देश
नेपाल–भारत सीमा रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय समीक्षा, सहकार्य थप सुदृढ गर्ने सहमति

काठमाडौं । नेपाल र भारतबीच निर्माणाधीन सीमा जोड्ने रेलमार्ग परियोजनाको प्रगतिबारे समीक्षा गर्न परियोजना निर्देशक समिति (पीएससी) को १०औं तथा संयुक्त कार्यदल (जेडब्लूजी) को ८औं बैठक काठमाडौंमा सम्पन्न भएको छ।
जुन ११ र १२ मा आयोजित बैठकमा दुवै देशका प्रतिनिधिले रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्य तथा निर्माणाधीन रेल परियोजनाको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल गरेका थिए।
बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलपुरा–बर्दिबास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको प्रगति समीक्षा गरिएको थियो। साथै जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि (एसओपी), रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) प्रतिवेदन, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप सम्भावित रेल सम्पर्क विस्तारबारे पनि छलफल भएको थियो।

बैठकमा नेपाल र भारतले रेल क्षेत्रको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्य जारी राख्ने सहमति जनाएका छन्।
दुवै देशले सीमा क्षेत्रको कनेक्टिभिटी, व्यापार, पर्यटन तथा जनस्तरको आवागमन सहज बनाउन रेलमार्ग सहकार्यलाई प्राथमिकतामा राख्दै आएका छन्।






















