
लामो समयपछि संघीय राजधानी काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। तर, यो वर्षाले राम्रोसँग धुलोसमेत मार्न सकेन । शुक्रबार बिहान साढे १० तिर हल्का वर्ष भएपछि टरेको छ । वर्षाले उपत्यकालाई ढाकेको तुँवालो र धुलो पखाल्न सकेन ।
त्यहीकारण काठमाडौं उपत्यकालाई तुँवालोले पूरै ढाकेको छ । यसअघि नै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो ।
जसकारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रमा मौसम सामान्यतया बदली रहेर बाँकी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले भनेको थियो । सुदूरपश्चिम क्षेत्रमा चट्याङसहित र कर्णाली क्षेत्र लगायत धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । हल्का वर्षासँगै काठमाडौं उपत्यकाको मौसम चिसिएको छ । तर राम्रोसँग पानी नपरेका कारण मौसम खुल्न सकेको छैन।