जोडिनुहोस
  • होमपेज
  • टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफमा कैद माफी पनि कानुनअनुसार नै भएको बताए ।

“टीकापुर घटना एउटा दुःखद हो, घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम नै कारबाही हुने कुरा अवगत नै छ,” उनले भने । केहीले कैद माफीको सुविधा पाएको र केहीलाई कानुन बमोजिम नै हुने बताए । उनले थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले संघीय संसद्मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताए । संसद्को कारबाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसकेको उनको भनाइ छ । नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका