जोडिनुहोस
  • होमपेज
  • आज सेना दिवसः सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास हुने

आज सेना दिवसः सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास हुने

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औं स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछन् ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोेहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुन् ।

यस्तो छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौं मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गरेको छ । सेना दिवसका अवसरमा यसपटक भारतीय सेनाका पूर्व पाँच प्रमुख समारोहमा भाग लिन यहाँ आइसकेका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।

दरबार, गढी, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत्गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको सेनाका सहायकरथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका