घामकै कारण ठिम्रिएर बसेका मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप आउन सक्ने जोखिम देखिएको छ। लामो समयसम्म वर्षा नभएका कारण गर्मी बढ्नु र जिल्लाका केही स्थानमा फाटफुट रूपमा उक्त किराको लार्भाले मकैको बोटको पात र गुभा खाएको देखिएकोले ‘फौजी किरा’ को प्रकोप फैलिन सक्ने जोखिम देखिएको हो। कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले विगतका वर्षहरूमा मनसुन बढी सक्रिय रहेका कारण यो किराको प्रभाव नदेखिएको भए पनि यो वर्ष केही ठाउँमा फाटफुट रूपमा किराको लार्भाले मकैको बोट खाइरहेको देखिनु र वर्षा नभएका कारण गर्मी समेत बढेकाले किराको प्रकोप फैलिन सक्ने जोखिम रहेको बताइन्।
‘अघिल्लो वर्ष मनसुन निकै सक्रिय भएका कारण यसको प्रकोप थिएन। यो किरालाई उपयुक्त समय भनेको नै लामो समयसम्म वर्षा नहुनु हो। घाम लगातार लागेर खडेरी परेको बेलामा यसको प्रकोप बढ्ने हो। अहिलेको समय यही किराको लागि उपयुक्त हुने खालको देखिएको छ’, उनले भनिन, ‘पोखरा लगायतका आसपासका ठाउँमा केही समय अगाडि नै वयस्क फौजी किरालाई नियन्त्रणमा राख्ने ट्रयापहरु राखेको देखिएको थियो। पोखरामा देखिनु, वर्षा नहुनु र गर्मी धेरै हुनुका कारण पर्वतमा पनि यसको जोखिम आउन सक्ने आंकलन हामीले गरेका थियौँ। सोही अनुसार पर्वतका केही ठाउँमा यो किरा देखिन थालिसकेको छ।’
गोरखा जिल्ला र आसपासको क्षेत्रमा २०७७ साल यही ‘अमेरिकन फौजी किरा’ ले मकैको बोट र गुभा खाएर नष्ट गर्दा कृषकले आर्थिक क्षति नै बेहोर्नुपरेको सुनाउँदै वरिष्ठ कृषि विकास अधिकृत थापाले पछिल्लो समय पर्वतमा यसको प्रभाव नदेखिएको भए पनि प्रकोपको जोखिम भने देखिएको बताइन्।
कृषि ज्ञान केन्द्र पर्वतले जिल्लाकै कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यति बेला आइ.पी.एम कृषक पाठशाला सञ्चालन गरिरहेको छ। सोही क्रममा कृषकहरूले प्रत्यक्ष रूपमा मकै खेतीमा नै गएर मकैको विकास क्रम लगायतका बारेमा अध्ययन गरिरहेका छन्। सोही क्रममा गत शुक्रवार ‘फौजी किरा’ ले मकैको बोटहरू खाएको देखिएको छ। लगत्तै कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि ‘फौजी किरा’ ले मकैका बोटहरू खाएको खबर कृषि ज्ञान केन्द्रमा आएको छ।
अधिकृत थापाका अनुसार वयस्क किराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ। करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो किराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा बनाउने गर्दछ। करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने गरेको छ। एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने उनले बताइन्।
पर्वतका विभिन्न स्थानीय तहमा रहेका १० ओटा समूहले मकैको बीउ उत्पादन गरिरहेका छन्। ती समूहमा फोन गरेर ‘अमेरिकन फौजी किरा’ को प्रकोप बिस्तारै देखिन थालेकाले यसको प्रकोपलाई घटाउने गरी काम गर्न सुझाव दिने काम कृषि ज्ञान केन्द्रले गरिरहेको छ।
‘उहाँहरूलाई मकै खेतीमा गएर नियमित अवलोकन गर्न भनिरहेका छौँ। अहिले चर्को घाम लागिरहेको र वर्षा नभएको अवस्था छ। मकै सानै भएकाले गोड्ने बेला पनि भएको छैन। खेतमा मकै राम्रै भइरहेको होला भनेर कृषकहरू खेतका गरामा जानुभएको छैन, यही बेलामा फौजी किराले मकैको पात र गुभा खाएर मकै सिद्ध्याउन सक्छ’, कृषि ज्ञान केन्द्रकै कृषि प्राविधिक तथा कार्यालयका सूचना अधिकारी विश्वास काफ्ले भन्छन्, ‘नजिकमा गएर राम्रोसँग हेर्ने हो भने यो किरा गुभोमा लुकेर बसेको हुन्छ। दिउसोका समयमा खासै सक्रिय नहुने यो किराले रातीको समयमा बढी क्षति गर्छ। सानो लार्भाले पात खान्छ, बढ्दै गएपछि चपाएर पात र गुभा नै खान्छ।
कसरी पुर्याउँछ क्षति?
