
डढेलोले वन र धन त सखापै बनायो, जनको पनि ज्यान लियो । ज्यान जानेहरू त गैगए, बाँचेकाहरू पनि खाने चिज र बस्ने ठाउँ नभएर मरेतुल्य नै भए । छरछिमेक, वरपर सबैको हालत उस्तै छ, हारगुहार कसलाई गर्नु ? सरकार छ भन्ने सुनिन्छ तर देखिँदैन । एकपटक सरकारलाई आफैँले हेरेर बिन्ती बिसाउनु पर्यो भन्दै आगलागी पीडित आगो निभाउने मान्छे खोज्न हिँडे ।
बाटोमा पर्ने वनजङ्गलमा पनि सबैतिर डढेलो । आगलागीले खण्डहर बनेका घरहरू उत्तिकै । बल्लतल्ल सरकार बस्ने ठाउँमा पुगियो । तर सरकार कुन चाहिँ हो छुट्याउनै मुश्किल । एउटा पार्टीको सरकार भए पो यही हो भन्न हुन्थ्यो । पाँच-पाँच वटा पार्टी मिलेर बनेको सरकार छ । आगो निभाउने सरकार चाहिँ कुन हो त ? अहिले सरकारमा नभएका तर बेलाबखत सत्ताको स्वाद चाख्न पल्किएकाहरूसँग पनि आगो निभाउने बल त हुनुपर्ने हो । भेट्न त तिनीहरूलाई पनि पर्छ । पहिले चाहिँ सरकारलाई नै भेट्नु पर्यो । भेट्नुभन्दा पहिले एक–एक गरेर उनीहरूको अवस्था बुझ्नु पर्यो ।
सबैभन्दा पहिले पीडितले सरकारका मुख्य मान्छे प्रधानमन्त्रीको हाल बुझे । कांग्रेसको बुइँ चढेर बल्लतल्ल संसदमा तेस्रो हैसियतमा पुगेको तर बहुमत आफैँले ल्याएझैँ प्रधानमन्त्री मात्रै हुन खोज्दा वनमा बिचल्लीमा परेको लङ्गुरजस्तो अवस्था रैछ । कहिले यसको र कहिले उसको काँध चढेर उथलपुथल र चलखेल गरिरहने बानी । कांग्रेस र एमाले मिलेर चलखेल बन्द हुने भयो भने के गर्ने भन्ने छटपटी त झन् लङ्गुरलाई भन्दा धेरै । आगलागी पीडितले प्रधानमन्त्री आफैँ आगोको भुङ्ग्रोमा परेर छटपटाइरहेको देखे । प्रधानमन्त्रीको पद जाने हो कि भन्ने पिरले मनमा आगो दन्केको छ । आफ्नै मनमा लागेको आगो निभाउने गरी नयाँ उथलपुथल ल्याउने उपाय नभेटेर उनी आफैँ पिल्सिएका छन् । नागरिकको घर र वनमा लागेको आगो निभाउने फुर्सद उनलाई कसरी मिलोस् ?
त्यसपछि पीडितले गृहमन्त्रीको अनुहार हेरे । उनी त झन् प्रधानमन्त्रीभन्दा पनि पीडित । एकातिर सहकारी काण्डको राप, अर्कोतिर उपचुनावको नतिजाको ताप । देशभर लागेको आगो निभाउनुपर्ने जिम्मा लिएको मन्त्रालयका मन्त्री आफैँ राप र तापमा पिल्सिएका छन् । कहाँ मिसन ०८४ मा बहुमत ल्याएर सरकारमा हालीमुहाली गर्ने सपना, कहाँ उपचुनावमा जमानत जोगाउन नसकेको छटपटी ! कुरोले त आकाश पाताल जोडकै हो तर वरको सिन्को पर सार्न पनि सकिएन । समर्थकहरू त अझै पनि भगवान् भनेर भजन गाइरहन्छन् । तर त्यै भजनमण्डलीको त चित्त बुझाउन सकिएन, अब पार्टीको घर कसरी चल्ला ? अर्को चुनावसम्म टीभीमै फर्कन परे सहकारीले पत्याउँदैनन्, सधैँका लागि अमेरिका भासिने बाटो पनि बन्दै भइसक्यो । यतै छटपटी, उतै उकुसमुकुस । आफ्नै मनमा दन्केको आगो निभाउन नसकेर रन्थनिएका गृहमन्त्रीले ‘हेलिकोप्टरबाट आगो निभाउनुपर्छ’ भन्नुबाहेक अरू केही गर्न सक्ने देखिएन ।
त्यसपछि पीडित सरकारको मुख्य पार्टी एमालेतिर फर्किए । गठबन्धन भत्काएर र उपचुनाव जितेर विरोधीको मुख थुन्न पाएकोमा मख्ख । प्रदेशतिरको गोलमालले केन्द्रको गठबन्धन भत्किएर फेरि अर्को समीकरण फेरिने हो कि भन्ने चिन्ता । तर आफैँ कांग्रेससँग मिल्दा पोल्टामा धेरै भाग पर्ने आशा । जसरी र जताबाट भए पनि आफ्नो पार्टीको घर बलियो बन्दैछ, नागरिकको घर बलोस् कि बचोस्, अर्को चुनाव नआउँदासम्म अहिलेदेखि नै के को टाउको दुखाइ ?
त्यही बीचमा आगलागी पीडितले आफूजस्तै निरस अनुहार भएका माधव नेपाललाई देखे । सधैँ आफूलाई अपमान भयो भन्दै रोइरहेका । आफूसँग भएको जम्मा १० सिट देखाएर गठबन्धनको खालमा च्याखे थाप्दै प्रधानमन्त्री बन्न बल गरिरहेका । यही बेला उपचुनावमा इलाममा आएको जम्मा चार सय भोटले थपेको नयाँ चोटले मनमा आगो दन्किरहेको । अब हुने चुनावमा कांग्रेस र माओवादीको हात समाउन नपाइने हो कि भन्ने डर । एक्लै चुनाव लड्दा उठ्नै नसक्ने गरी लडिन्छ मात्रै जितिँदैन । पहिले त ओलीले हेप्थे, अब झन् के बाँकी राख्लान् । आफूसँग बाँकी रहेका अलिअलि पनि ओलीतिरै मिसिने चिन्ता । आफैँ अपमान र छटपटीको भुङ्ग्रोमा पिल्सिएका नेपालसँग त आगो निभाउने स्याउला पनि देखिएन ।
त्यसपछि पीडितले स्याउला नै स्याउला मिसिएको रुख चिह्न भएको पार्टीलाई हेरे । एकातिर गठबन्धन भत्किएर रुखकै जरो उखेलिएको चिन्ता । अर्कोतिर उपचुनावको नतिजाले हाँगो भाँचिएको चोट । फेरि यही बेला जङ्गलमा लागेको आगोले सुकेका रुख पनि खरानी । छँदाखाँदाको गठबन्धन भत्काएर उथलपुथल ल्याउनेलाई मेख मार्ने गरी अर्को समीकरण बनाउन खोजे पनि हिसाब नमिलेर गोलमाल । आफ्नै रुखमा लागेको आगो त निभाउन नसकेको पार्टीले घर र वनमा लागेको आगो कसरी निभाउन सक्ला ?
सबैको हाल बुझेपछि आगलागी पीडितले थाहा पाए कि आगो निभाउने जिम्मा पाएकाहरू आफैँ भुङ्ग्रोमा छन् । उनीहरू भुङ्ग्रोबाट निस्कनुअघि आफैँले खरानी खोतल्नुबाहेक अर्को उपाय छैन ।