जोडिनुहोस
  • होमपेज
  • पर्वतमा आगलागीका घटना बढ्दै

पर्वतमा आगलागीका घटना बढ्दै

पर्वत– पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगतका वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु भएपछि हालसम्म तीन सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।

जिल्लाका सात वटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका सात वटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ ।

आगलागी भएका अधिकांश ठाउँमा तीन वटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एक पटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताए । चैत २५ गते साँझ करिब साढे ५ बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबारीबाट आगलागीको सुरुआत भएको थियो ।

गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो ।

चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो । चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो ।

चैत २९ गते कुश्मा नगरपालिका–२ खुर्कोटमा, कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र यही वैशाख २ गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको थियो ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताए । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताए ।

कार्यालयले आगलागीका घटना न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिक वनका उपभोक्ताहरूलाई परिपत्र गरेको छ ।

आगलागी हुन नदिन र लागिहालेमा अपनाउनुपर्ने उपायका बारेमा आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने निर्देशिकासहित परिपत्र गरेको जनाएको छ । आगलागीका घटनामा संलग्न व्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम फौजदारी कसुर ठहरिने र यस्तो कार्य गर्नेलाई बिगो असुल उपर गरी तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको कार्यालय प्रमुख अधिकारीले बताए।

बढ्दो आगलागीका कारण पर्वतको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

पर्वत र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्नसमेत कठिन भइरहेको छ । तुवाँलो लागेजस्तै गरी बिहानदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताइन्। धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनाका साथै दम वा जटिल खालको ब्रोङकाइटिसजस्ता समस्याहरू निम्तिन सक्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका