जोडिनुहोस

सोमबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं। नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने छ ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे छलफल भइरहेको छ ।

यस्तै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी सङ्गठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आआफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेको बताइएको छ ।

मधेश केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छः मन्त्री गुरुङ

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताएका छन् ।

लमजुङस्थित मस्र्याङ्दी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पछि सञ्चार मन्त्री गुरुङले मुलुक असफल हुनबाट जोगाउन दुई ठूला दल एक जुट हुनुपरेको धारणा राखे । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गुरुङले ठूला दलबीच गठबन्धन गर्नुपर्ने अवस्था आउनुको कारण विगतमा अस्थिर र बेथितिको सत्ता शासन प्रवृत्ति रहेको उल्लेख गरे ।

हालको गठबन्धन सरकारले जनतालाई सुशासन, सेवा, विकास र समृद्धिको बाटोतर्फ डो(याउन खोजेको सञ्चार मन्त्री गुरुङको भनाइ थियो । यसै उद्देश्यका साथ सरकारले संसद्मा ल्याएको ६ अध्ययादेश जसरी पनि पास गराउनुपर्ने उनले बताए। यद्यपी संसद्मा अध्ययादेशको विरोध गरेर प्रतिपक्षि दलले जनताको अहित गरिरहेको उनले बताए ।

“जनताको समृद्धि टेकेको अध्ययादेशको विरोध गर्नु ठिक होइन,” सञ्चार मन्त्री गुरुङले भने, “मुलुकको विकास र उन्नति चाहनेले छिटोभन्दा छिटो अध्ययादेश पास गराउन सघाउनुपर्छ ।”

अबको ६० दिनभित्र सरकारले ल्याएका अध्यादेश पास गरेर नेपालमा सुशासन कायम गराउने सञ्चार मन्त्री गुरुङले बताए । साथै उनले एमाले र कांग्रेसबीचको सात बुँदे सहमती पूरा नहुँदासम्म वर्तमान सरकार रहिरहने उनले बताए ।

सहमति बुँदामा भएको महत्वपूर्ण विषय संविधान संशोधन रहेकाले यो गठबन्धन सरकारले संविधान संशोधनसमेत गर्ने सञ्चार मन्त्री गुरुङको भनाइ थियो ।

“सङ्घीय शासन प्रणाली लोकतन्त्रको प्रभावकारी शासन प्रणाली हो । संविधान संशोधन गरेर समय सापेक्ष बनाउन आवश्यक छ,” उनले भने, “सबैको साझा सहमतिबाटै संशोधन प्रक्रिया पुरा गछौँ ।”

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीदर ८६ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ १९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९१ पैसा र बिक्रीदर आठ रूपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १२ रूपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

पोखरा। गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ ।

गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका लागि बैठक आह्वान गरेका हुन् ।

यसअघि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छः महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको टोकियोमा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतहरू’ विषयक अन्तरक्रिया कार्यक्रमा महासचिव पोखरेलले सबैले मिलेर मुलुक बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले जापानमा बस्ने नेपालीले पनि मुलुक बनाउनका लागि योगदान गर्नुपर्ने बताए । उनका स्वकीय सचिव सरोज रेग्मीका अनुसार महासचिव पोखरेलले आलोचनाले मात्र देश नबन्ने उल्लेख गरे।

मुलुकमा लगानी गर्ने वातावरण वर्तमान सरकारले बनाइरहेको उनको भनाइ थियो । महासचिव पोखरेलले संविधान उत्कृष्ट भए पनि राज्य बलियो नहुँदा मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रवासी नेपालीलाई मुलुकप्रति सकारात्मक धारणा बनाउन आग्रह गरे ।

“अर्थतन्त्रको आधारशिला कामदार हुन् । नेपालमा श्रमिकको सङ्ख्या धेरै छ । अब कानुनी सुधार र राजनीतिक सुधारको बाटोबाट अगाडि बढ्ने प्रत्यनमा छौँ ।”

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य पाठकले जापानमा रहेका प्रवासीलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे ।

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुतः उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरूलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।’

पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरू स्थापना गरी सामूहिक पूजाअर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उनले यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे ।

श्रीपञ्चमीको अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजाअर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरूले नृत्य, गीत–सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजाअर्चना गर्छन् ।

यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरूलाई सबैले सम्मान गर्न सक्नु पर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरूले आआफ्ना बालबालिकाहरूलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् ।

वसन्तपुरको हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ ।

वसन्त पञ्चमीको अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र रहुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति रहने गरेको छ ।

वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।

श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा लगायतका गोपिनीहरूले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

नवलपरासी। राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको बताए । उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।

पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उनको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । इञ्जिनियर खनालले सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेको बताए । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए ।

उनले भने, ‘गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो ।

विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।

तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ ।

बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे लगत्तै मेक्सिकोलेसमेत अमेरिकी सामानामा कर लगाउने तयारी गरेको छ।

