जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ११ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १३ घन्टा अगाडि
  • १३ घन्टा अगाडि

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पा। पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

रैनादेवी छहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहे तापनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो ।

जिल्लाका दश पालिका मध्ये ६ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन्।

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिचेको तस्बिर प्रदर्शनी गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्बिर राखिएका थिए ।

सो अवसरमा राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिन तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

उनले विदेशमा रहेका सबैले नेपालको प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटकपटक सपरिवार नेपाल घुम्न पनि जोड दिइन् ।

न्यू साउथ वेल्स (एनएसडब्लु)का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने बताए ।

सो अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गरेका थिए ।

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र

भोजपुर। भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।

दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआईपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।

शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ ।

अध्यक्ष राईका अनुसार दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ ।

निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताए ।सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

दूधकोशी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी–५ होम्ताङका स्थानीय एक्सन राईले बताए । सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

क्यानाडा र मेक्सिकोमाथि अमेरिकाले निर्धारण गरेको २५ प्रतिशत कर एक महिनालाई स्थगित

न्युयोर्क। क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई देश माथि लगाइएको अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन्।

ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ। यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ। ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो।

ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन। ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्।

अमेरिकाको व्यापार युद्ध तत्कलका लागि उत्तर अमेरिकी छिमेकीसँग रोकिए पनि युरोपेली युनियन र बेलायतसँग अब कता जाने भन्ने चासो भने थपिएको छ। ट्रम्पबाट यो निर्णय गर्नु भन्दा अगाडि क्यानडा र अमेरिकाको बीचमा तल्लो तहमा नै पुगेर आलोचना भएको थियो।

क्यानडाको श्रम सङ्गठन युनिफोरको प्रमुख तथा प्रधानमन्त्री जस्टिन ट्रेडेउको निकटस्थ लाना पायनाले ३० दिनका लागि स्थगित भए पनि त्यस पछिको निर्णयमा चासो रहेको बताएकी छिन्। क्यानडाका सबै भन्दा ठुलो मजदुर सङ्गठन युनिफोरमा तीन लाख २० हजार सदस्य छन्।

महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः आज थाइल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं। महिला टी–ट्वान्टी आई त्रिकोणात्मक सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सिरिजमा पहिलो जीतको खोजीमा छ ।

कीर्तिपुर स्थित टीयू मैदानमा खेल सवा १२ बजे सुरु हुनेछ । इन्दु बर्माको टिम लगातार पाँच खेलदेखिको जीतविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ । यसै सिरिजमा यसअघि खेलेका तीन खेलमा पनि नेपालले जीत हात पार्न सकेन ।

थाइल्यान्डसँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालले ९ विकेट गुमाएर १ सय १ रन मात्र बनाएको थियो । थाइल्यान्डविरुद्ध नेपालले बनाएको यो अहिलेसम्मको उच्च योगफल हो । कविता कुँवर र विन्दु रावलले २५–२५ रन बनाएका थिए । जवाफमा थाइल्यान्डले एक ओभरअघि नै लक्ष्य पूरा ग¥यो ।

महिला सिनियर टिमले थाइल्यान्डलाई हराउन नसकेको १२ वर्षभन्दा बढी समय भइसकेको छ । सन् २०१९ मा भएका दुई खेलमा नेपाल ७० र ५७ रनले पराजित भएको थियो । २०२३ मा ४६ रनको हार बेहोर्यो ।

सिरिजमा नेदरल्यान्ड्ससँगका दुवै खेल पनि नेपालले गुमाइसकेको छ । अघिल्लो खेलमा डच टिमविरुद्ध १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २५ रनमा रोकियो । सीता राना मगरले नेदरल्यान्ड्सका पाँच विकेट लिए पनि त्यो जितको आधार बन्न सकेन । खराब फर्मसँगै कविता कुँवरको चोटले नेपाललाई थप धक्का लागेको छ । नेदरल्यान्ड्ससँगको खेल गुमाएकी कविता सिरिजमा फर्किने सम्भावना न्यून छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

सिरिजमा थाइलयान्ड ३ मा ३ खेल जित्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यदि, नेपाललाई आज पराजित गरे थाइल्यान्ड उपाधि नजिक पुग्नेछ । दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक छ । पुछारमा रहेको नेपाल अंकविहीन छ । यदि थाइल्यान्डलाई हराउने हो भने नेपालले फिल्डिङ र रनिङ रन रोटेमा उल्लेख्य सुधार गर्नुपर्नेछ ।

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

काठमाडौं। नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ । दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् । स्थानीयले तातोपानी कुण्डको संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

म्याग्दी नदी बढेका बेला उक्त कुण्डमा असर पर्ने भएकाले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ थियो ।

स्थानीयले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै दाहालले यसका लागि पहल गर्ने बताएका थिए ।

दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकोमा खुसी व्यक्त गरे ।

उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, अध्यक्ष दाहालले बेनी नगरपालिका– ४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले शहीद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै शहीदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए ।

मनाङको तिमाङ र गौरीशंकर संरक्षण क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

मनाङ। मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा शुक्रवारदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो ।

चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।

‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन व्यस्त छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए । उनले भने, ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।’

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।’ सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।

‘आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ’, कार्यालय प्रमुख भुजेलले भने ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।

गण्डकी प्रदेशको आज आठौँ स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा छ ।

गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक सेवा प्रदायक निकायमा बिदा दिइएको हो ।

२०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढिरहेको बताए ।

अमेरिकी डलरको मूल्य बढ्योः आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ४५ पैसा र बिक्रीदर ८६ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपियाँ ७२ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ नौ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ११ पैसा र बिक्रीदरट ३१ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३९ पैसा र बिक्रीदर १२ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ १० पैसा र बिक्री दर १९ रुपियाँ १८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपियाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपियाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपियाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ १३ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

काठमाडौं। अण्डाको मूल्य बढेको छ । अण्डाको खपत बढेसँगै मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउने भएकाले न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको पोखरेलले जनाएका छन् ।

अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ।

आजबाट किसानले ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पाउनेछन् ।

पाथीभरा केबलकार विवादः वार्ता निष्कर्षविहीन, बैठक आज पनि बस्दै

काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबार राती भएको वार्ता सकारात्मक रूपमा टुंगिएको छ।

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। “वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, आज ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ।

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबै जना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।

उनले भने, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दछौँ।”

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसै गरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उनले भनिन्, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकारात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।”

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । उनले भने, “विश्वका एक सय ४५ भन्दा बढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।”

खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा. बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फैलाएका पाएका छौँ । ती भ्रम मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए÷नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।”

राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक-एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसै गरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०-७०-९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।