जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • विद्यालय स्थापनाको चार दशकपछि पक्की भवन निर्माण

विद्यालय स्थापनाको चार दशकपछि पक्की भवन निर्माण

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ ।

विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल एक करोड ७७ हजार ५३४ रुपैयाँको लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेको प्रधानाध्यापक (प्रअ) मोतिराज गौतमले जानकारी दिए ।

विसं २०३९ सालमा खरको टहरामा सुरु गरिएको विद्यालय करिब चार दशकपछि जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेर सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल ८६ लाख ९१ हजार ६ सय रुपैयाँको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई–दुई कोठे एकतले भवन निर्माण भएको हो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सम्युक्त रुपमा भवनको आइतबार उद्घाटन गरे ।

भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।

पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताए ।

धेरै टिप्पणी गरिएका