
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ परेका छन् । अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागबाट उक्त विदेशी मुद्रा फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।