जोडिनुहोस

वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक

काठमाडौं। वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरुको बैठक सुरु भएको छ ।

सोमवार ललितपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा सात वटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरूको सहभागिता रहेको छ ।

बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पुर्याउने भन्ने विषयवस्तुहरू रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताए । उनले साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिए ।

उनले भने ‘हाम्रो संविधानले वनको संरक्षण संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा पनि व्यवस्था गरेको छ । एकल सूचिमा पनि व्यवस्था गरेको छ । वनको संरक्षणमा तीन तहकै सरकारले सहकार्य, समन्वय कायम गरेर जाने भन्ने छ । त्यो कसरी कायम गर्ने भन्दा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध भन्ने छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनको दफा २२ मा विषयगत समिति रहने व्यवस्था छ । विषयगत समितिमा नेपाल सरकारका मान्य मन्त्रीज्यु अध्यक्ष, सात वटै प्रदेशका वन विषय हेर्ने मन्त्रीज्युहरु सदस्य रहने । मन्त्रीज्यूले तोकेको एक जना स्थानीय तहको व्यक्ति सदस्य रहने व्यवस्था छ । त्यसले वन क्षेत्रका विभिन्न सवालहरूमा छलफल गरेर एउटा निचोड निकालेर आगामी कार्यक्रम कार्यान्वयन गर्ने । वन व्यवस्थापन गर्न काठ दाउरा व्यवस्थापन, उत्पादन भएको काठ दाउरा सरल तरिकाले विक्री गर्ने र कसरी जनताको घरमा पुर्याउने भन्ने छ । वन डढेलो लाग्यो भने कसरी पूर्वतयारी गर्ने र लाग्नै नदिन कसरी योजना बनाएर अघि बढ्ने भन्ने छ ।’

उनले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

सूर्य विनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो ।

यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ । मध्यपहाडी क्षेत्रका राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिइरहेको अरनिको राजमार्गको सूर्य विनायक–धुलिखेल सडक खण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रमा भने सुगमता दिलाएको आभास हुन थालेको छ ।

करिब दुई वर्षअघि सुरु गरिएको यस आयोजना (१६ किलोमिटर) को हाल ३५ प्रतिशत काम सकिएको जनाइएको छ ।

सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाद्वारा निर्माणाधीन सडक विस्तार कार्यले हाल तीव्रता समेत पाएको छ । अन्य राजमार्गबाट सवारीसाधन धुलिखेलबाट अरनिको राजमार्ग हुँदै एकोहोरो रुपमा राजधानी जाने गर्दछन् ।

यस कारण पनि सूर्य विनायक–धुलिखेल सडकखण्ड विस्तारले यातायातको क्षेत्रमा सुगमता थप्ने भएको हो । अरनिको राजमार्गको प्रस्थानविन्दु कोटेश्वरदेखि सूर्य विनायकसम्म भने एक दशकअघि छ लेनमा विस्तार गरिसकिएको हो ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यस सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।

दुई लेन रहेको अरनिको राजमार्गको यस सडक खण्डलाई छ लेनका लागि विस्तार कार्य भइरहेको छ । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । यो खण्ड विस्तारपछि सूर्य विनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सडक विस्तार कार्य सम्पन्न भएपछि यस क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँ प्रवेशका लागि निकै सुगमता हुने बताइन्छ । ‘अरनिको राजमार्गको सूर्य विनायक–धुलिखेल सडकखण्ड विस्तार गौरवको आयोजना हो, सडक विकासमा एउटा फड्को हो, यो सम्पन्न भएपछि मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईसम्मका यातायातमा आवतजावतका लागि सुगमता थपिनेछ’, प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार यो खण्डको विस्तार कार्य सकिएपछि अरनिको राजमार्ग थप विस्तार कार्यलाई अघि बढाइनेछ ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ सडक विस्तार कार्यले काभ्रेली नागरिकमा खुसीयाली छाएको बताउछन् । उनी भन्छन्, ‘केही वर्षदेखि सडकमा सवारी चाप बढिरहेकाले काठमाडौँ पुग्ने २५ किमि सडकमा डेढ दुई घण्टा लाग्ने गर्दथ्यो, अब छ लेनको बनेपछि सजिलो गरी आधा घण्टा–पौने घण्टामा पुग्नेछौँ, यो निकै खुसीको कुरा हो ।’ उनले सडकमा देखिएका विविध समस्या सुल्झाएर आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएकामा छिट्टै सम्पन्न हुने विश्वास गरेको बताए ।

