जोडिनुहोस

त्रिदेशीय महिला टी–२०ः थाइल्यान्डसँग नेदरल्यान्ड्स १७ रनले पराजित

काठमाडौं। राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । यस्तै, क्यारोलिन डी ल्यासले १० रन बनाइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् ।

नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन् ।

नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो । यसअघि नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भोलि थाइल्यान्डसँग खेल्नछ ।

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने भएको छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठकमा १० जना थप केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने प्रस्ताव भएको छ।

तर, जारी बैठकमा सैद्धान्तिक सहमति जुटाएर केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी सो प्रस्ताव पेस भएको हो । हाल कार्यकारिणी सदस्यको सङ्ख्या ३१ रहेको छ । यो बैठकबाट प्रस्ताव अनुमोदन भएमा ४१ सदस्सीय हुनेछ ।

साथै, जारी बैठकमा पार्टीको केन्द्रीय विभाग तथा सल्लाहकार समितिलाई पूर्णता दिइने, आगामी संगठनात्मक, राजनीतिक कार्यक्रम तथा कार्य योजनामा छलफल चलिरहेको जनाइएको छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे छलफल भइरहेको छ । साथै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेका छन् ।

शनिवार र आइतबार बोली नभ्याएका केन्द्रीय कार्यकारिणी समितिका बाँकी नेताहरूले अहिले धारणा राखिरहेका छन् । साथै, मधेश केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगञ्ज। बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा तीन हजार १८३, कोहलपुरमा सात हजार ४४८, बैजनाथमा चार हजार ११४, खजुरामा पाँच हजार ८७२, जानकीमा एक हजार ९५०, नेपालगञ्जमा नौ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन् ।

पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइने उनले बताए ।

दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य छ ।

प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए।

नेपालगञ्जका फिजिसियन डा. राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर यसमा खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइसरविरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिए ।

उनले नेपालगञ्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल गरिएको उल्लेख गर्दै विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइने बताए।

जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन् । खोपकेन्द्र तीन सय ७८ विद्यालयमा र ८१ अन्यत्र रहेका छन् ।

गण्डकीको हिउँदे अधिवेशन सुरु, निजामती सेवा अध्यादेश टेबल

पोखरा। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् ।

ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर अनुकूलका कर्मचारी राख्न पुस ११ गते अध्यादेश ल्याइएको थियो । १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश प्रमाणीकरण गरेका थिए।

बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ ।

म्याग्दीकी गौचनको कात्तिक २८ गते निधन भएको थियो । सभामुख धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए । प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो ।

यस्तै गण्डकी प्रदेश सभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य सुनिता थापाको सहजताका लागि सचिवालयले दोभासेको व्यवस्था गरेको हो ।

त्यसो त यसअघि नै प्रदेश सभामा दोभासे राख्नुपर्ने आवाज उठिरहेकै थियो । प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण उनकै सहजताका लागि प्रदेश सभा सचिवालयले ज्यालादारीमा दोभासे राखेको हो ।

समानुपातिक सदस्यमा मनोनीत थापा आज पहिलो पटक प्रदेश सभाको बैठकमा उपस्थित भएकी हुन् ।

पार्टीभित्र एकता भए बहुमत प्राप्त गर्न सकिन्छः सभापति देउवा

गण्डकी। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रूपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए।

‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’

उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे।

सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए।

सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।

प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे। उनले पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए ।

पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू संकलन गरी पुस्तिकालाई अन्तिम रूप दिने बताए।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए।

कांग्रेसको एकदिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहेका छन् ।

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

जानकी। ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरू रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए ।

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगन्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिनुभएको थियो । मोटरसाइकल चालक गिरीले ई–रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए।

‘म पहिला आइरहँदा यहाँ ई–रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु’, उनले भने, ‘ट्राफिक लाइटको नियम लागू भएपछि अब त रिक्सा पनि व्यवस्थित रूपमा चल्ने भएछन् ।’

नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागू भएसँगै पूर्वपश्चिम र उत्तर दक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारी साधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन् ।

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षण काल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रूपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रूपले सडकमा हिँड्न सहयोग गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए।

‘ट्राफिक लाइटको नियम लागू भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ’, उनले भने, ‘पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ ।’

सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगञ्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कुल पु¥याउने समयभन्दा आधा घण्टा अगाडि नै निस्कने गरेको नेपलगञ्ज–१० ट्राफिक चोक निवासी सरिता थापाले बताए ।

‘पहिला १०–१५ मिनेट अघि छोरीलाई स्कुल पु¥याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडि नै निस्कने गरेको छु’, उनले भने ।

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ । गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए ।

‘यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ’, उनले भने,’विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारी साधन चालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ ।’

उनका अनुसार तीन–चार पटकसम्म सम्झाई बुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरूप चिट काटेर कारबाही गरिएको छ ।

ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट रु चार हजारसम्मको राजस्व सङ्कलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए । नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरू केन्द्रित रहेको आचार्यको भनाइ थियो ।

‘रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारी साधन चालक र यात्रुहरू रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ’, उनले भने, ‘यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियुटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि बिपी चोकमा हुने दुर्घटनामा कमी आएको छ ।

पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए ।

उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ ।

पाथीभरा केबलकार निर्माणको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौं। पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार काठमाडौँको माइतीघरमा सो विरोध प्रदर्शन गरिएको हो ।

‘नो केबलकार समूह’ ले विरोध प्रदर्शन गर्दै केबलकार निर्माण गरेर पाथिभराको धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

उनीहरूले ‘मुक्कुमलुङ संरक्षण प्रेमीहरू माथि गोली चलाउन पाइदैन्, राज्य आतङ्क बन्द गर !’ भन्दै विभिन्न प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका छन् ।

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैङ्क शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।

महत्त्व नबुझ्दा टक्सारको सरस्वती गुफा ओझेलमा

भोजपुर। श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्त्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्त्व बोकेका स्थानभन्दा पनि विद्यालय स्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् ।

सदरमुकामदेखि आधा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो ।

सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्त्व कम हुँदै गएको स्थानीयको भनाइ छ ।

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए ।

उनले भने, ‘ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेको छ, सोही कारण पनि यो गुफाको महत्त्व देखिएको छ ।’

वि.सं १९९० को भूकम्प अघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर शिवनाथबाट भित्र–भित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाको मुखबाट सुन्न पाइन्छ । भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहज रुपमा आवत–जावत गर्न समस्या भएको हो ।

बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्त्व बढ्नाका साथै गुफा धार्मिक स्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठले बताए ।

विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्त्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ ।

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्त्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, ‘यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, यसका लागि जिल्ला तहका माथिल्लो निकायमा पुगेकाहरूले पनि पहल गर्नुपर्छ ।’

सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा सो गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ ।

अहिलेको परिवर्तित अवस्थामा पुराना परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान नगएका कारण सरस्वती गुफाजस्ता धार्मिक स्थल नाममा मात्र सीमित बन्दै गएको स्थानीय टक्सारवासीको गुनासो रहेको छ ।

विगतमा सरस्वती पूजा गर्नका लागि मन्दिरहरूमा भीड बढ्ने गरेको भए पनि अहिले आएर घरघरमै र विद्यालयका विद्यार्थीले स्कुलमा नै पूजा गर्न थालेपछि पनि यस्ता ऐतिहासिक गुफाको महत्त्व कम हुँदै गएको स्थानीय अमृका ताम्राकारको धारणा छ ।

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्दै ‘रामपुर नगरपालिका’

पाल्पा। रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवद्र्धनमा सघाइरहेको छ ।

नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्धन कार्य गरिरहेको छ ।

नगरपालिकाले बिक्री कक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।

मेला अवलोकन गर्न आउनेले स्थानीय उत्पादन भएकाले आकर्षक मान्दै जानकारी लिने र सामान खरिद गर्ने गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बताइन् ।

‘नगरपालिकाभित्र महिलाले उत्पादन गरेका सामग्रीको प्रचार–प्रसार गर्न, बजारीकरणमा सहयोग होस् भन्ने उद्देश्यले बिक्री कक्षमा राखेका छौँ’, उनले भनिन्, ‘बिक्री कक्षमा कर्मचारी तथा उद्यमी पालो मिलाएर बस्ने गरिएको छ, यसले महिला उद्यमीमा एउटा उत्साह थपिएको छभने रामपुरको उत्पादन यहाँ आउने दर्शकले अवलोकन, खरिद गर्ने गर्नुभएको छ ।’

बिक्री कक्षमा कफी, साबुन (नुहाउने, लुगा धुने, भाँडा सफा गर्ने), आलु चिप्स, रोटी, दुना टपरी, फिनेल, ह्यान्डवास, पिताम्बरी, मकैको खोस्टा र थाकलको पातबाट तयार पारिएका टोपी, झोलालगायत स्थानीय सामग्री प्रदर्शनी कक्षमा राखिएको नगरपालिकाका कर्मचारी सञ्जु परियारले बताइन् ।

उनका अनुसार मकैको खोस्टा र थाकलको पातबाट बनेका सामान नौलो भएकाले मेलामा आउने दर्शक तथा अतिथि, कलाकारले अवलोकन गर्ने, बुझ्ने गरेका छन् । न्यूनतम ५० देखि बढीमा एक हजार ५०० सम्म मूल्य पर्ने सामग्री प्रदर्शनी कक्षमा छन् ।

स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व आइसकेपछि नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम आयोजना गरी उद्यमी उत्पादन गरेको छ ।

नगरपालिकाको सहयोगमा ज्ञान सीप सिकेर विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका छन् । महिलालाई सीप सिकाएर उद्यमीका रुपमा विकास गरिनुपर्छ भन्ने हिसाबले विभिन्न तालिम तथा कार्यक्रममा जोड दिने गरेको नगर उपप्रमुख बालकुमारी थापा बताउछिन् । स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोसेली घर सञ्चालनमा ल्याएको उपप्रमुख थापा बताउछिन् ।

एकल वा संयुक्त तथा समूहमा व्यवसाय गर्न चाहने महिलालाई सूचना जारी गरी हरेक वर्ष उद्यमी उत्पादन गर्ने खालका विभिन्न कार्यक्रममा सहभागी गराइने गरिएको छ ।

तालिमपश्चात् व्यवसाय, उद्योग चलाउनका लागि नगरपालिकाले आर्थिक तथा विभिन्न उपकरणजन्य सामग्री सहयोग गरिरहेको छ । नगरपालिकाको सहयोगमा उद्यमी तथा व्यवसायी बन्न चाहनेले भने नगरपालिकामा आफ्नो उद्योग, व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ ।

दुई पोथी गैँडा स्थानान्तरण

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिवार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्र मल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिवार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

उनका अनुसार शनिवार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् । शनिवार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइताबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चार वटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा। पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।