुख अतिथिको रुपमा सहभागी थिए।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेको भारतीय दूतावासले  विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  उनले भारतीय सेनामा गोर्खा सैनिकहरुले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति सिग्देलले भारतीय सेनालाई ७७ औं सेना दिवसको शुभकामना दिँदै दुई देशबीचको बलियो सैन्य सम्बन्धको चर्चा गरेको दूतावासले जनाएको छ । सो अवसरमा  उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको पनि प्रशंसा गरे।समारोहमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा दुई देशका सेनाका उच्च अधिकारीहरु, कुटनैतिक व्यक्तित्वहरु, सरकारी अधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो।

झापाको सुरुङ्गामा गोली चल्दा एक जना घाइते

पुजन घिमिरे

झापा— झापाको सुरुङ्गामा गोली प्रहरीले चलाएको गोली लागि एक जना घाइते भएका छन् । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मंगलबार प्रहरीले गोली चलाएको हो । यसैगरी, प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

मंगलबारसाँझ कन्काई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

एकजनाको खुट्टामा दुई गोली लागेको छ । दुवैजनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए ।

पक्राउ पर्नेहरुमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम रहेका छन् । एकजनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।

पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने

पोखरा। पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयबाट गरेका छन् ।

आजदेखि फागुन ६ गतेसम्म महानगरका २ सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३ सय ४४ जना स्वास्थ्यकर्मी र ६ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले जानकारी दिए ।

विद्यालय उमेरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गरिनेछ। नगर प्रमुख आचार्यले छोरीहरूको स्वस्थ जीवन र भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्नका लागि यो खोप अनिवार्य रूपमा लगाउन आह्वान गरेका छन् ।

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ)गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने अभियानहरू सञ्चालन भइरहेका छन्।

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

काठमाडौं। नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ ।

लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।

‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४र६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो’, उनले भने, ‘विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि हो उनले बताए। हाल कम्प नीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरु बताए। सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उनको भनाइ थियो ।

दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उनले जानकारी दिए ।

‘कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भई अनुसन्धानको काम सुरु भइसकेको छ’, उनले भने।

महाकुम्भमेलाः भुटानी राजा र मुख्यमन्त्री योगी द्वारा गंगामा स्नान

काठमाडौं। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका छन् । सोमबार भारत पुगेका उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।

लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लगेर गएका हुन् ।

भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।

मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे। अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

योगी तथा भुटानका राजा आएपछि हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुका लागि ढोका बन्द गरिएको थियो। मंगलबार साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने छ ।

अब बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने छन् । मोदी आउने भएपछि मुख्यमन्त्री योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थलसम्मको व्यवस्थापन हेरेका छन् ।

मंगलबार महाकुम्भको २३ औँ दिन भएको छ। अहिलेसम्म ३७ करोड मानिसले स्नान गरिसकेका छन् । मंगलबार मात्रै बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसके बताइएको छ। सोमबार २ करोड ३३ लाखले स्नान गरेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

एजेन्सी। सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मंगलबार उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने सुनुवाइका लागि पुनः अदालतमा उपस्थित भएका छन् ।

पूर्व अभियोजक युनले डिसेम्बर ३ मा सैनिक शासन घोषणा गरी नागरिक शासन निलम्बन गरेर संसद्मा सैनिक पठाउँदा लोकतान्त्रिक दक्षिण कोरियालाई राजनीतिक संकटमा धकेलेका थिए ।

विपक्षी नेतृत्वको संसद्ले सशस्त्र सैनिकहरूको विरोध गर्दै यसलाई अस्वीकार गर्दै र पछि यस कदमका लागि उनीमाथि महाभियोग लगाएकाले उनको सैनिक शासन लागू गर्ने प्रयास करिब छ घन्टा मात्र टिक्यो ।

छुट्टै आपराधिक अनुसन्धानको एक हिस्साका रूपमा युनलाई जनवरीको मध्यमा विद्रोहको आरोपमा बिहानको छापामा हिरासतमा लिइएको थियो । यसबाट उनी गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्र प्रमुख बने।

उनी हिरासतमा छन् तर संवैधानिक अदालतमा महाभियोग सुनुवाइमा उपस्थित हुँदै आएका छन् । सुनुवाइले उनको महाभियोग कायम राख्ने वा नराख्ने निर्धारण गर्नेछ । यदि अदालतले महाभियोग कायम राख्यो भने नयाँ राष्ट्रपति चुन्न ६० दिनभित्र चुनाव गर्नुपर्नेछ ।

मंगलबार सुनुवाइका लागि युनलाई लिएर काला एसयुभीहरूको सवारी अदालत पुगेको थियो ।

अघिल्ला सुनुवाइहरूमा युनले उच्च सैन्य कमान्डरहरूलाई उहाँको आदेश अस्वीकार गर्नबाट रोक्न सांसदहरूलाई संसद्बाट ‘बाहिर निकाल्न’ निर्देशन दिएको आरोप अस्वीकार गरे । यसलाई विपक्षी सांसदहरूले खण्डन गरेका छन् ।

उनले छोटो समय टिकेको सैनिक शासन ‘असफल सैनिक शासन’ नभई उनले अपेक्षा गरेभन्दा ‘केही चाँडै समाप्त भएको’ एक शासन भएको तर्क गरेका छन् ।

चीनले लगायो अमेरिकाविरुद्ध प्रतिरोधात्मक भन्सार दर

एजेन्सी। चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ।

बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।

बेइजिङका अनुसार नयाँ उपायहरू सप्ताहन्तमा वासिङ्टनले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक उपायहरू घोषणा गरे । चीनबाट आउने सामानहरूले उनीहरूले पहिले नै वहन गरेको भन्सार दरमाथि थप १० प्रतिशत भन्सार दर लगाइने छ ।

गैरकानूनी आप्रवासी र फेन्टानिलसहितका लागूऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।

चीनले भनेको छ, ‘अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्दछ, आफ्नै समस्या समाधान गर्न केही गर्दैन र चीन र संयुक्त राज्य अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा बाधा पु¥याउँछ ।’

अर्को सोमबारदेखि लागु हुने बेइजिङको करको घोषणा ट्रम्पले आगामी २४ घण्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।

अब तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र पाइने

काठमाडौं। यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ ।

सवारी चालक अनुमति पत्र अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने गरी विभागले निर्देशिका बनाएसंगै नागरिकलाई सहजता हुने भएको छ ।

यसअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइने गरेको भएपनि अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले तीन दिनभित्रै स्मार्ट लाइसेन्स पाउने सक्ने गरी नयाँ निर्देशिका बनाइएको छ । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिने विभागका निर्देशक गणेशमान सिंह राईले बताए ।

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय चमतीमा बैठक बस्न लागको हो ।

भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ ।

रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ । भोलिको बैठकमा अहिलेसम्म भएका ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुने छ ।

यस्तै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भमा पनि कुराकानी हुने छ । लामिछानेले १८ गते सभामुखलाई आफ्नो सांसद पद निलम्बन गरिदिन आग्रह गर्दै पत्र बुझाएका छन् । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए ।

रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।