
काठमाडौं । महाशिवरात्रिको दिन आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरुको भीड बढेको छ । पशुपतिनाथ परिसरमा घुइँचो भएकाले सवारी पार्किङमा समस्या छ । त्यही भएर ट्राफिक प्रहरीले छुट्टै पार्किङको व्यवस्था गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ भने पार्किङ गर्ने ठाउँ पनि तोकिदिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको जनाएको छ ।
यसैगरी पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।
धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको ट्राफिक व्यवस्थापन रुट ।
सवारी पार्किङका लागि छ्ुट्टै ठाउँको व्यवस्था गरिएको छ ।
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीका लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।
यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् ।
त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइएको छ ।