
नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दोस्रो संस्करणको ‘इन्डियन एम्बेसडर क्रिकेट प्रतियोगिता’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।
असार २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा टी–२० ढाँचामा भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।
प्रतियोगिताको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्र मन्त्रालयका सहसचिव गहेन्द्र राजभण्डारीले संयुक्त रूपमा गरेका थिए। उद्घाटन खेल भारतीय दूतावास र नेपाल परराष्ट्र मन्त्रालयको टोलीबीच त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा सार्कका महासचिव, बेलायत र अष्ट्रेलियाली दूतावासका अधिकारीहरू तथा काठमाडौंका क्रिकेटप्रेमीहरूको पनि सहभागिता रहेको थियो।
प्रतियोगितामा नेपाल परराष्ट्र मन्त्रालय, भारतको दूतावास, काठमाडौंस्थित कूटनीतिक नियोगहरूको संयुक्त टोली, नेपाली सञ्चारमाध्यम, पूर्व नेपाली क्रिकेटर, नेपाल सरकारका अधिकारी, निजी क्षेत्रका संस्था तथा नेपालस्थित भारतीय समुदायका टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
भारतीय दूतावासले प्रतियोगिता आयोजना गर्न सहयोग पुर्याएकोमा **नेपाल क्रिकेट संघ (क्यान)**लाई धन्यवाद दिएको छ।
दूतावासका अनुसार यो वार्षिक प्रतियोगिताले क्रिकेटमार्फत नेपाल र भारतका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
























