जोडिनुहोस
  • होमपेज
  • भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

हुम्ला – भारत सरकारको आर्थिक सहयोगमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ ।

करिब १४ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको हो । परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले अस्पताल भवन निर्माणपछि स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडिओ सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल र भारतबिचको विकास साझेदारीलाई निरन्तर सुदृढ बनाइने बताए । उनले नेपाल सरकार र नेपाली जनतासँग मिलेर साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

एचआईसीडीपी कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६ सय परियोजना सञ्चालन भइसकेका छन् । हुम्लामा यो तेस्रो परियोजना हो । यसअघि सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय भवन तथा चंखेली–दर्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारत सरकारले अनुदान सहयोग प्रदान गरेको थियो ।