जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • पाथीभरा केबलकार विवादः गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई

पाथीभरा केबलकार विवादः गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई

काठमाडौं। ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजे कोशी पहाडबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग संवाद गर्न लागेको हो ।

मन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सचिव योगेश भट्टराईसहितलाई बोलाएका हुन् । उनले अरु सांसदहरू लीलादेवी बोखिम र उर्मिला थेबेलाई पनि छलफलका लागि बोलाएका छन् ।

‘छलफलका लागि गृहमन्त्रीले मंगलबार ५ बजे सिंहदरबार बोलाउनु भएको छ’, भट्टराईले भने, ‘केबलकारको विवादबारे गर्न लागिएको उक्त छलफलमा कोशी पहाडी जिल्लाका सांसदहरूलाई पनि खबर गरिएको जानकारी आएको छ ।’

गृहमन्त्री लेखकले तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर,धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका सांसदहरुलाई बोलाएर विस्तृत छलफल गर्न लागेका हुन् ।

शनिबार सुरक्षाकर्मीसँग ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

प्रहरीले ‘नो केबलकार समूह’ले आन्दोलनका लागि घरेलु हतियार लुकाएको भन्दै घरमा खानतलासी गरेपछि तनाव बढेको थियो । शनिबार दिउँसो सामान्य झडप भए पनि साँझ हिंश्रक झडप हुन पुगेको थियो ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिले मुकमुलुङ नामले पुकार्ने पाथीभारा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

यो विवादका क्रममा सोमबार मात्रै ‘नो केबलकार समूह’ले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र अन्य शाखा कार्यालयमा धर्ना दिएर प्रदर्शन गरेका थिए ।

धेरै टिप्पणी गरिएका