
अर्घाखाँची । सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।
भूमिकास्थिान नगरपालिका–६ खिल्जीमा वडा अध्यक्ष प्रेमनारायण वेल्वासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाइएका बास हटाउने सार्वजनिक सूचना जारी गरेको हो । बासले ऐतिहासिक महत्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान पनि सुक्ने, सुक्खायाममा आगलागीको पनि जोखिम हुने भएकाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो ।
निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र बरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन भनेको छ । ‘बर र पिपललाई चाहिने पानी र घाम बाँसले लिन्छ र बरपिपल भोको रहन्छ । अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणको लागि राम्रो छ’, सामाजिक अगुवा प्रकाश बेल्बासेले भने । वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बास र पानीको मुहान असर गर्ने गरी लगाइएको बास हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।