आयोजनाको आग्रहअनुसार दिनका करिब पाँच घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई थप तीव्रता दिन राजमार्ग क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि छलफलमा जुट्न थालेका छन् ।

तर उनीहरुले आयोजनाको प्रस्ताव व्यावहारिक नभएको जनाउँदै आएका छन् । उनीहरुले भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्र गतिमा गर्नसमेत आयोजनासँग माग गरेका छन् । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगर प्रमुखहरूको भनाइ छ ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले सडक निर्माणको काम नागरिकलाई समस्या नपर्ने गरी गर्नुपर्नेमा जोड दिएका छन् । उनी भन्छन्, ‘वैकल्पिक सडकको व्यवस्था हुनुप¥यो, अनि मात्र आयोजनाको मागतर्फ जान सकिन्छ ।’ भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिले भने अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताएका छन् । उनले निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने जनाउँदै सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा बिना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्छ भनेका छन् ।

यस्तै, सूर्यविनायकका नगरप्रमुख वासुदेव थापा आयोजनाको कामलाई थप तीव्रता दिनुपर्ने बताउँदै यस आयोजना राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिन्छन् । यस सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

२०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो । आयोजनाका अनुसार भने केही समय थप्नुपर्ने देखिएको छ । मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ । हाल यस सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किमि सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)ले देखाएको छ ।

यस दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्नेछ ।

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेव खोला पेट्रोलपम्प नजिक निर्माण गरिने भएको हो ।

यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ । वि.सं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो ।

यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेको थिए ।

यसैबीच पुरातत्त्व विभागले हाल स्तरोन्नति भइरहेको सूर्य विनायक–धुलिखेल सडक खण्डमा पर्ने पुरातात्त्विक–ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ ।

ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको यस सडक खण्डसँग सरोकार राख्ने दुई जिल्ला भक्तपुर र काभ्रेपलाञ्चोकका निकाय, सडक विभाग तथा आयोजनालाई आग्रह गरेको हो ।

विभागले यस क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन (एचआइए) भइसकेको जनाउँदै एचआइएको प्रतिवेदनबमोजिम मात्रै परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मौलिक स्वरूपमा पुनर्निर्माण गर्न पत्राचारमार्फत आग्रह गरेको छ ।

विभागका सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्यका अनुसार ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐन २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भए गरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको छ ।

यसअघि आयोजनाले स्तरोन्नति भइरहेको सूर्य विनायक–धुलिखेल सडक खण्डअन्तर्गत अरनिको राजमार्गमा आठ दशमलव चार किमि सडक खण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको थियो ।

यस संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल सडक खण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख गरिएको छ ।

यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पीपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।

आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘हामी साँगा–धुलिखेल सडक खण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीय स्तरमा छलफल गरिरहेका छौँ, आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दै छौँ’, आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भने ।

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिर नजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । यस्तै नासिका मन्दिरको वरिपरिको ‘वाल’ संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णीत भएको छ ।

स्थानीयवासीले भने नासिका मन्दिरको ऐतिहासिक महत्त्व भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए । साँगाको ढुङ्गेधारा केही पर सारी पानीट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैँसेपाटीमा रहेका दुई कुवालाई दाहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव गरिएको छ । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्य विनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण बर्सेनि सवारी चाप बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

कालीगण्डकी खोँचमाथि भिरमा झुण्डिएको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे

