जोडिनुहोस

रविसहित १५ जनाविरुद्ध चितवनमा दर्ता भयो सहकारी ठगी मुद्दा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ । रविलाई सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।

मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको कुरा छ ।

सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले गत पुस २५ गते ६५ लाख धरौटी तिरेका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले माघ २ गते ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

उता रुपन्देहीको सुप्रिम सहकारी संस्थाको बचत रकम ठगीमा रविले माघ १३ गते १ करोड धरौटी बुझाएका थिए । प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए।

लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको थियो। कास्की, काठमाडौं रु रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष भएको नदेखिएकाले धरौटी मागेका थिए ।

कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई लागेको थियो ।

यी सबै सहकारीका मुख्य सञ्चालक हाल फरार रहेका जीबी राई हुन् । उनका साझेदारमा छविलाल जोशी, रवि र कुमार रम्तेललगायत हुन् । कुमार रम्तेल अहिले कास्की जेलमा छन् । नेचर हब्र्स जीबी र छविको संयुक्त लगानीको कम्पनी थियो ।

अब रविसहितविरुद्ध पर्सास्थित हाम्रो सानोपाइला सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा चल्न बाँकी छ। सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकहाँ बुझाइसकेको छ ।

महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः नेपालको लगातार चौथो हार

काठमाडौं। महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो ।

जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको हो ।

मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । कविता जोशीले २४ रन थपिन् ।

पूजा महतोले १८ रनको योगदान दिइन् भने रोमा थापाले १९ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सम्झाना खड्काले ५ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले ३ रन मात्रै जोड्न सकिन् । रचना चौधरी २ रनमा नटआउट रहिन् ।

टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् ।

थाइल्यान्डका लागि थिपाच्चा पुथावाङले सर्वाधिक ४ विकेट लिइन् । फन्निता मायाले २ विकेट झारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।

एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।

ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् ।

नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।

नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।

धरान र सुनसरीबाट करिब ४ सय २९ किलो गाँजा बरामद

काठमाडौं। धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी सुनसरी, हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुट केसबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

थाइल्यान्डले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाअन्तर्गतको खेलमा थाइल्यान्डले नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो । एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।

ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् । नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।

नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।

बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने फैसलाविरुद्ध उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उच्चले जिल्लाकै फैसलालाई सदर गरेपछि झा माघ २ गते सर्वोच्च अदालत गएका थिए ।

माघ ३ गते सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले झाको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा झाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उनका अनुसार सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो ।

शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदै छ ।

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेय पदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो ।

परापूर्व कालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायिकीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

‘घरेलु मदिरा उत्पादनका लागि नगरभित्रका सहकारी, होमस्टे सञ्चालन गरिरहेका समूह, दर्ता भएका आमा समूह, महिला समूह वा अन्य समूहलाई मात्रै अनुमति प्रदान गरिएको छ, स्थानीय कच्चा पदार्थ कोदो प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा स्वास्थ्यका लागिसमेत कम हानिकारक छ’, उनले भने , ‘गुणस्तरयुक्त रक्सी उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरणका लागि नगरपालिकाले घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो, घरेलु मदिरा प्रवद्र्धन कार्यक्रमले नगरवासी महिलाको आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।’

मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा रु १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रूपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ । त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले बनाएको कार्यविधिमा उत्पादकहरूले होमस्टेमा मात्रै आफूले उत्पादन गरेका मदिरा बेच्न पाउनेछन् । उत्पादित मदिरा होमस्टेबाट मात्रै बिक्री–वितरणको व्यवस्था हुने नगरपालिकाले जनाएको छ । होमस्टेबाट किनेर कोसेली वा बिहे, पास्नीजस्ता सांस्कृतिक कार्यमा प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भएअनुसार एक व्यक्तिलाई मात्र मदिरा उत्पादन गर्ने इजाजत दिइने छैन ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाका जनजाति महिलाले परापूर्व कालदेखि घरेलु मदिरा उत्पादन गरेर घर खर्च जुटाउने गरेका छन् । नगरको घरेलु मदिरा उत्पादन तथा उपयोगसम्बन्धी कार्यक्रमले घरेलु मदिरा उत्पादन गर्दै जीविका चलाइरहेका महिला बढी लाभान्वित हुने देखिएको नगर प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणमा कानुनी झन्झट खेप्दै आएका जनजाति महिला नगरपालिकाले कार्यविधि नै पारित गरेर औद्योगिकीकरणको काम थालेपछि हर्षित भएका छन् । जिल्लाका अन्य स्थानीय तहका जनजाति महिलाले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गरिरहेका छन् । उनीहरूका लागि अहिलेसम्म अन्य स्थानीय तहले कार्यविधि निर्माण तथा प्रवद्र्धनको काम थालेका छैनन् ।

माझ किरात भनेर चिनिने खोटाङमा सांस्कृतिक कार्य (कुलपितृ, विवाह, मृत्यु, छेवर, पास्नी गुन्यूचोली आदि)मा समेत कोदोको रक्सी प्रयोग गर्ने गरिएको छ । स्थानीय कच्चापदार्थ कोदोबाट उत्पादन गरिने मदिरालाई प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक आयस्तर वृद्धिमा समेत सघाउ पुग्ने आकलन गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वार्षिक रु ६१ करोडभन्दा बढीको आयातित मदिरा खपत हुँदै आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले जानकारी दिए । आयातित मदिरासँगै अन्य पेयपदार्थसमेत सोही अनुपातमा खपत हुँदै आएको छ ।

पछिल्लो समय आयातित पेय पदार्थ प्रयोगमा न्यूनीकरण गर्न जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने स्थानीयले स्वतःस्फूर्तरुपमा प्रतिबन्ध लगाउने कार्य सुरु गरेका छन् । जिल्लाका कतिपय ठाउँका स्थानीयले आयातित पेय पदार्थ सेवन गरेको पाएमा जरिवाना गर्ने निर्णय गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयातित पेय पदार्थ प्रतिबन्ध लगाउने निर्णय पहिलो पटक उल्लङ्घन गर्नेलाई रु पाँच हजार, दोस्रो पटक गर्नेलाई रु सात हजार र तेस्रो पटक पनि उल्लङ्घन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्ने गरिएको छ ।

आयातित पेयपदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै फजुल खर्च भएको भन्दै स्थानीयले प्रतिबन्ध लगाउन थालेका हुन् ।

स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं। स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो।

दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

किन रोकियो ग्वार्को फ्लाइओभर निर्माणको काम ?

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । २०७८ फागुनमा सुरु गरिएको ओभरपास निर्माण परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको थियो ।

तर, हालसम्म पनि काम सम्पन्न भइसकेको छैन । झनै, पछिल्लो एक महिनादेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प छ । यसको मुख्य कारण निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाएको हो ।

यसअघि पनि बर्खायामका कारण भन्दै चार महिनासम्म निर्माण कार्य रोकिएको थियो । बीचमा केही प्रगति भए पनि गति अपेक्षाकृत थिएन । सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार पछिल्लो एक महिनायता निर्माण व्यवसायीले कुनै गतिविधि अघि बढाएका छैनन् ।

यस परियोजनाको नेतृत्व लिएको आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कार्य मुख्यतः रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । प्रारम्भिक सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्धारित म्याद गुज्रिसकेको हुँदा दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक म्याद २०८१ पुस ९ सम्म लम्ब्याइएको थियो । उक्त अवधिभित्र पनि निर्माण कार्य पूरा नभएपछि पुस १० बाट निर्माण व्यवसायीलाई जरिवाना लगाएर काम अघि बढाइएको थियो ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि जरिवानासहित निर्माण कार्य अघि बढाइएको थियो । तर, कामको गति अपेक्षाकृत रूपमा अघि नबढेको उनको भनाइ छ । उनले निर्माण कम्पनीहरूसँग आवश्यक छलफल भइरहेको र छिट्टै निर्माण कार्य पुनः सुरु हुने आशा व्यक्त गरे ।