मेक्सिकोको राष्ट्रपति क्लाउडिया सियनबामले अमेरिकी सामानमा कर लगाउने आशय व्यक्त गरेकी हुन्। उनले अमेरिकी सामानमा कत्ति कर लगाउने भन्ने विषयमा अमेरिकाले गर्ने व्यवहारमा निर्भर रहने उल्लेख गरेकी छन्।

सोमबार यस बारेमा मेक्सिकोले निर्णय गर्न सक्ने समेत उनले बताएकी छन्। उनले मेक्सिकोको सरकारकै सहकार्यमा अमेरिकामा अवैध लागूऔषध पुगेको आरोपको खण्डन गर्दै अमेरिकाले नै यसलाई रोक्न पर्याप्त कदम चाल्न नसकेको बताइन्।

उनले अमेरिकामा रहेका आफ्ना नागरिकलाई हार्दिकतापूर्वक स्वागत गर्ने समेत बताएकी छिन्।

क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको करले अमेरिकी हितको रक्षा गर्ने राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको करले अमेरिकी हितको रक्षा गर्ने दाबी गरेका छन्।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सम्पूर्ण वस्तुमाथिको करले अमेरिकी नागरिकलाई आर्थिक पीडा हुने भए पनि मुलुकको हितको रक्षा हुने बताएका हुन्।

साथै अमेरिकी व्यापारिक साझेदारहरुले अमेरिकी सरकारको व्यापार युद्ध लामो समय नटिक्ने संकेत गरेपछि ट्रम्पले यस्तो बताएको रोयटर्सले जनाएको छ । उनले अमेरिकालाई महान राष्ट्र बनाउन भन्सार शूल्कको कदमले मद्दत पुग्नेसमेत दाबी गरेका हुन् । ट्रम्पले दुई छिमेकी देश क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत र आर्थिक शक्तिराष्ट्र चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत आयातकर लगाउने घोषणा गरेपछि विश्वस्तरमा नयाँ तरंग उत्पन्न भएको छ ।

यसैबीच, ह्वाइट हाउसले फेन्टानिल लागुऔषधको विषयलाई लक्षित गर्दै मेक्सिको सरकार आपराधिक संगठनसँगको साठगाँठमा रहेको आरोप लगाएको छ । आरोपको मेक्सिकोकी राष्ट्रपति क्लायडिया सेनबाउमले अस्वीकार गरेका छन् सेनबाउमले उक्त आरोप हस्तक्षेपकारी मनसायले लगाइएको भन्दै खण्डन गरेका छन् ।

राष्ट्रपति सेनबाउमले अमेरिकाले लगाएको व्यापार शूल्कविरुद्ध आज आफ्नो मुलुकको योजना सार्वजनिक गर्ने बताएका छन् ।

उनले व्यापार करले अमेरिकी अर्थतन्त्रमै असर पुग्ने चेतावनीसमेत दिएका छन् । यसअघि ट्रम्पको जवाफमा क्यानडाले अमेरिकाबाट आयात हुने १ सय ५५ अर्ब क्यानेडेली डलर बराबरको सामानमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरिसकेको छ । अमेरिकाको कदमविरुद्ध चीनले विश्व व्यापार संगठनमा मुद्दा दर्ता गर्ने भएको छ । यी तीनवटै मुलुक अमेरिकाका ठुला व्यापार साझेदार हुन् ।

महिला टी–२० आई त्रिकोणात्मक सिरिजमा आज नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्दै

काठमाडौं। महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा आज दुई भ्रमणकारी टिम नेदरल्यान्ड्स र थाइल्यान्ड आमनेसामने हुँदैछन् । थाइल्यान्ड सिरिजमा अपराजित छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । थाइल्यान्ड आफ्नो तेस्रो खेल खेल्दैछ । यसअघिका दुई खेलमा सतप्रतिशत नतिजा निकालेको नारोइमोल चाइवाइको टिम चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

जारी सिरिजमा उसले डच टिमसँगको पहिलो खेलमा ८ विकेटको सहज जित हात पारेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्डस्ले कप्तान बेबेत द लेदको अर्धशतकको मद्दतमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । जवाफमा थाइल्यान्डले दुई ओभर बाँकी रहँदै दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

थाइल्यान्डकी नन्नापाट उत्कृष्ट फर्ममा छिन् । उनले दुवै खेलमा अर्धशतक प्रहार गरेकी छिन् । तर नेपालसँगको खेलमा चोटग्रस्त बनेकी नन्नापाट पूर्ण फिट छन् की छैनन् भन्ने जानकारी टिमले दिएको छैन् । स्पीन अट्याक्टमा पनि उत्कृष्ट रहेको थाइल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ ।

हिजो भएको खेलमा नेपालमाथि १५ रनको जित हात पार्दै नेदरल्यान्डस्ले सिरिजमा पुनरागमन गरेको छ । उसका सामु थाइल्यान्डसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर छ । थाइल्यान्डले सबै प्रतिस्पर्धामा गरी पछिल्ला पाँच खेलमा हार बेहोरेको छैन ।