जोडिनुहोस
  • होमपेज
  • एआई सहकार्यमा नेपाल–भारतको जोड, काठमाडौंमा उच्चस्तरीय सेमिनार सम्पन्न

एआई सहकार्यमा नेपाल–भारतको जोड, काठमाडौंमा उच्चस्तरीय सेमिनार सम्पन्न

काठमाडौं । नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले संयुक्त रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा द्विपक्षीय सहकार्यका सम्भावनाबारे केन्द्रित सेमिनार आयोजना गरेका छन्।

‘उदीयमान प्रविधिमा नेपाल–भारत साझेदारी : एआई सहकार्यका द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनारमा व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा दुवै देशबीच कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा भारतको अग्रणी एआई कम्पनी सर्भम एआईका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. प्रत्युष कुमारले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। भारत एआई मिसनअन्तर्गत स्वदेशी आधारभूत एआई मोडेल विकासका लागि छनोट भएका १२ संस्थामध्ये सर्भम एआई पनि एक हो। उक्त संस्थाले भारत सरकारबाट २४६.७२ करोड भारतीय रुपैयाँ बराबरको आर्थिक तथा कम्प्युटिङ सहयोग प्राप्त गरेको छ।

निक्कीका अध्यक्ष सुनील केसीले स्वागत मन्तव्यका क्रममा नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भारतीय एआई कम्पनीहरूलाई नेपालमा उपस्थिति विस्तार गर्दै सार्वजनिक तथा निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले नेपाल–भारतबीचको बलियो आर्थिक तथा व्यापारिक सम्बन्धले डिजिटल क्षमता विकास, स्टार्टअप प्रवर्द्धन र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदानका लागि नयाँ अवसर सिर्जना गरेको बताए। उनले भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (इन–स्पान) कार्यक्रमको दोस्रो समूह अन्तर्गत २५ नेपाली स्टार्टअपले भारतको चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तियुक्त तालिम तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाइरहेको जानकारी दिए।

मुख्य वक्ता डा. कुमारले एआई, विशेषगरी लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को तीव्र विकास र त्यसले विकासोन्मुख देशहरूमा पार्ने प्रभावबारे चर्चा गरे। उनले भारत एआई मिसनका सात प्रमुख आधारस्तम्भ– कम्प्युटिङ, डाटासेट, नवप्रवर्तन, एप्लिकेसन विकास, भविष्यका सीप, स्टार्टअप वित्तीय सहयोग तथा सुरक्षित र विश्वासयोग्य एआई–बारे जानकारी गराए।

उनले दुर्गम तथा सेवाबाट वञ्चित समुदायसम्म पहुँच विस्तार गर्न स्पिच–टु–टेक्स्ट प्रविधिको महत्त्व, डाटा सार्वभौमिकताको आवश्यकता र स्वदेशी जनशक्ति विकासको अपरिहार्यतामाथि जोड दिए। नेपालका स्टार्टअप र शैक्षिक संस्थाहरूले संयुक्त अनुसन्धान तथा तालिम कार्यक्रममार्फत भारतसँग सहकार्य बढाउन सक्ने सम्भावना पनि उनले औंल्याए।

कार्यक्रममा हालै भारत सरकारको डिजिटल इन्डिया भाषिणी डिभिजन र काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स केन्द्रबीच भाषा–आधारित एआई, बहुभाषिक डिजिटल पूर्वाधार तथा समावेशी डिजिटल प्रणाली विकासका लागि समझदारीपत्र (एमओयू) भएको विषय पनि उल्लेख गरिएको थियो।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा गत साता नयाँ दिल्लीमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो।

यसैबीच, सन् २०२६ फेब्रुअरी १६ देखि २१ सम्म नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट–२०२६’ मा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका थिए। सम्मेलनले जिम्मेवार तथा समावेशी एआई शासनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्धता जुटाउन सफल भएको बताइएको छ। साथै भारतले आफ्नो सार्वभौम कम्प्युटिङ क्षमता विस्तार गर्दै थप २० हजार जीपीयू थपेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।