नयाँ दिल्ली– भारतले हरेक वर्ष अगस्ट १५मा मनाउने स्वतन्त्रता दिवसको अवसरमा यस पटक भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल)द्वारा निर्मित दुई हेलिकप्टरले लाल किल्लामा पुष्पवृष्टि गर्ने भएको छ । यो सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० औँ पटक लाल किल्लाबाट सम्बोधन गर्ने भएका छन् ।
यसअघि स्वतन्त्र दिवसमा रुसमा निर्मित हेलिकप्टरले पुष्पवृष्टि गर्ने गरेको थियो ।
यस वर्ष भारतमा निर्मित दुई एएलएच ध्रुव हेलिकप्टरहरू लाल किल्लामा भारतीय प्रधानमन्त्री मोदीले झण्डा फहराएपछि पुष्पवृष्टि गर्ने भारतीय रक्षा स्रोतलाई उल्लेख गर्दै भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।
एचएएलले बनाएको दुई इन्जिन भएको हेलिकप्टर रक्षा सार्वजनिक क्षेत्र इकाईको महत्त्वपूर्ण उपलब्धि हो जसलाई भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका थिए ।
१ हजार ८ सय विशेष अतिथि सहभागी हुने स्वतन्त्र दिवसमा यी हेलिकप्टरबाट पुष्पवृष्टिपछि भारतीय प्रधानमन्त्री मोदीले मन्तव्य दिने कार्यक्रम तय भएको छ ।