
काठमाडौं।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।
‘आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ, अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न, विद्युत व्यवस्थापन गर्न, विद्युत आपूर्तिका निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन्,’ उनले भने ।
कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानुन संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ, वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रम घोषणा गरिएका छन्, तर त्यसको कार्यान्वयनतर्फ जटिलता देखिन्छ ।’
सूचना प्रविधि तथा नीति तयार गरी संस्थाको सेवालाई अझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको उनको भनाइ थियो ।
प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउने र प्रणलीलाई स्वचालित रुपमा सञ्चालन गर्ने कार्यलार्य उच्च प्राथमीकता दिइने उनले बताए ।