जोडिनुहोस

पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने

पोखरा। पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयबाट गरेका छन् ।

आजदेखि फागुन ६ गतेसम्म महानगरका २ सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३ सय ४४ जना स्वास्थ्यकर्मी र ६ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले जानकारी दिए ।

विद्यालय उमेरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गरिनेछ। नगर प्रमुख आचार्यले छोरीहरूको स्वस्थ जीवन र भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्नका लागि यो खोप अनिवार्य रूपमा लगाउन आह्वान गरेका छन् ।

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ)गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने अभियानहरू सञ्चालन भइरहेका छन्।

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

काठमाडौं। नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ ।

लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।

‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४र६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो’, उनले भने, ‘विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि हो उनले बताए। हाल कम्प नीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरु बताए। सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उनको भनाइ थियो ।

दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उनले जानकारी दिए ।

‘कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भई अनुसन्धानको काम सुरु भइसकेको छ’, उनले भने।

महाकुम्भमेलाः भुटानी राजा र मुख्यमन्त्री योगी द्वारा गंगामा स्नान

काठमाडौं। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका छन् । सोमबार भारत पुगेका उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।

लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लगेर गएका हुन् ।

भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।

मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे। अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

योगी तथा भुटानका राजा आएपछि हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुका लागि ढोका बन्द गरिएको थियो। मंगलबार साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने छ ।

अब बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने छन् । मोदी आउने भएपछि मुख्यमन्त्री योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थलसम्मको व्यवस्थापन हेरेका छन् ।

मंगलबार महाकुम्भको २३ औँ दिन भएको छ। अहिलेसम्म ३७ करोड मानिसले स्नान गरिसकेका छन् । मंगलबार मात्रै बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसके बताइएको छ। सोमबार २ करोड ३३ लाखले स्नान गरेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

एजेन्सी। सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मंगलबार उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने सुनुवाइका लागि पुनः अदालतमा उपस्थित भएका छन् ।

पूर्व अभियोजक युनले डिसेम्बर ३ मा सैनिक शासन घोषणा गरी नागरिक शासन निलम्बन गरेर संसद्मा सैनिक पठाउँदा लोकतान्त्रिक दक्षिण कोरियालाई राजनीतिक संकटमा धकेलेका थिए ।

विपक्षी नेतृत्वको संसद्ले सशस्त्र सैनिकहरूको विरोध गर्दै यसलाई अस्वीकार गर्दै र पछि यस कदमका लागि उनीमाथि महाभियोग लगाएकाले उनको सैनिक शासन लागू गर्ने प्रयास करिब छ घन्टा मात्र टिक्यो ।

छुट्टै आपराधिक अनुसन्धानको एक हिस्साका रूपमा युनलाई जनवरीको मध्यमा विद्रोहको आरोपमा बिहानको छापामा हिरासतमा लिइएको थियो । यसबाट उनी गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्र प्रमुख बने।

उनी हिरासतमा छन् तर संवैधानिक अदालतमा महाभियोग सुनुवाइमा उपस्थित हुँदै आएका छन् । सुनुवाइले उनको महाभियोग कायम राख्ने वा नराख्ने निर्धारण गर्नेछ । यदि अदालतले महाभियोग कायम राख्यो भने नयाँ राष्ट्रपति चुन्न ६० दिनभित्र चुनाव गर्नुपर्नेछ ।

मंगलबार सुनुवाइका लागि युनलाई लिएर काला एसयुभीहरूको सवारी अदालत पुगेको थियो ।

अघिल्ला सुनुवाइहरूमा युनले उच्च सैन्य कमान्डरहरूलाई उहाँको आदेश अस्वीकार गर्नबाट रोक्न सांसदहरूलाई संसद्बाट ‘बाहिर निकाल्न’ निर्देशन दिएको आरोप अस्वीकार गरे । यसलाई विपक्षी सांसदहरूले खण्डन गरेका छन् ।

उनले छोटो समय टिकेको सैनिक शासन ‘असफल सैनिक शासन’ नभई उनले अपेक्षा गरेभन्दा ‘केही चाँडै समाप्त भएको’ एक शासन भएको तर्क गरेका छन् ।

चीनले लगायो अमेरिकाविरुद्ध प्रतिरोधात्मक भन्सार दर

एजेन्सी। चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ।

बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।

बेइजिङका अनुसार नयाँ उपायहरू सप्ताहन्तमा वासिङ्टनले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक उपायहरू घोषणा गरे । चीनबाट आउने सामानहरूले उनीहरूले पहिले नै वहन गरेको भन्सार दरमाथि थप १० प्रतिशत भन्सार दर लगाइने छ ।

गैरकानूनी आप्रवासी र फेन्टानिलसहितका लागूऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।

चीनले भनेको छ, ‘अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्दछ, आफ्नै समस्या समाधान गर्न केही गर्दैन र चीन र संयुक्त राज्य अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा बाधा पु¥याउँछ ।’

अर्को सोमबारदेखि लागु हुने बेइजिङको करको घोषणा ट्रम्पले आगामी २४ घण्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।

अब तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र पाइने

काठमाडौं। यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ ।

सवारी चालक अनुमति पत्र अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने गरी विभागले निर्देशिका बनाएसंगै नागरिकलाई सहजता हुने भएको छ ।

यसअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइने गरेको भएपनि अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले तीन दिनभित्रै स्मार्ट लाइसेन्स पाउने सक्ने गरी नयाँ निर्देशिका बनाइएको छ । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिने विभागका निर्देशक गणेशमान सिंह राईले बताए ।

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय चमतीमा बैठक बस्न लागको हो ।

भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ ।

रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ । भोलिको बैठकमा अहिलेसम्म भएका ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुने छ ।

यस्तै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भमा पनि कुराकानी हुने छ । लामिछानेले १८ गते सभामुखलाई आफ्नो सांसद पद निलम्बन गरिदिन आग्रह गर्दै पत्र बुझाएका छन् । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए ।

रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

डुम्रे। प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा एक महिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।

भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्तिमात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रूपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ ।

सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् ।

वर्षौंअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए। माघेसङ्क्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए।

‘देवघाट धाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ’, अध्यक्ष थापाले भने, ‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरेबल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’

उनले पालिकाले मात्रै यहाँको पुल निर्माण गर्न सक्ने बजेट नहुँदा पनि प्रदेश तथा सङ्घ सरकारसमक्ष माग गरिरहेका भए पनि बेवास्ता गर्ने गरेको पाएको बताए।

चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरेवल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो ।

भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । दीर्घकालीन रूपमा समस्याको समाधान हुने अवस्थातर्फ भने सरकारको ध्यानाकर्षण गएको छैन ।

‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’

काठमाडौं। राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरेर केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएका हुन् ।

तथापि, उनले केबुलकार निर्माणसम्बन्धी योजना अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्नेमा भने जोड दिएका छन् ।

‘पाथीभरामा केबुलकार निर्माणमा अवरोध पुर्‍याउने कुरालाई हामीले सही मान्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्दछ ।’

जनमोर्चाले पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दूरीमा हुनु पर्ने र उक्त दूरी स्थानीय बासिन्दा तथा केबुलकार व्यवसायीबीचको आपसी सहमतिमा तय गरिनुपर्ने पनि बताएको छ ।

जाजरकोटमा टिपर दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत। जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा मंगलबार बिहान भे १ प १०५५ नम्बरको टिपर दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

टिपर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए । दुर्घटनामा टिपर चालक र सहचालक घाइते भएका छन् ।

१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी

काठमाडौं। साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो ।

मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।

समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरूलाई आफैँ बदलिन सुझाव दिएका छन् ।

ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताए । उनले युवाहरूलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिए।

मुख्यमन्त्री कँडेलले भने, ‘युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरू लाग्नुपर्दछ ।’

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उनले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताए।

आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यहरूलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरूले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताए।