जोडिनुहोस
  • होमपेज
  • अमेरिका–चीन चिप युद्ध : जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने

अमेरिका–चीन चिप युद्ध : जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने

काठमाडौं। अमेरिका र चीनबीच चीपका कारण उत्पन्न तनावले आपूर्ति संजालमा अवरोध सिर्जना भइरहेकै अवस्थामा जापानले पनि सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा प्रतिबन्ध लगाउने भएको छ।

जापानले विभिन्न २३ प्रकारका सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा प्रतिबन्ध लगाउने योजना बनाएको जनाएको छ।

जापानको सरकारले अमेरिका र नेदरल्यान्ड्सको चिप निर्यातमा चालिएको नयाँ कदमपछि २३ प्रकारका चिपको निर्यातमा प्रतिबन्ध लगाउने योजना बनाएको हो। सेमिकन्डक्टर मोबाइल फोनदेखि सैन्य हार्डवेयरसम्मको निर्माणमा प्रयोग गरिन्छ।

जापानको प्रतिबन्ध टोकियो इलेक्ट्रोन र निकोन लगायत प्रमुख प्रविधि कम्पनीहरूले आपूर्ति गर्ने उपकरणहरूमा लागू हुनेछ। यसले सिलिकन वेफरहरू सफा गर्न प्रयोग हुने उपकरणहरूदेखि लिएर लिथोग्राफी मिसिनहरूसम्मको निर्यातलाई असर गर्नेछ।

अमेरिकाले गत अक्टोबरमा अमेरिकी उपकरण वा सफ्टवेयर प्रयोग गरेर चीनमा चिप्स निर्यात गर्ने कम्पनीहरूलाई तिनीहरू संसारमा जहाँ भए पनि इजाजतपत्र चाहिने घोषणा गरेको थियो। उसले नेदरल्याण्ड र जापानलाई पनि यस्तै प्रतिबन्धहरू अपनाउन आह्‍‍वान गरेको थियो।

वासिङटनले लगाएको निर्यात नियन्त्रणको जवाफमा चीनले बारम्बार अमेरिकालाई प्रविधि प्रभूत्व अर्थात टेक हेजेमनी भनेको छ। यद्यपि जापानको व्यापार तथा उद्योग मन्त्रालयको शुक्रबारको वक्तव्यमा चीन वा अमेरिकाको सन्दर्भमा कुनै उल्लेख गरिएको छैन।

‘अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा योगदान पुर्याउने प्राविधिक राष्ट्रका रूपमा हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं,’ जापानले भनेको छ, ‘यो नयाँ नीति आगामी जुलाईमा कार्यान्वयन गर्ने योजना छ।’

जापानी व्यापार मन्त्री यासुतोशी निशिमुराले पत्रकारहरूलाई यो कदम अमेरिकी प्रतिबन्धहरूसँग समन्वय नगरिएको भनेका छन्। ‘यदि हाम्रा निर्यातहरू सैन्य प्रयोगको लागि पुनस् विनियोजन गरिएन भने, हामी निर्यात जारी राख्नेछौं। हामी विश्वास गर्छौं कि कम्पनीहरूमा प्रभाव सीमित हुनेछ।,’ निशिमुराले थपे।

जापानी विदेशमन्त्री योशिमासा हयाशी यो हप्ता बेइजिङ भ्रमणमा आउँदा यो घोषणा भएको हो। हयाशीले रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न इमानदार र स्पष्ट छलफलको लागी आफ्नो चिनियाँ समकक्ष किन ग्याङलाई भेट्ने बताए।

यस महिना, डच सरकारले राष्ट्रिय सुरक्षाको रक्षा गर्न देशको सबैभन्दा उन्नत माइक्रोचिप प्रविधि निर्यातमा प्रतिबन्ध लगाउने बताएको छ। डच व्यापार मन्त्रीले अर्धचालक उत्पादन चक्रमा धेरै विशिष्ट प्रविधिहरूलाई असर गर्ने बताए।

सरकारले चीन वा डच चिप उपकरण निर्माता एएसएमएलको नाम नलिई प्राविधिक विकास र भूराजनीतिक सन्दर्भलाई विचार गरेको मन्त्रीले बताएका छन्। एएसएमएल विश्वव्यापी माइक्रो चिप आपूर्ति श्रृंखलामा सबैभन्दा महत्त्वपूर्ण फर्महरू मध्ये एक हो। यसले विश्वको सबैभन्दा उत्कृष्ट चिप्स उत्पादन गर्ने मेसिनहरू बनाउँछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका