जोडिनुहोस

पाथीभरा केबलकार निर्माणको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौं। पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार काठमाडौँको माइतीघरमा सो विरोध प्रदर्शन गरिएको हो ।

‘नो केबलकार समूह’ ले विरोध प्रदर्शन गर्दै केबलकार निर्माण गरेर पाथिभराको धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

उनीहरूले ‘मुक्कुमलुङ संरक्षण प्रेमीहरू माथि गोली चलाउन पाइदैन्, राज्य आतङ्क बन्द गर !’ भन्दै विभिन्न प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका छन् ।

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैङ्क शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।

महत्त्व नबुझ्दा टक्सारको सरस्वती गुफा ओझेलमा

भोजपुर। श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्त्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्त्व बोकेका स्थानभन्दा पनि विद्यालय स्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् ।

सदरमुकामदेखि आधा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो ।

सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्त्व कम हुँदै गएको स्थानीयको भनाइ छ ।

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए ।

उनले भने, ‘ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेको छ, सोही कारण पनि यो गुफाको महत्त्व देखिएको छ ।’

वि.सं १९९० को भूकम्प अघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर शिवनाथबाट भित्र–भित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाको मुखबाट सुन्न पाइन्छ । भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहज रुपमा आवत–जावत गर्न समस्या भएको हो ।

बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्त्व बढ्नाका साथै गुफा धार्मिक स्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठले बताए ।

विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्त्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ ।

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्त्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, ‘यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, यसका लागि जिल्ला तहका माथिल्लो निकायमा पुगेकाहरूले पनि पहल गर्नुपर्छ ।’

सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा सो गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ ।

अहिलेको परिवर्तित अवस्थामा पुराना परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान नगएका कारण सरस्वती गुफाजस्ता धार्मिक स्थल नाममा मात्र सीमित बन्दै गएको स्थानीय टक्सारवासीको गुनासो रहेको छ ।

विगतमा सरस्वती पूजा गर्नका लागि मन्दिरहरूमा भीड बढ्ने गरेको भए पनि अहिले आएर घरघरमै र विद्यालयका विद्यार्थीले स्कुलमा नै पूजा गर्न थालेपछि पनि यस्ता ऐतिहासिक गुफाको महत्त्व कम हुँदै गएको स्थानीय अमृका ताम्राकारको धारणा छ ।

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्दै ‘रामपुर नगरपालिका’

पाल्पा। रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवद्र्धनमा सघाइरहेको छ ।

नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्धन कार्य गरिरहेको छ ।

नगरपालिकाले बिक्री कक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।

मेला अवलोकन गर्न आउनेले स्थानीय उत्पादन भएकाले आकर्षक मान्दै जानकारी लिने र सामान खरिद गर्ने गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बताइन् ।

‘नगरपालिकाभित्र महिलाले उत्पादन गरेका सामग्रीको प्रचार–प्रसार गर्न, बजारीकरणमा सहयोग होस् भन्ने उद्देश्यले बिक्री कक्षमा राखेका छौँ’, उनले भनिन्, ‘बिक्री कक्षमा कर्मचारी तथा उद्यमी पालो मिलाएर बस्ने गरिएको छ, यसले महिला उद्यमीमा एउटा उत्साह थपिएको छभने रामपुरको उत्पादन यहाँ आउने दर्शकले अवलोकन, खरिद गर्ने गर्नुभएको छ ।’

बिक्री कक्षमा कफी, साबुन (नुहाउने, लुगा धुने, भाँडा सफा गर्ने), आलु चिप्स, रोटी, दुना टपरी, फिनेल, ह्यान्डवास, पिताम्बरी, मकैको खोस्टा र थाकलको पातबाट तयार पारिएका टोपी, झोलालगायत स्थानीय सामग्री प्रदर्शनी कक्षमा राखिएको नगरपालिकाका कर्मचारी सञ्जु परियारले बताइन् ।

उनका अनुसार मकैको खोस्टा र थाकलको पातबाट बनेका सामान नौलो भएकाले मेलामा आउने दर्शक तथा अतिथि, कलाकारले अवलोकन गर्ने, बुझ्ने गरेका छन् । न्यूनतम ५० देखि बढीमा एक हजार ५०० सम्म मूल्य पर्ने सामग्री प्रदर्शनी कक्षमा छन् ।

स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व आइसकेपछि नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम आयोजना गरी उद्यमी उत्पादन गरेको छ ।

नगरपालिकाको सहयोगमा ज्ञान सीप सिकेर विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका छन् । महिलालाई सीप सिकाएर उद्यमीका रुपमा विकास गरिनुपर्छ भन्ने हिसाबले विभिन्न तालिम तथा कार्यक्रममा जोड दिने गरेको नगर उपप्रमुख बालकुमारी थापा बताउछिन् । स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोसेली घर सञ्चालनमा ल्याएको उपप्रमुख थापा बताउछिन् ।

एकल वा संयुक्त तथा समूहमा व्यवसाय गर्न चाहने महिलालाई सूचना जारी गरी हरेक वर्ष उद्यमी उत्पादन गर्ने खालका विभिन्न कार्यक्रममा सहभागी गराइने गरिएको छ ।

तालिमपश्चात् व्यवसाय, उद्योग चलाउनका लागि नगरपालिकाले आर्थिक तथा विभिन्न उपकरणजन्य सामग्री सहयोग गरिरहेको छ । नगरपालिकाको सहयोगमा उद्यमी तथा व्यवसायी बन्न चाहनेले भने नगरपालिकामा आफ्नो उद्योग, व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ ।

दुई पोथी गैँडा स्थानान्तरण

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिवार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्र मल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिवार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

उनका अनुसार शनिवार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् । शनिवार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइताबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चार वटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा। पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरैनी तालमा चराको सङ्ख्या घट्यो

कञ्चनपुर। बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए ।

‘पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो’ उनले भने ‘हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।’

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन् ।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताए ।

रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ । ‘ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्’ चरा विज्ञ डगौराले भने ‘विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ ।’

स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उनी जोड दिन्छन् । चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन् । नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउछन् । ‘ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ’ उनले भने ‘नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ ।’

गण्डकीमा भोली सार्वजनिक बिदा

काठमाडौं। गण्डकी प्रदेशमा मंगलबार (भोली) सार्वजनिक बिदा हुने भएको छ ।

स्थापना दिवसको अवसरमा सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले बताए ।

माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबिच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने छ ।

यही माघ ३० गते गर्ने भनिएको अधिवेशन केही दिनपछि गर्ने तालिका हेरफेर गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ ।

बैठकमा सबै जन वर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ ।

केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।

केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।

सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुशी व्यक्त गरे ।

वि.सं २०६४ सालमा संविधानसभाको निर्वाचनमा काठमाडौँ–१ बाट निर्वाचित भए देखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको भनाइ थियो ।

‘काठमाडौँ–१ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैनन् । राम्रो नतिजा सुन्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गरे ।

विद्यालयलाई अझ राम्रो बनाउन निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उनको भनाइ थियो

आइसिसीको टिम अफ द टुर्नामेन्टमा पूजा महतो

काठमाडौं। यु–१९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा नेपाली स्टार अलराउण्डर पूजा महतो पनि पर्न सफल भएकी छन् ।

पूजा विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडी भित्र पर्न सफल भएकी हुन् ।

आइसिसीले सार्वजनिक गरेको सूचिमा एसोसिएट राष्ट्रबाट नेपालकी पूजा मात्रै परेकी छन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा ७० रन बनाएकी थिइन् ।

पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।

वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक

काठमाडौं। वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरुको बैठक सुरु भएको छ ।

सोमवार ललितपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा सात वटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरूको सहभागिता रहेको छ ।

बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पुर्याउने भन्ने विषयवस्तुहरू रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताए । उनले साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिए ।

उनले भने ‘हाम्रो संविधानले वनको संरक्षण संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा पनि व्यवस्था गरेको छ । एकल सूचिमा पनि व्यवस्था गरेको छ । वनको संरक्षणमा तीन तहकै सरकारले सहकार्य, समन्वय कायम गरेर जाने भन्ने छ । त्यो कसरी कायम गर्ने भन्दा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध भन्ने छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनको दफा २२ मा विषयगत समिति रहने व्यवस्था छ । विषयगत समितिमा नेपाल सरकारका मान्य मन्त्रीज्यु अध्यक्ष, सात वटै प्रदेशका वन विषय हेर्ने मन्त्रीज्युहरु सदस्य रहने । मन्त्रीज्यूले तोकेको एक जना स्थानीय तहको व्यक्ति सदस्य रहने व्यवस्था छ । त्यसले वन क्षेत्रका विभिन्न सवालहरूमा छलफल गरेर एउटा निचोड निकालेर आगामी कार्यक्रम कार्यान्वयन गर्ने । वन व्यवस्थापन गर्न काठ दाउरा व्यवस्थापन, उत्पादन भएको काठ दाउरा सरल तरिकाले विक्री गर्ने र कसरी जनताको घरमा पुर्याउने भन्ने छ । वन डढेलो लाग्यो भने कसरी पूर्वतयारी गर्ने र लाग्नै नदिन कसरी योजना बनाएर अघि बढ्ने भन्ने छ ।’

उनले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।