कुश्मा । द क्लिफमा सञ्चालनमा रहेको स्काइ क्याफेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मज्जा लिएका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काइ क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

एड्भेन्चर टुरिजम हबका रूपमा विकास भइरहेको द क्लिफको स्काइ क्याफे सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार तथा सर्वसाधारणको समेत रोजाइमा पर्दै आएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अभिनेत्री वर्षा सिवाकोटी, गायक प्रकाश सपूतलगायतले स्काइ क्याफेको अनुभव लिइसकेका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बञ्जी र स्वीङसँगै क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत सञ्चालनमा छन् । कपल बञ्जी र मेगाट्रोल सञ्चालनको पनि तयारी अन्तिप चरणमा पुगेको अध्यक्ष कार्कीले जानकारी दिएका छन्।

द क्लिफको रिसोर्टमा लग्जरी कटेज रुमको सुविधा छ भने इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छ ।

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्ने

काठमाडौं। पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ । संसारभर कच्चा तेलको मूल्य बढेको भन्दै पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको हो ।

पाकिस्तानबाट प्रसारण हुने समा टिभीका अनुसार सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, डिजलको मूल्यमा ६ रुपैयाँ वृद्धि हुने जनाइएको छ ।

हाल पाकिस्तानमा पेट्रोलको मूल्य २ सय ५६ रुपैयाँ १३ पैसा प्रतिलिटर तोकिएको छ भने डिजलको मूल्य २ सय ६० रुपैयाँ ९५ पैसा रहेको छ । पछिल्लो समय आर्थिक समस्यामा फसेको पाकिस्तानमा उच्च मूल्यवृद्धि देखिएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै पारवहन खर्च पनि बढ्ने र त्यसले अन्य वस्तुको मूल्य पनि बढाउने चिन्ता व्यक्त गरिएको छ । पाकिस्तानमा जारी आर्थिक समस्याको सबैभन्दा ठूलो असर निम्न वर्गका जनतामा परेको जनाइएको छ ।

सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छः अर्थमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् ।

सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताए ।

उनले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताए । ‘अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ’ उनले भने । उनले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताए ।

उनले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

‘मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन्,’ उनले भने, ‘सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

गण्डकी। गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ ।

कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए ।

‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ’, उनले भने, ‘सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको छ ।’ कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बागलुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा तीन करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

यस वर्ष स्याङ्जामा १९ सय ५० हेक्टर, तनहुँमा नौ सय ६८ हेक्टर, गोरखामा सात सय ४६ हेक्टर, पर्वतमा चार सय ६५ हेक्टर, म्याग्दीमा चार सय २५ हेक्टर, बागलुङमा तीन सय ७७ हेक्टर, कास्कीमा पाँच सय ४१ हेक्टर, एक सय ६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो ।

यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

बर्सेनि सुन्तला खेतीको क्षेत्रफल विस्तार पनि भइरहेको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तला खेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ का आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिए । सुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

जिल्लागत रुपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ ।

जिल्लाहरूले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा बर्सेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा गरी कुल आठ हजार पाँच सय १६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोग किराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव जस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तला खेतीमा क्षति पु¥याउने गरेको छ ।

सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको छ । ‘सुन्तला जोन’मा बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँस खर्क, सालिजा, लेख फाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला उत्पादन राम्रो हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रका सहरी क्षेत्रमा बढी खपत हुन्छ ।

व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पु¥याउँछन् । पर्वतको जलजला गाउँपालिका–१ बाँस खर्कका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यो वर्ष बाँस खर्कमा मात्र १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भयो ।

त्यहाँ १५ सय रोपनी जमिनमा सुन्तला खेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको उनले बताए ।

कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ । उनले २५ रोपनी जमिनमा सुन्तला खेती गर्दै आएकी छन् ।

अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक २३ लाख र हेमबहादुर अर्मजाले १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आएका छन् । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन् । ‘व्यावसायिक सुन्तलाखेतीले बाँस खर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ’, अगुवा किसान मेखबहादुर खत्रीले भने । बाँस खर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनकाअनुसार जलजला–१ को माल गाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँस खर्कको अधिकांश क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ । वि.सं १९९७÷९८ तिर बाँस खर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समय क्रममा सुन्तला खेती विस्तार हुँदै आएको उनले बताए ।

वि.सं २०२८ मा कृषि विकास बैङ्कले सुन्तला खेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँस खर्कमा सुन्तला खेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन् ।

पोखरासम्म सडक पहुँच विस्तार भएपछि वि.सं २०५२/५३ देखि बाँस खर्कका किसानले व्यावसायिक रुपमा सुन्तला खेती सुरु गरेका हुन् । दुई सय ३९ घुरधुरी रहेको बाँस खर्कका अधिकांश किसान सुन्तला खेतीमा आबद्ध छन् । किसानले सुन्तला खेतीको विकल्प देख्न छाडिसकेका छन् ।

गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताइन् । ‘सरकारले सुन्तला खेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने योजना ल्याएको छ’, उनले भने ।

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सात वटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहेहा गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

राजधानीका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध

काठमाडौं। राजधानी काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले राजधानीका एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

विवाह भएको २ महिनामा २१ वर्षीया युवतीको हत्या, श्रीमान् फरार

काठमाडौं। महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका–८ की खुश्वु यादव आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

माइती पक्षले खुश्वुको हत्या उनका पति अभिषेक यादवले गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार, फरार रहेका मृतक युवतीका पति अभिषेकको खोजी कार्य भइरहेको छ । हत्यामा परिवारका अन्य सदस्यको संलग्नताको आशंका रहेको उनको भनाई छ ।

खुश्वुको शव गौशाला वडा नम्बर–५ स्थित भिसघारी क्षेत्रमा फेला परेको थियो । प्रहरीका अनुसार, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको देखिन्छ । ‘घरभन्दा केही टाढाको घारीमा उनको शव भेटिएको थियो,’ डीएसपी जैसवालले भने, ‘स्थानीयका अनुसार विवाहपछिका दिनहरूमा पतिपत्नीबीच झगडा हुने गरेको थियो, जसमा दाइजोको विषय पनि प्रमुख कारण हुनसक्छ ।’

महोत्तरीकै सम्सी गाउँपालिका–१, पर्सादेवाडकी लक्ष्मण यादवकी छोरी खुश्वु गत मंसिर ७ गते गौशाला–८, बेलगाछीका चन्देश्वर यादवका छोरा अभिषेकसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । पोस्टमार्टमपछि खुश्वुको शव माइती पक्षलाई जिम्मा लगाइएको छ ।

कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे । पूर्वाधार बनाउने काम सरकारको भएको र विकासको गतिविधि गर्ने काम जनताको भएको बताउँदै मन्त्री गुरूङले चालु आर्थिक वर्षमा लमजुङको घरघरमा टेलिफोन र इन्टरनेट पु¥याउने प्रतिबद्धता जनाए ।

बोरिङ सिँचाइ सञ्चालनमा आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले वर्तमान सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको जानकारी दिए । बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न उनको आग्रह छ ।

विगतका सरकारले देशमा अस्थीरता सिर्जना गरेको टिप्पणी गर्दै मन्त्री गुरुङले भने, ‘राजनीतिक अस्थिरताले गर्दा सरकारपिच्छे बजेट आए । राम्रोसँग राजस्व उठेन, खर्च हुन पनि सकेन, यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेरको छ ।’ बर्खेपानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने मन्त्री गुरुङको भनाइ छ ।

टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् ।

उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नम्बरको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाथीभरा केबलकार विवादः एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

ताप्लेजुङ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूर पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबिचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालेका अनुसार वार्ता र संवाद भइरहेको छ, ‘प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुनेछ । जिल्लाबाट पनि गरिँदै छ’, उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धारलगायत काम गरिरहेका छौँ । आज पनि केही तीर्थयात्री र पर्यटक जिल्ला भित्रिएका छन् । उहाँहरूलाई सुरक्षा दिने छौँ ।’

पाथीभरा केबलकार नालीबेली

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्याक पुगेपछि उद्घाटन गर्न तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह २०४४ पुस १९ मा फुङलिङ पुगेका थियो । त्यस क्रममा ओलाङचुङगोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले २०५४ मा कञ्चनजङ्घा केबलकार प्रालि दर्ता गरे ।

केबलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्रुवनारायण श्रेष्ठ २०४३ सालका विराटनगर उपमहानगर प्रमुखले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरे ।

त्यसअघि नै सङ्घाइ ग्रुपका सुभाष सङ्घाइले त्रिवेणी केबलकार कम्पनी दर्ता गरिसकेका थियो । सङ्घाइले केबलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरूम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका छ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिस लिएको थियो ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो । अनुमति लिएको केही वर्षमा ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी यती समूहले स्वामित्व लिएपछि श्रेष्ठ बाहिरिए ।

यती समूहले अहिले आइएमई ग्रुपलाई कम्पनी बिक्री गरेको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका चन्द्र ढकालले यसको नेतृत्व गरेका छन् । उनले यसअघिका विवादका विषयमा आफू जानकार नभएको र सातै प्रदेशमा एक–एक वटा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा पनि केबलकार स्थापना गर्न लागेको बताए ।

दुई दशमलव ७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि तीन अर्ब लगानी गर्ने योजना रहेको उनले बताए । ‘हामीले व्यापारभन्दा आर्थिक विकास र रोजगारीको प्राथमिकताका दिएका छौँ ।’ उनले भने, ‘राष्ट्रिय स्तरबाटै समाधान गरेर लगानीको वातावरण बनाइदिनुपर्छ ।’

विवादको सुरुआत

पाथीभराको गुरुयोजना बनाउन पुरातत्त्व विभागको टोली बोलाइएको थियो । उक्त टोलीमा आएका कर्मचारीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रूपमै राख्न यसलाई हटाउनुपर्ने अभिव्यक्ति दिएका थियो । त्यही अभिव्यक्तिपछि पहिला यसको नाम मुक्कुमलुङ रहेको र अतिक्रमण भएर पाथीभरा नाम राखिएको आवाज उठ्न थाल्यो । अहिले श्री लिम्बूको नेतृत्वमा मुक्कुमलुङ संरक्षण समिति, खगेन्द्र फेम्बुको नेतृत्वमा पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति रहेको छ ।

‘मुक्कुमलुङ’ लाई अतिक्रमण गरेर ‘पाथीभरा’ बनाइएकाले ‘मुक्कुमलुङ’ नै राख्न आन्दोलनरत पक्षले सरकारलाई पटकपटक ज्ञापनपत्र पनि बुझायो । मुक्कुमलुङमा सांस्कृतिक अतिक्रमण गरिएको र लिम्बू समुदायको मुन्धुमीस्थल भएको उहाँहरूको दाबी छ । आन्दोलनरत समूहको एक मात्र माग मुन्धुमीस्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने रहेको छ । विवादमा अहिले ‘नो कोशी’ आन्दोलन पनि सामेल छ । पहिचान पक्षधर नेता अहिले मुक्कुमलुङ संरक्षण अभियानमा जोडिएका छन् ।

गत माघ १२ मा बलु डाँडामा गोली चलेपछि विवाद राष्ट्रिय मुद्दाको रूप लिएको छ । पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा गत शनिवार फुङलिङ नगरपालिका–११ बलु डाँडामा केबलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना घाइते भएका थिए । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका हुन् । यमाबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।

नो केबलकार समूहहरूले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । यही माघ २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने जनाइएको छ ।

वार्ता टोली गठन
यता सरकारले पाथीभरा (मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य लगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको कार्य विभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केबलकारसम्बन्धी नीति, कानुन र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केबलकार निर्माणको विषयमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।