‘फौजी किरा’ बढी नै खन्चुवा खालको हुने भएकोले जति बेला पनि मकैको बोट खाइरहेको हुने र त्यो क्रम मकैको घोगा तथा धान चामल लाग्ने बेलासम्म पनि चलिरहेको हुन्छ। यसको जीवनचक्रमा लार्भाको जीवन सबैभन्दा लामो करिब दुई हप्ता हुने भएकोले लार्भाले नै बालीमा बढी क्षति पुर्याउने गरेको छ। वयस्क ‘फौजी किरा’ को भूमिका भनेको मकैको बोट वा अन्य बालीका बिरुवामा बसेर अण्डा पारिदिने हो।
एउटा वयस्क किराको अवधि एक हप्ता जति हुने गरेको कृषि प्राविधिकहरू बताउँछन्। एउटा वयस्क किराले एक पटकमा दुई सय भन्दा बढी अण्डा पार्ने तथा आफ्नो जीवनचक्रमा करिब १५ सय अण्डा पार्न सक्ने भएकाले एउटै वयस्क ‘फौजी किरा’ ले मात्रै पनि प्रकोप फैलाउने जोखिम रहेको छ। यो किराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरे बाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलु लगायतका बालीहरूमा पनि क्षति पुर्याउने गरेको छ।
फौजी किराको लार्भा सुरुको अवस्थामा सेतो वा हल्का हरियो रङ्गको हुन्छ भने टाउको कालो हुन्छ। हुर्कँदै जाँदा लार्भाको शरीर साधरणतया खैरो रङ्गको हुन्छ भने टाउको गाढा खैरो रङ्गको देखिन्छ। पूर्ण विकसित लार्भा चार सेन्टिमिटर लम्बाइसम्मको हुन्छ। अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ। जसले गर्दा पातमा सेतो धब्बा देखिने तथा लार्भा ठुलो हुँदै जाँदा पातमा प्वाल देखिने वरिष्ठ कृषि विकास अधिकृत थापाको भनाई छ।
यसरी गर्न सकिन्छ व्यवस्थापन
यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, ‘डेस्मोडियम’ घाँसको गन्ध यो कीरालाई मन नपर्ने भएकाले बालीको बीचबीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, ‘नेपियर’ घाँसले कीरालाई आकर्षण गर्ने भएकाले खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाइ कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकै पटक मार्ने लगायतका उपाय अपनाउन सकिन्छ।
विषादीको रूपमा प्रति रोपनी २५ लिटर पानीमा स्पाइनेटोराम (११.७ % एस.सी) एक एम.एल प्रति दुई लिटर पानीका दरले, इमामेक्टिन बेनजोएट (५% एस.सी) एक ग्राम प्रति साढे दुई लिटर पानीका दरले, क्लोरोएन्ट्रानिलीप्रोल (१८.५ % एस.सी) एक एम.एल प्रति साढे दुई लिटर पानीका दरले र स्पाइनोस्याड (४५ % एस.सी) एक एम.एल प्रति तीन लिटर पानीका दरले घोल बनाएर छर्किन सकिने कृषि ज्ञान केन्द्रले बताएको छ। तर सिफारिस गरिएका विषादीको एउटा प्रकारलाई एउटा हप्तामा र अर्कोलाई अर्को हप्ता गर्दै छर्किँदै जानुपर्ने भनिएको छ।