सिरहा– सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरू भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्।
संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौँको सङ्ख्यामा आएका आन्दोलनकारीहरूले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढ्ने गाडीमा समेत तोडफोड गरेका छन् ।
उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ ।
आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल अश्रुग्यास र ७ राउन्ड हवाई फायरिङ गरेका छन् ।
प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरूको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ । उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था समान्य छ ।’
मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीहरू आक्रोशित भएका छन्।