जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • तरकारी खेतीले आत्मनिर्भर मीना, वार्षिक एक लाखभन्दा बढी आम्दानी

तरकारी खेतीले आत्मनिर्भर मीना, वार्षिक एक लाखभन्दा बढी आम्दानी

गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन्। विगत ११ वर्षदेखि सात रोपनी जग्गा भाडामा लिएर मौसमी तरकारी र प्याजको बेर्ना बिक्री गरी उनी वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेकी छन्।

सिँचाइको अभाव र बाँदरको समस्या भए पनि तरकारी खेतीलाई निरन्तरता दिएकी मीनाले भनिन्, “११ वर्षअघि पाखो बारी भाडामा लिएर सुरु गरेको खेती अहिले पनि जारी छ। वार्षिक १० हजार भाडा तिर्छु।” वैदेशिक रोजगारीमा रहेका श्रीमान् र नर्सिङ पेसामा रहेकी जेठी छोरीको साथसाथै काठमाडौंमा डेन्टल पढ्दै गरेकी कान्छी छोरी र कक्षा ९ मा पढ्ने छोराको खर्च उनकै कमाइबाट धानिएको छ। “अहिलेसम्म घरखर्च चलाउन र छोराछोरी पढाउन अरूसँग हात फैलाउनु परेको छैन,” उनले सुनाइन्।

अहिले उनको बारीमा बन्दागोभी लटरम्म फलेको छ भने काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ। “बन्दापछि काँक्रो, करेला लगायतका मौसमी तरकारीको सिजन सुरु हुन्छ। त्यसपछि प्याजको बीउ तयार गर्छु,” मीनाले भनिन्, “म विषादी प्रयोग गर्दिनँ।”

उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारी खेती गर्ने चलन थिएन। उनको सफलतापछि गाउँका अन्य महिलाहरूले पनि उनको सिको गर्न थालेका छन्। मीना महिलाहरूले पनि कुनै न कुनै काम गरेर श्रीमान्को कमाइमा मात्र निर्भर रहनु नपर्ने बताउँछिन्।

हालसम्म कुनै कृषि फार्म दर्ता नगरेकी मीनाले सरकारी अनुदानको आशा नगरी आफ्नै मिहिनेतमा विश्वास गरेकी छन्। उनको तरकारीको मुख्य बजार गोरखा सदरमुकाम हो र व्यापारीहरू तरकारी लिन उनको बारीमै पुग्छन्। बजारको समस्या पहिलेजस्तो नभएको उनको अनुभव छ। गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले मीनाजस्ता परिश्रमी महिलालाई प्रोत्साहन गरिरहेको बताए।