पर्वत : नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ। २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ।
अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकोमा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको छ। कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लकको काम निर्माणको काम चलिरहेको बेलामा जमिन भासिएपछि भवनको काम पछिल्ला तीन वर्षदेखि धिमा गतिमा चलिरहेको छ।
‘इ’ ब्लकको भवनको भुईँ तलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकता अनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुईँ तलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न सकेको छैन। २०७७ सालको असार÷साउनदेखि भासिन सुरु गरेको भवनको ‘बीम’ हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने भन्दै निर्माणको थप काम हुन सकिरहेको छैन। भूगर्वविदहरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मीना अधिकारीले बताइन्।
‘तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप कामहरू अगाडि बढ्न सकेनन्। म गत वर्षको जेठमा आएको हो। म आएपछि पनि दसैँको बेलामा असोज कार्त्तितकतिर ठुलो वर्षा भएको बेलामा फेरि पनि भासियो’, उनले भनिन्, ‘समस्या समाधानको लागि काठमाडौंबाट सहरी विकास कार्यालयको विभागबाट महानिर्देशन ज्यू नै आएर अवलोकन पनि गर्नुभएको हो। यसको लागि ग्राउटीङ गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ। पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ। सहरी विकास कार्यालय त्यही रिपोर्टको पर्खाइमा बसिरहेको छ भन्ने लागेको छ।’
डा. अधिकारीले भूगर्वविदहरूलाई उद्धृत गर्दै अस्पतालको भवन बनेको डिलको भाग कालीगण्डकी नदी किनारतर्फ रहेको तथा भीरको नजिक रहेकाले भित्रभित्रै नदीले माटोको भाग तानेका कारण भासिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताइन्। मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुन सक्ने भूगर्वविदहरूले अनुमान गरेका थिए। ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ। भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमिन भासिएको आफूले थाहा पाएको डा. अधिकारीको भनाइ छ।
भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भूगर्वविदहरूको सिफारिसबिना भवनको थप काम हुन सक्ने अवस्था छैन। भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर मुखमा ठूलो भ्वाङ रहेकोले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ।
ठेकेदारले काम गरिरहेको भए पनि धमाधम काम भएको छैन। निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो। निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रा.लि.प्रोजेक्ट म्यानेजर अमित कुमार पाण्डेले भवनको काम सक्नै लागि भनेर फेरि पनि भूगर्वविदहरूको टोली अध्ययनको लागि आउन लागेको बताए।
‘शनिवार नै काठमाडौंबाट भूगर्वविदहरूको टोली भासिएको ठाउँको अवलोकनको लागि आउन लागेको छ। उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाको आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौँ’, उनले भने, ‘भूगर्वविदहरूले सुझाव नदिएसम्म काम गरियो भने झनै भासिएर यति ठुलो लगानीको भवन नै खत्तम हुने स्थिति आउने हो की? भन्ने चिन्ता त हुने नै भयो। अन्य ब्लकका भवनमा काम भइरहेको भए पनि ‘इ’ ब्लकको काम सुस्त गतिमा भइरहेको छ।
भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बीम’ र ‘पिल्लर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडी बताउँछन्। संरचनामा समस्या देखिएको भए निर्माणको काम पूरा हुन लागेको भवन नै डोजर लगाएर भत्काउनुपर्ने अवस्था आएको हुने बताउँदै उनले भासिएर भित्रभित्रै गएका कारण त्यसको उपचार अध्ययनपछि नै हुने बताए।
‘यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ। कारण पत्ता लगाउनको लागि भूगर्वविदहरूलाई तारनतार सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको हो। उनीहरूले रङ मिसाएर पानी हाल्ने, इलेक्ट्रिक तरिका अपनाउने लगायतका प्रविधिको प्रयोग गरेर उपचारको प्रयास गरिएको थियो’, पहाडीले भने, ‘त्यसको रिपोर्ट आएपछि उपचार थाल्ने भनिएको भए पनि त्यही बेलामा कोभिडका कारण रोकियो। भारतबाट आउनुपर्ने विज्ञ टोली कोभिडकै कारण आउन सकेनन्।’
पाँच÷सात महिनाको मिहिनेतपछि आएका उनीहरूले गरेको पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारको बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडी बताउँछन्। परीक्षणको अर्को ‘मोडल’ मा तारहरू भित्र पठाउने, तारले घेर्ने लगायतका तरिका अपनाएर खोजी थाल्न समेत आठ महिनाभन्दा बढी समय लागेको र त्यो बेलासम्म आफ्नो कार्यकाल पनि सकिएको उनको भनाइ छ।