यता, आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले निर्माण कार्य रोक्नुको जिम्मेवारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशनलाई दिएका छन् । उनका अनुसार केन्द्रका अधिकारीहरूले पहिल्यै परीक्षण भइसकेका कामहरूलाई बारम्बार दोहोर्याएर जाँच गर्न लगाएर निर्माण प्रक्रियामा अवरोध पुर्याएका छन् ।

मन्त्रालयमा सरुवा भएका पूर्वनिर्देशक प्रभातकुमार झाले भने आफूले काममा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । उनले भने, ‘गुणस्तर परीक्षण आवश्यक भएकाले केन्द्रले तोकेको मापदण्डअनुसार जाँच गर्न लगाइएको हो, नयाँ परीक्षण भने गराइएको छैन ।’

हालसम्म ओभरपास निर्माणमा ४४ करोड रुपैयाँ खर्च भइसकेको छ भने थप १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । अहिलेसम्म कुल ८२ प्रतिशत काम मात्र सम्पन्न भएको छ । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण भइरहेको यस ओभरपासका क्रममा विभिन्न प्राविधिक समस्याहरू देखिएका कारण काम पटक–पटक रोकिएको हो ।

५४० मिटर लामो यो ओभरपासमा आवतजावत सहज बनाउने संरचनाहरू निर्माण गरिँदैछ । छेउछाउमा कंक्रीट प्यानल र पोलिमर रेन्फोर्समेन्ट प्रविधि प्रयोग गरेर र्याम्प निर्माण गरिने योजना छ । तर, सातदोबाटोतर्फ निर्माण गरिएको ४० मिटर लामो र्याम्प पुनः झिकेर राख्नुपर्ने अवस्था आएको छ । आयोजनाका अनुसार केही निर्माण कार्यमा त्रुटि देखिएकाले पुनःसमस्या समाधान गर्नुपरेको हो ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन। भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पारेका हुन् ।

विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रुपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ ।

खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् ।

सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उनीहरुले सुझाव दिएको देवकोटाले जानकारी दिए । उनका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

वैज्ञानिकहरूसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताए ।

माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए ।

उनले भने, ‘यसले मौरीलाई ठूलो असर पुर्याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ ।’ भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, ताइवान, कोरिया, बङ्गलादेश, भारत र नर्वेका वैज्ञानिक सहभागी हुनुहुन्छ । आजसम्म हुने सम्मेलनमा वैज्ञानिकहरूले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिए ।

करिब ७०० भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उनले जानकारी दिए । सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रुपमा अन्तरक्रिया गरिएको छ । यससँगै बाहिरबाट आएका वैज्ञानिकहरूले यहाँका कृषिसित सम्बन्धित विभिन्न विषयमा स्थलगत अध्ययन गरी सुझाव दिएका छन् ।

ऐतिहासिक टक्सारलाई संरक्षणको खाँचो

भोजपुर। औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यति बेला संरक्षणको पर्खाइमा छ ।

यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ ।

यहाँ निर्माण भएका धातुका सामानहरू देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।

भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरूले बताउने गरेका छन् ।

१८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकारले बताए । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए । अहिले पनि ती पैसाहरू पाउन सकिने उनको भनाइ छ ।

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । ‘यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,’ उनले भने, ‘अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरू निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।’

तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो ।

टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउछन् । पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ ।

त्यति बेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो । ‘यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ’, उनले भने, ‘यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरू स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।’

वि.सं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो । त्यति बेला बजारमा मानिसहरूको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ ।

२००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरू बताउँछन् ।

टक्सारमा बनेका हस्तकलाका सामग्री भुटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरू पनि बर्सेनि बन्द भइरहेका छन् ।

यहाँका कालिगडहरूले हाते उद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् ।

दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँच वटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए । यी उद्योगहरूले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए ।

यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्त्व मेटिने अवस्था आएको उनको भनाइ छ । ‘टक्सार धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बजार हो’, उनले भने, ‘तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँच वटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धेरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।’

एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरू पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरू धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ ।

कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग सङ्कटमा परेको उनले बताए । ‘टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो’, उनले भने, ‘तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ ।’ मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ । अधिकांश कलात्मक घर प्रायः खाली छन्भने कतिपय घरहरू भत्किसकेका छन् । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरू जीर्ण भएर बजारको स्वरूप बिग्रँदै गएको उनको भनाइ छ ।

टक्सारका परम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताए । घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ । यहाँका करिब ५० देखि ६० प्रतिशत मानिसहरु घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताए । ‘टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,’ उदासले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ । कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन् । बजार सुनसान छ ।’

राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटी पौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरू बताउँछन् । तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरू निर्माण गरिन्थ्यो ।

इतिहास अनुसार १६ औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरू पनि खोलिएको स्थानीय जानकारहरूको भनाइ छ ।

अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेको स्थानीयवासी रोशन शाक्यले बताए । पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उनको भनाइ छ । त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उनको भनाइ छ ।

बसाइँ सरेर गएका मानिसहरूले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरू जीर्ण बनेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताइन् । यहाँको ऐतिहासिकतालाई बचाई राख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ ।

मुख्य रुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन् । विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ । ‘यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरू बन्द हुँदै गएका छन्,’ वडाध्यक्ष कार्कीले भनिन्, ‘अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।’

यहाँको घर छाडेर काठमाडौँ विराटनगरलगायत सहरमा बस्नेहरूले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उनको भनाइ छ । ‘धेरैले घर छाडेर हिँडेका छन्,’ उनले भनिन्, ‘ती छाडिएका घरहरू भत्किन थालेको अवस्था छ । नयाँ बस्ती विस्तार हुन सकेको छैन ।’ यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उनले बताइन् । टक्सारमा शाक्यमुनि बौद्ध विहार रहेको छ । यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दूरीमा अवस्थित छ ।

यहाँ नजिकै टक्सार विमानस्थल छ । टक्सार बजारका धातु उद्योगहरूलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरूलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरू बताउँछन् ।

यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरूले धान्न सकिरहेका छैनन् । बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

क्यान्सर निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर नियन्त्रणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले क्यान्सर निवारणका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले उपचारात्मक र निरोधात्मक उपायहरूको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै पाठेघरको क्यान्सरको समस्या गम्भीर रहेको धारणा व्यक्त गर े। उनका अनुसार सबैको सामूहिक प्रयासबाट मात्र यसको न्यूनीकरण सम्भव छ ।

मन्त्री पौडेलले क्यान्सरको रोकथामका लागि सरकार प्रतिबद्ध भए पनि आवश्यक स्रोत र साधनको अभाव रहेको स्वीकार गरेका छन् । सहकार्य र रणनीतिक पहलमार्फत क्यान्सर निवारण सम्भव रहेको उनले उल्लेख गरे । ‘क्यान्सर निवारणका लागि उपचार र रोकथाम दुबै क्षेत्रमा थप प्रयास आवश्यक छ । नेपालमा दिनहुँ चार महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण भइरहेको तथ्यांकले गम्भीर चुनौती औंल्याउँछ । त्यसैले, यसलाई न्युनिकरण गर्दै पूर्णरूपमा नियन्त्रण गर्ने हाम्रो लक्ष्य हुनुपर्छ,’ उनले भने ।

उनले पाठेघरको क्यान्सर रोकथामलाई प्राथमिकतामा राखी सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । स्रोत तथा साधनको अभावलाई सम्बोधन गर्दै सहकार्यको दायरा फराकिलो बनाउन सके क्यान्सर निवारणमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने मन्त्री पौडेलको धारणा छ ।