
काठमाडौं। पूर्व निर्धारित कार्यक्रमअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ । उक्त पार्टीले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ ।
यस्तै शिक्षक, सहकारी तथा लघुवित्त पीडित र आवासिय चिकित्सकहरूले पनि प्रदर्शन गर्दैछन् । एकै दिन विभिन्न स्थानमा विभिन्न माग राखेर आन्दोलन र प्रदर्शनका कारण राजधानीका सडक खण्डहरु प्रभावित हुने भएकाले प्रहरीले सवारी आवागमनलाई सहज बनाउन सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ ।
प्रहरीले सोमबार एक सूचना जारी गर्दै सवारी साधन डाइभर्सन गरिने प्रमुख स्थानहरूबारे जानकारी गराएको छ । जसअनुसार डाइभर्सन गरिने स्थानहरुमा खसिबजार – मकालु – कलङ्की चोक– बाफल, बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु, कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना, आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू, त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला र चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्र परेका छन ।
प्रहरीले विभिन्न विरोधका कार्यक्रमहरुका सहभागी हुने व्यक्तिहरुका लागि सवारी साधन पार्किङ स्थल पनि तोकेको छ । जसअनुसार टियू गेट देखी चोभार सडक, सानेपा करिडोर सडक ९दुबै तर्फ०, चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला – बाफल सडक खण्डमा एक लाइन भएको क्षेत्र तोकिएको छ ।
यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ ।