जोडिनुहोस
  • होमपेज
  • रोङमा चुरे दोहनको खुला खेल, दैनिक सयौं ट्र्याक्टरले ढुङ्गा–गिटी तस्करी, पालिका मौन !

रोङमा चुरे दोहनको खुला खेल, दैनिक सयौं ट्र्याक्टरले ढुङ्गा–गिटी तस्करी, पालिका मौन !

इलामको रोङ गाउँपालिकास्थित अति संवेदनशील चुरे क्षेत्रमा पर्ने खोला–खोल्साबाट पालिकाकै मौन समर्थनमा नदीजन्य सामग्रीको चोरी निकासी हुँदै आएको छ। रोङका बिरिङ, टाङटिङ, गुयाङ, नेतेलगायतका खोलाबाट तस्करहरूले स्काभेटर प्रयोग गरेर सामग्री चोरी निकासी गरिरहेका छन्। तर, यसतर्फ पालिका भने देखेको नदेख्यै गरिरहेको स्थानीयको आरोप छ। बिरिङ खोलाबाट मात्रै दैनिक ५ सयभन्दा बढी ट्र्याक्टरले ढुङ्गा–गिटी चोरी गर्ने गरेको स्थानीयले बताएका छन्। अन्य खोलामा समेत यो सङ्ख्या कम छैन।

चुरे पर्वत शृङ्खलाअन्तर्गत बग्ने खोलाहरूको संरक्षण गर्नुको सट्टा पालिकाले कुनै वर्ष अमानतमा आफू सम्वद्द कार्यकर्ता पोस्न बेच्ने गरेको र कुनै वर्ष तस्करसँगको उठबसको आधारमा चोरी गर्न छोडिदिने गरेको आरोप छ।

झापाका सीमावर्ती पालिका अर्जुनधारा र बुद्धशान्तिले लगाएको खोला ठेक्काको रसिद बोकेर बिरिङ खोलाको रोङ हुँदै सूर्योदय नगरपालिकासम्मको क्षेत्रबाट ढुङ्गा उठाउने गरिएको स्थानीयले बताएका छन्। सो बापत रोङ गाउँपालिकाका पदाधिकारीहरुले लाभ लिदै आएको स्रोतको दाबी छ । आफ्नो कार्यका सकिनै लागेको र स्थानीय तहको चुनाबको समय नजिकिनै लागेकोले पनि गाउँपालिकका पदाधिकारीले चुनाबलाई लक्षित गरि कार्यकर्ता पोस्ने गरेको स्रोतको भनाई छ ।

स्थानीय केही ब्यक्तिले बिरोध स्वरुप चुरे उत्खननको तस्बिर र भिडियो सामाजिक संजालमा हालेर गाउँपालिकातिर प्रश्न तेर्स्याउँदा पनि रोङ गाउँपालिकाले नदेखेजस्तो गर्दै आएको छ । यसबाट पनि चुरे क्षेत्रको नदिजन्य पदार्थ चोरी निकासिमा गाउँपालिकाकै संग्लन्ता रहेको पुष्टि हुने स्थानीयको भनाई छ ।

बन र निजी भिर पनि छोडेन पालिकाले रोङ गाउँपालिकाले ईआईए (EIA) परीक्षणबिनै बाटो ग्राभेल गर्ने निहुँमा बस्ती नजिकका पाखा खन्न दिएर ठेकेदार पोस्ने गरेको पाइएको छ। वडा नं। १ को तीनघरे–शान्तिपुर–झापा सडकअन्तर्गत पर्ने बरभञ्ज्याङ सडकखण्डमा लगाइएको ठेक्काको ग्राभेलमा स्थानीय गुणस्तरयुक्त ग्राभेल हाल्नुपर्ने उल्लेख भए पनि भरभञ्ज्याङको सुकेपानी भन्ने ठाउँको पहिरो काटेर माटो मात्रै हालिएको छ ।

यसले नजिकको बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन्। पालिकाका प्राविधिक गुमानसिंह सुब्बा र वडा अध्यक्ष मनोहरी खड्काको मिलेमतोमा ठेकेदारले यस्तो हर्कत गरेको र पटक–पटक “यो ग्राभेल होइन, माटो हो, यसले हाम्रो गाउँ पहिरो जान्छ” भन्दा पनि नसुनेको स्थानीयको भनाई छ। खड्कालाई गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले यस्तो काम गर्न ढाडस दिने गरेको स्रोतले बताएको छ।

स्याङ्बोकै साथका कारण खड्काले गत आर्थिक वर्षमा तीनतले पर्यटकीय क्षेत्रमा आएको १० लाख रुपैयाँबाट बरभञ्ज्याङ हुँदै उनको ससुराली घर जाने बाटो खनेको स्थानीयले बताएका छन्। यसअघि पनि पर्यटन शीर्षकमा आउने गरेको पैसा वडा अध्यक्ष खड्काले काम नै नगरी कांग्रेस कार्यकर्तालाई बाँड्ने गरेको प्रमाण फेला परेको दाबी गरिएको छ। रोङका ६ वटै वडामा ठेकेदारसँग मिलेमतो गरी डाँडापाखा र जंगल खनेर ग्राभेल भन्दै लैजाने गरिएको स्थानीयले बताएका छन्।

पुजन घिमिरे । झापा